पर्यटकीय पदमार्ग पूर्वाधार विकासको लागि अर्गानिक सुझाव

महावीर पुन

काठमाडौं

बिदेशी र शहरीया सुझाब मात्र नसुन्नु होला। हालै सञ्चार माध्यममा 'अपुरै मुन्दुम पदमार्ग' शिर्षकप्रति मेरो ध्यानाकर्षण हुँदै आफूले देखेको, भोगेको र काम गरेको अनुभव बाड्न गइरहेको छु।

यो सुझाब मैले आफूले नै गरेर थाहा पाएको अनुभवको आधारमा भनेको हुँ। यसलाई अर्गानिक आइडिया भने पनि हुन्छ। मैले कुनै विज्ञको रुपमा यो सुझाव दिएको नठान्नु होला र मेरो सुझाव मन परेन भने पनि केही छैन। मलाई दु:ख लाग्दैन।

त्यस भेगका साथीहरुले सबै भन्दा पहिला यो मार्गलाई पर्यटकलाई आकर्षण गर्ने पर्यटकीय पदमार्ग (ट्रेकिङ रुट) को रुपमा नै विकास गर्ने कि गाउँ घरको जनताहरुलाई आवतजावत गर्न सजिलो होस् भन्ने उदेश्यले यो पदमार्गको निर्माण गर्ने भन्ने कुरा छुट्याउनु पर्छ। गाउँघरको जनताहरुलाई आवतजावत गर्न सजिलो होस् भन्ने उदेश्यले बनाएको हो भने त्यो पदमार्गमा अहिले जसरी नै ढुङ्गा छापेर, खुड्किलाहरु बनाएर बनाएको राम्रो हो। तर, पर्यटकीय पदमार्गको रुपमा यसको विकास गर्न खोज्नु भएको हो भने अहिले गरे जस्तो बाटोमा ढुङ्गा छाप्ने र खुड्किलाहरु बनाउने काममा धेरै पैसा खर्च गर्नु आवश्यक छैन।

यदि त्यो पदमार्ग उहिले देखि नै त्यहाँका जनताहरुले आवतजावत गर्न प्रयोगमा ल्याईएको पदमार्ग हो भने पक्कै पनि त्यहाँ बाटो (गोरेटो) पहिले देखि नै छ। त्यस्तो बाटोमा अप्ठ्यारो ठाउँहरुमा बाटो सजिलो बनाई दिए पुग्छ र अन्य ठाउँहरुमा पदमार्गलाई प्राकृतिक अवस्थामा नै राखेको राम्रो हुन्छ। किनभने पर्यटकहरुले खुड्किलै खुड्किला भएको पदमार्गभन्दा प्राकृतिक पदमार्ग मन पराउँछन। यस्तो पर्यटकीय पदमार्ग बनाउँदा एकदमै ध्यान दिनुपर्ने कुरा के हो भने विहान हिँड्न सुरु गरेको हरेक दुई तीन घण्टापछि खाजा वा लन्च खाने राम्रो ठाउँ र चार पाँच घण्टा हिँडेपछि बास बस्ने राम्रो लजहरु बनाउनुपर्छ। किनभने खाना खाने र बास बस्ने ठाउँ बाटोमा छैनन् भने पदयात्रीहरु एकदमै कम आउँछन। अधिकांश पदयात्रीहरुले टेन्ट बोकेर र अन्य खानेकुराहरुको बन्दोबस्तीका साथ आउन सक्दैनन् र त्यसो गर्न मन पनि पराउँदैनन्। पर्यटकीय पदयात्रीहरु साहसी हुन्छन र उनीहरुलाई हिँड्नको लागि चिल्लो बाटो चाहिँदैन। यात्रा गर्दा उनीहरुले जे जस्तो भए पनि बस्न र खानाको लागी अलि सफा ठाउँ भए पुग्छ।

हामीले अन्नपूर्ण, धौलागिरी सामुदायीक पदमार्ग भनेर सन् २०१० मा एउटा ५ दिनको र अर्को १० दिनको पदमार्ग बनाउँदा सुरुमा ५ वटा अप्ठ्यारा ठाउँहरुमा मात्र गाउँलेहरु कै श्रमदानमा बाटो मर्मत गरेको मात्र हो। अन्य ठाउँमा गाउँलेहरुले उहिले देखिनै प्रयोगमा ल्याएको पदमार्गलाई नै प्रयोग गरेको हो। त्यसैले त्यो ५ दिनको र १० दिनको पदमार्ग बनाउने काममा बाटो बनाउन कत्ति पनि पैसा खर्च भएन। तर, हामीले बीच–बीचमा पर्यटकहरुले लन्च खाने र बेलुकी बास बस्ने ठाउँहरु बनाउने काममा पैसा खर्च गरेको हो। यसको लागि त्यति बेला झन्डै २ करोड जति खर्च भएको थियो। ४०% जति पैसा स्थानीयहरुले नै खर्च गरेको हो र बाँकी ६०% जति रकम मेडेप भन्ने संस्था र अन्य श्रोतहरुबाट प्राप्त भएको थियो। छलफल सुरु भएको १० महिना भित्रमा सबै काम सकेर नेपाल पर्यटन वर्ष २०११ मा सो पदमार्ग सञ्चालन गरिएको हो। त्यति बेला हरेक ठाउँमा २० जना पर्यटकहरु बस्न मिल्ने गरेर लज र होमस्टेहरु बनाईएको थियो तर तीन वर्ष भित्रमा नै पर्यटकहरुको संख्या बढ्दै गएर पर्यटकहरुको चाप थाम्न नसक्ने भयो र राम्रो सँग पर्यटकहरुको व्यवस्थापन गर्न पनि नसक्ने भयो। त्यसैले विस्तारै विस्तारै ठाउँ बढाएर अहिले ४५ जनासम्म राख्न मिल्ने लजहरुको विस्तार गरिएको छ। कोरोनाको महामारीमा कोही पनि पर्यटकहरु आएका छैनन् तर यो महामारी सकिना साथ पक्कै पनि पर्यटकहरुको घूइँचो लाग्ने छ भन्ने विश्वास छ।

अन्तमा मुन्दुम पर्यटकीय पदमार्गका सेरोफेरोका साथीहरुलाई मैले यही सानो तर अर्गानिक सुझाव दिन चाहन्छु। अहिले कोरोनाले गर्दा पर्यटकहरु न आएको बेलामा तपाईंहरुले अहिले नै धमाधम बस्ने र खाने ठाउँहरुको निर्माण गर्नुहोस् र बाटोका अप्ठ्यारा ठाउँहरुमा बाटोको मर्मत गर्नुहोस्। पदमार्गको सुरु देखिअन्तिम सम्म ढुङ्गा छाप्ने, खुड्किलाहरु बनाउने र भ्युटावरहरु बनाउने कामलाई त्यति प्राथमिकता नदिनुहोस्। मोटामोटी एक दुई वर्षमा कोरोना महामारी सकिने बित्तिकै पदमार्ग सञ्चालन गर्नुहोस्। अनि भविष्यमा गर्नु पर्ने सुधार र विस्तारको कामहरु आवश्यकता अनुसार गर्दै जानुसहोस्।

लौ त, आफूले भोगेको र थाहा पाएको कुरा अरुसँग शेयर गर्ने मेरो बानी भएकोले भनेको मात्र हुँ। गल्ति भएमा क्षमा दिनुहोला। धन्यबाद।

प्रकाशित मिति: : 2021-10-24 17:03:00

प्रतिकृया दिनुहोस्