बिहिबार, १४ अगस्ट २०२५

कांग्रेसले माओवादीको ‘प्रेतात्मा’ बोक्नुहुन्न: दीपक लोहनी [अन्तर्वार्ता]

नवीन अर्याल

नवीन अर्याल

काठमाडौं
Breaknlinks
• • •

दीपक लोहनी, ६१, नेपाली कांग्रेसवृत्तमा चिनाइरहनुपर्ने नाम होइन। नेपाल विद्यार्थी संघमार्फत् २०३१ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा आवद्ध लोहनी राजनीतिक चिन्तक मानिन्छन्।

मोरङको राजनीतिमा आफ्नो बौद्धिक क्षमताका कारण उनी कांग्रेसभित्र मात्र होइन, कम्युनिष्टमाझ पनि परिचित छन्। कांग्रेसका संस्थापक विपी कोइरालासँग जनमत संग्रहताका उनी वैचारिक बहसमा सहभागी हुने गर्थे।

२०३२ सालको विधार्थी आन्दोलन, पाकिस्तानका प्रधानमन्त्री जुल्फिकार अली भुट्टोलाई फाँसी दिएपछि २०३४–३५ सालमा नेपालमा भएको राजनीतिक आन्दोलनमा पनि उनी सक्रिय थिए। 

२०३६ सालको जनमत संग्रहमा पनि उनी उत्तिकै सक्रिय थिए। गिरिजाप्रसाद कोइरालाको कार्यकालमा बुथ सभापति र १२औं महाधिवेशनमा महासमिति सदस्य रहेका लोहनी ‘बीपी विचार राष्ट्रिय समाज’ का सदस्य तथा प्रदेश–१ का सभापति हुन्। 

नेपाली कांग्रेसको आगामी महाधिवेशनको सन्दर्भमा पार्टीको नीति, कार्यक्रम तथा नेतृत्व चयनको विषयलाई लिएर नवीन अर्यालले गरेको संवादः 

नेपाली कांग्रेसको १४औं महाधिवेशन भोलि (शुक्रबार) उद्घाटन हुँदैछ। यसको तयारी धुमधामसँग भइरहेको छ। यो अधिवेशनलाई कसरी हेर्नुभएको छ? 

यो महाधिवेशनमा समाजमा रहेका विभिन्न जातजाति, लिंग, समुदाय तथा धार्मिक समुहबाट पार्टीको विभिन्न तहमा रहेका साथै विशेष गरी करिब १८० जति केन्द्रिय सदस्य, पदाधिककारी रहने केन्द्रिय समितिमा समानुपातिक प्रतिनिधित्व हुने कुरा सकारात्मक छ। क्रियाशील सदस्य संख्या ९ लाख जति पुगेको छ। यो आफैँमा अन्तरध्वंशी हुने र पार्टी एउटा ‘मोनोलिथिक’ संख्यामा परिणत हुने खतरा रहेपनि विभिन्न ‘क्लस्टर’ हरूको समुचित प्रतिनिधित्व हुनु राम्रो हो। 

नयाँ व्यवस्थाले कांग्रेसको जनाधार बदल्ने विश्वास लिन सकिन्छ तर समुदाय, सम्प्रदाय, जात आदिको ‘क्लस्टर कन्सियसनेस’ लाई राष्ट्रिय भावधारासँग जोड्न र आरक्षणबाट प्रतिनिधित्व भएकाहरूलाई राष्ट्रिय नेतृत्वदायी भूमिकामा संलग्न गराउन सकिएन भने पार्टीभित्र गुट मात्रै नभई ‘कविलातन्त्र’ विकास हुने खतरा रहन्छ। 

सत्तारुढ दलको यो महाधिवेशनले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला? 

तपाईंले अति सान्दार्भिक प्रश्न उठाउनुभयो। यसका लागि धन्यवाद। यो महाधिवेशनले संगठन, आन्तरिक प्रजातन्त्र मात्रै नभइ पार्टीको अस्तित्वमै गम्भीर प्रभाव पार्ने निश्चित छ। तर, योभन्दा महत्वपूर्ण कुरा यसले राष्ट्रिय राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने अवश्यमभावी छ। 

नेपाली कांग्रेस र नेपालको राजनीति कसरी एकअर्कासँग जोडिएको छ, त्यो बुझ्न कांग्रेसको विगतका महाधिवेशनले गरेका ऐतिहासिक निर्णय र नेपालमा भएका युगान्तकारी परिवर्तनलाई हेर्दा पुग्छ। 

