ताप्लेजुङ बन्यो कोरोना संक्रमणमुक्त जिल्ला

File Photo
File Photo

ताप्लेजुङ कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त जिल्ला भएको छ। पछिल्लो पटक संक्रमित भई होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट नेगेटिभ आएसँगै ताप्लेजुङ संक्रमणमुक्त जिल्ला भएको हो।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सोमबार बिहान पाँच जना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार बाँकी रहेको पाथीभरा याङ्वरक गाउँपालिका संक्रमणमुक्त भएपछि सोमबारदेखि ताप्लेजुङ नै संक्रमणमुक्त जिल्ला बनेको हो। जिल्लाको नौ स्थानीय तहमा पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक अन्य सबै पालिका यसअघि नै संक्रमणमुक्त भइसकेका थिए।

कोभिड–१९ को दोस्रो चरण सुरु भएपछि ताप्लेजुङमा दुई हजार ५३१ जना संक्रमित भएका पनि सहायक प्रजिअ अधिकारी खड्काले जानकारी दिइन्। उक्त संख्यामध्ये सबैभन्दा बढी सदरमुकामस्थित जिल्ला अस्पतालमा गरिएको कोरोना परीक्षणमार्फत ५८५ जनामा संक्रमण पुष्टि भएको थियो।

यसपछि फुङ्लिङ नगरपालिकामा ५५६ जना संक्रमित भएका थिए। सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ४७ जना संक्रमित भएका थिए।

यता कोभिड संक्रमणका कारण जिल्लाभित्र १६ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयका अनुसार पीसीआर विधिबाट दुई हजार २८८ र एन्टिजेन विधिमार्फत आठ हजारी गरी कूल १० हजार २८८ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रकाशित मिति: : 2021-10-25 21:13:00

प्रतिकृया दिनुहोस्