आइतबार, १० अगस्ट २०२५

एडीबीले हात झिकेपछि मेलम्ची पुनःर्निर्माण अन्योलमा, उपत्यकामा पानी अनिश्चित

आयोमेल

आयोमेल

काठमाडौँ
News Image
• • •

एशियाली विकास बैंक (एडीबी)ले हात झिकेपछि मेलम्ची खानेपानी आयोजनाको पुनःर्निर्माण अन्योलमा परेको छ। गत असारमा आएको बाढीले तहसनहस बनाएको आयोजनाको पुनःनिर्माणका लागि लगानी नगर्ने निर्णय एडीबीले गरेको छ। आयोजनाको कुल निर्माण लागत ३५ अर्ब रुपैयाँमध्ये ४६ प्रतिशत लगानी एडीबीको छ।

एडीबीको उक्त निर्णयका कारण आयोजनाका मर्मतसम्भार यतिबेला रोकिएको छ भने पुन:र्निर्माण अन्याेलमा परेको छ।

मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक राजेन्द्रप्रसाद पन्त आयोजनाको निर्माण एडीबीको सहयोगमा भएकाले उसैले पुनःर्निर्माण गर्दा उपयुक्त हुने बताउँछन्। ‘एडीबीले सुरुवाती चरणदेखि नै आफ्नो टोली ल्याएर अध्ययन अनुसन्धान गरी आयोजना निर्माणको कार्य अघि बढाएको थियो,’ पन्त भन्छन्, ‘अब यसमा अर्को निकायलाई जिम्मा दिँदा निकै समस्या आउन सक्छ। त्यसैले पनि एडीबीले नै पुनःर्निर्माण गर्नु उपयुक्त हुन्छ। तर उसले आगामी दिनमा लगानी नगर्ने भनेको हुँदा आयोजना अन्योलमा पर्ने देखिन्छ।’

पुनःर्निर्माणमा लगानीको टुंगो लाग्न नसक्दा मेलम्चीको पानी कहिलेसम्म काठमाडौं आउछ भन्ने निश्चित नभएको पन्तको भनाइ छ। ‘आयोजना पुनःर्निर्माण सम्पन्न गर्न केही वर्ष लाग्छ, अहिलेसम्म काम सुरु नै हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले सम्पन्न कहिले हुने भन्ने कुरा समस्याको विषय बनेको छ।’

आयोजना निर्माणअन्तर्गत हाल एडीबीको पहिलो चरणको सम्झौता सकिएको अवस्था छ। यसले दोस्रो सम्झौता गर्छ या गर्दैन भन्ने कुनै टुंगो छैन। पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्राउने योजना थियो। तर पछिल्लो समय उपत्यकामा बढ्दो जनसंख्याका कारण उक्त परिमाण अपुग हुने भएकाले दोस्रो चरणमा मेलम्चीको पानीमा याङ्ग्री र लार्के खोलाका पानीसमेत मिसाउने योजना अघि बढाइएको थियो। उक्त योजना पनि एडीबीकै सहयोगमा बन्ने भएको थियो।

 

शुक्रबार, कार्तिक २६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)