उदाहरणका लागि, नेपाली कांग्रेस पार्टीको निर्माण २००६ सालमा भएको थियो। लगत्तै कोलकातामा सम्पन्न महाधिवेशनले २००७ सालको राणा शासनविरूद्ध जनक्रान्तिको पृष्ठभूमि तयार पार्यो। 

२००८ सालको जनकपुर महाधिवेशनले विपी कोइरालाको नेतृत्व स्थापित गर्दै क्रान्तिकारी परिवर्तनका राष्ट्रिय एजेण्डाहरू पारित गरायो। २०१२ सालमा भएको वीरगञ्ज महाधिवेशनले सुवर्ण शमशेर राणाको नेतृत्वमा प्रजातान्त्रिक समाजवादलाई पार्टीको सैद्धान्तिक आधार स्तम्भको रुपमा स्थापित गर्न सफल भयो। 

यहाँ ११ औं महाधिवेशनको उल्लेख गर्न आवश्यक छ, जसले पार्टीको स्थापनाकालीन वीपीद्धारा प्रतिपादित सिद्धान्त परित्याग गरी ‘राजतन्त्र निरपेक्ष’ रहने नीति पारित गर्यो, जो जनताको चाहनाभन्दा पनि विदेशीको इसारामा गरिएको प्रस्टै छ। 

राज्य विप्लवमा उद्यत माओवादीसँग भारतीय संस्थापन पक्षको मध्यस्थतामा गरिएको १२ बुँदे सम्झौता त्यही महाधिवेशनको उपज थियो। राष्ट्रको लागि घातक यो सम्झौताकै प्रेतआत्मामा १२औं महाधिवेशन पनि सम्पन्न भयो। तथापि यसले २०७२ सालको संघीय गणतन्त्रात्मक संविधान निर्माणमा बल पुर्‍यायो। 

तेह्रौं महाधिवेशन १२औं कै निरन्तरता थियो, केवल नेतृत्व परिवर्तन बाहेक। उपरोक्त दृष्टान्तका आधारमा १४औं महाधिवेशन राष्ट्रको लागि दुरगामी महत्वको हुनेछ भन्नुमा अतिशयोक्ति नहोला।

यो महाधिवेशनमा कस्ता विषयवस्तुहरुमा छलफल हुनु जरुरी देख्नुहुन्छ?

१२औं र १३औं महाधिवेशन १२ बुँदे सम्झौंताको भूतले अभिशप्त भएको हुनाले वैदेशिक एजेण्डा– धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता देशमा लाद्ने सन्दर्भ मै केन्द्रित रहन पुगे। 

त्यसैले यस अवधिमा नेपाली कांग्रेस आफ्नो मूल उद्देश्य प्रजातान्त्रिक समाजवादी नीति लागू गर्ने र राष्ट्रिय एकता कायम गरी राष्ट्रियता बलियो बनाउनेभन्दा पनि त्यसको ठीकविपरीत दिशामा गयो। देशी–विदेशी ‘ग्राण्ड डिजाइन’ मा कांग्रेस प्रयोग भयो।

तसर्थ १४औं महाधिवेशनले धर्म निरपेक्षता, गणतन्त्र र संघीयताका विषयमा पुनर्विचार गर्न आवश्यक छ। देशको आर्थिक व्यवस्था अत्यन्तै चुनौतीपूर्ण स्थितिमा छ। राष्ट्रिय ऋण करिब १४ अर्ब अमेरिकी डलर बराबर पुगेको छ।

व्यापार घाटा, भूक्तानी सन्तुलन, राष्ट्रिय उत्पादनमा ह्रास एंव महंगी र बेरोजगारीको अवस्था भयावह छ। धान्नै नसक्ने गरी आयातमा वृद्धि भइरहेको छ, खासगरी कृषिजन्य वस्तुको आयात अत्यन्त तिब्रगतिमा बढ्दो छ। जनताले प्राप्त गर्नुपर्ने सेवा सुविधाप्रति स्थानीय सरकार, कर्मचारीतन्त्रको विकाश हुन सकिरहेको छैन। भ्रस्टाचार चरमचुलीमा पुगेको कुरा जगजाहेर छ। 

विकाश निर्माण, विशेषगरी राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन हुन सकिरहेको छैन। महालेखा परीक्षकको प्रतिवेदनले बेरुजु ६ खर्बको हाराहारीमा रहेको देखाएको छ। यी सम्पूर्ण असङ्गति र दूरावस्थाप्रतिको उत्तरदायित्व आफ्नो रहेको कुरा नेतृत्ववर्ग स्विकार गर्न तयार छैन।

