आमाहरूको ‘प्रेरणा’: जहाँ छोरी–नातिनीसँगै पढ्छन् आमा–हजुरआमाहरू (भिडियोसहित)

शिलापत्र

दिनेश गौतम

‘दिमागलाई जति उध्यायो त्यति तेजिलो हुने रहेछ । बुढापाकाको दिमागले टिप्दैन भन्थे । तर, नउध्याएर पो दिमाग बुढो भएको रहेछ । उमेरले बुढो भए पनि पढाइले मनमा ऊर्जा आउँदो रहेछ’, ललितपुरको सातदोबाटोस्थित प्रेरणा माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत ५० वर्षीया गोमा गौतमले आफ्नो अनुभव सुनाइन् । 

उनी गत वर्ष १ कक्षामा भर्ना भएकी थिइन् । तर, कोभिड-१९ बाधक बन्यो । स्कुल आउन पाइनन् । १८ दिन भयो विद्यालय खुलेको । अहिले उनी नियमित कक्षामा आउँछिन् । छोटो समयमा नै उनले आफूमा धेरै परिवर्तनको महसुस गरेकी छन् । भन्छिन्, ‘पहिले जे सामान जहाँ राखे पनि बिर्सने बानी थियो । अहिले त सम्झन्छु’, हाँसोसहित उनले  थपिन्, ‘दिमागलाई उध्याएर हो नि ।’

७० वर्ष पुगेका हजुरआमाहरू पनि विद्यालयमै थिए । गोमाले भनेझैँ पढ्न आएका आमा-हजुरआमाहरूका इन्द्रीय ओइलाउँदै थिए । शरीरका छाला कुलेसो परेका थिए । यसले बुढ्यौलीपनको प्रतीत गर्थ्यो ।  तर, हातका औँलामा च्यापिएका कलमहरूले कुलोमा बहेको पानीझैँ कापीमा अक्षरहरू दौडाइरहेका थिए, आमा-हजुरआमाहरूले । सर/मिसले भनिसक्दा उनीहरूले कापीमा तुरून्तै टिपोट गरिसक्थे । 

प्रकाशित मिति: : 2021-11-17 20:03:00

प्रतिकृया दिनुहोस्