वैदेशिक नीति सञ्चालनमा गम्भीर त्रुटी देखिन्छ। हाम्रो नेतृत्व कहिले प्रो–इन्डिया त कहिले प्रो–अमेरिका हुन, खोज्छ। बीचमा केपी ओलीजीले प्रो–चाइनीज जस्तो देखाउन खोज्नु भयो। तर पछि प्रो–इन्डियन भएर एमसीसीको विषयमा अमेरिकी ‘इन्ट्रेस्ट’ पूरा गर्ने कोशिशमा लागेर तीन वटै शक्ति राष्ट्रसँग ‘ट्रिपल क्रस’ गर्न खोज्दा नराम्रोसँग चिप्लनुभयो। 

विपी कोइरालाले चीनसँग स्थापित गरेको सुमधुर सम्बन्ध नेपाली कांग्रेसले कायम राख्न सकेन। अहिले नेपाली कांग्रेस प्रो–अमेरिका र प्रो–इन्डिया खेमामा विभाजित छ। प्रो–नेपाल समूह कांग्रेसभित्र ज्यादै कमजोर स्थितिमा छ। 

कांग्रेस वर्तमान परिप्रेक्षमा प्रखर रूपमा राष्ट्रियहितमा केन्द्रित हुन आवश्यक छ। यी शक्ति राष्ट्रहरूको त्रिकोणात्मक शक्ति संघर्षमा असंलग्नता कांग्रेसको नीति हुनु पर्दछ। कुनै पनि एक शक्तिसँगको रणनीतिक संलग्नता देशकै लागि घातक हुनेछ। 

महाधिवेशनमा गम्भीर छलफल हुनुपर्ने विषय थुप्रै छन्। स्व. विपी कोइरालाको सिद्धान्त र विचारको आलोकमा निम्न विषयमा छलफल हुनु जरुरी छ। 

१. देशमा व्यापक रूपमा भइरहेको धर्म–परिवर्तनको मुद्धा। 
२. युवाहरूको विदेश पलायन, जनतालाई सुलभ स्वास्थ्य सेवामा पहुँच।
३. स्वरोजगार, रोजगारी अभिबृद्धिको विषय। 
४.वैदेशिक रोजागारीमा गएका जनशक्तिको पिडा। 
५. राष्ट्रिय उद्योग र कृषिको विकाशसम्बन्धि वृहत योजना निर्माणमा प्रजातान्त्रिक समाजवादसँगको सामन्जस्यता। 
६.हाम्रो सामाजिक सद्भाव बिथोल्ने साथै हाम्रो मौलिक धर्म संस्कृतिमाथि धावा बोल्ने विदेशी षड्यन्त्रका सन्दर्भमा धनिभूत छलफल
७. अन्य राजनीतिक दलहरूसँगको सम्बन्ध र उनीहरूलाई हेर्ने दृष्टिकोणमा प्रष्टता। 
८. राष्ट्रिय एकता कायम राख्ने। राष्ट्रियताको रक्षा गर्ने सन्दर्भमा विस्थापित राजसंस्था एंव अन्य राष्ट्रवादी शक्तिहरूसँगको सहकार्यको संभावना।

यसबाहेक पनि महाधिवेशनमा अन्य के–के एजेण्डा बन्नुपर्ने देख्नुहुन्छ ? 

अहिलेको बहुचर्चित एमसीसी नै छ नि ! यसबाहेक चीनसँगको बीआरआई, भारतसँग गरिएका सन् १९५० को मैत्री एवम् शान्ति सन्धि, सन् १९६५ को ‘सैन्य आधुनिकिकरण सम्झौता’, ‘कोशी सम्झौता’,‘गण्डक प्रोजेक्ट सम्झौता’, महाकाली सन्धिलगायतका अत्यन्त संवेदनशील विषयमा महाधिवेशनको बन्द शसत्रमा बिना पूर्वाग्रह बहस आवश्यक छ। 

प्रसंग बदलौं, तपाईं वैचारिक बहसका अभियन्ता एवम् विपी विचारका प्रखर अनुयायी भनेर लोकप्रिय हुनुहुन्छ। मोरङको क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा प्रत्यासी हुनुभएको थियो तर कसरी चुनाव हार्नुभयो?

राजनीतिक लोकप्रियता एउटा विषय हो, प्राविधिक रूपले निर्वाचन जित्ने विषय अर्कै हो। यस महाधिवेशनमा ठूलो संख्यामा क्रियाशील सदस्यता वितरण गरेर आ–आफनो गुट, नातागोताका मानिसलाई क्षेत्रीय प्रतिनिधिका रुपमा मेरो क्षेत्रका स्थानीय नेता एंव राष्ट्रिय नेता भनाउँदाहरूले ल्याएका छन्। म त्यस्तो कार्यमा संलग्न रहिनँ। साथीभाइहरूको विश्वासमा रहेँ। समर्थन पनि राम्रो पाएँ तथापि पाँच मतले चुनाव हारेँ। 

कोइराला परिवार र लोहनी परिवारबीच त पुस्तौंदेखिको एक प्रकारको प्रगाढ पारिवारिक सम्बन्ध रहेकोमा तपाइँ किन डा. शेखरको गुटमा अटाउन सक्नु भएन? 

समाजिक जीवनको दुष्टिले पारिवारिक सम्बन्धको प्रश्न अत्यन्त महत्वपूर्ण हुन्छ तर राजनीतिमा विचार र एजेण्डाले टाढा र नजिक बनाउने हुन्छ।

स्व. गिरिजाबाबु जस्तो ठूलो नेताको तपाईंले स्नेह पाउनुभयो। बडो आत्मीय सम्बन्ध उहाँसँग तपाईंको थियो। यस्तो हुँदाहुँदै पनि डा. शेखरसँग के कुरामा विमति भएर टाढिनुभयो?

स्व. गिरिजाबाबु मेरो पिता (स्व.) चन्द्रिकाप्रसाद लोहनीको बालसखा तथा सहपाठी हुनुहुन्थ्यो। मेरो लागि पितातुल्य नै हुनुहुन्थ्यो– गिरिजाबाबु। साथै मैले मानेको नेता पनि। प्रजातन्त्रको  लागि उहाँले ठूलो त्याग र संघर्ष गर्नुभयो।

नेपाली कांग्रेसको संगठन निर्माणमा गिरिजाबाबुको उच्च योगदान रह्यो। तर दूर्भाग्यवश राज्यविरूद्ध विप्लवमा लागेका माओवादीसँग भारतीय संस्थापन पक्षको मध्यस्थतामा उहाँले १२ बुँदे सम्झौंता गरेर ठूलो गल्ती गर्नुभयो। त्यस कुरामा मेरो उहाँसँग बिमति भइ १२ बुँदेको विपक्षमा म उभिन पुगे।

जहाँसम्म डा. शेखरसँगको विमतिको कुरा हो, उहाँ १२ बुँदे सम्झौंता लागु गर्ने प्रयोजनका लागि जारी गरिएको ७२ सालको संविधानको एउटा हस्ताक्षरकर्ता मात्र हो, उहाँको कुनै अलग राजनीतिक एजेण्डा वा आफ्नो छुट्टै राजनैतिक चिन्तन छ जस्तो मलाई लाग्दैन।

देशको आर्थिक विकाश, सामाजिक रुपान्तरण सम्बन्धी दुष्टिकोण पनि उहाँले प्रस्तुत गरेको पाइदैन्। तसर्थ १२ बुँदे सम्झौंता जस्तो देशविरोधी सम्झौंताका समर्थकहरूसँग जे विमति हो, त्यै असहमति डा. शेखरसँग पनि हो। छुट्टै अरु केही होइन। पारिवारिक कोणबाट उहाँप्रति मेरो सम्मान छ, आदरभाव छ।

पिताजी कृष्णप्रसाद कोइराला, बीपी र गिरिजाबाबुको ‘लिगेसी’ मा डा. शेखरको दाबी रहेको भनिन्छ। ऐतिहासिक कोइराला निवास पनि उहाँकै भागमा परेको छ। के शशांक, सुजाता नभई डा. शेखर नै त्यो विरासतको प्रतिनिधि पात्र हुन्? 

यो प्रश्न पनि महत्वपूर्ण हो जस्तो मलाई लाग्छ। बजारमा यस्तो धेरै सुन्ने गरेको छु। तर, मलाई यो प्रश्न सुनेर हास्न मन लाग्छ। विरासत भनेको के हो? विरासत निर्माणको प्रक्रिया के हुन्छ? यो कुरा नबुझी खाली ‘लिगेसी’ को कुरा गर्यौ भने त्यो हास्यास्पद नै हुन जान्छ। 

विरासत भन्ने कुरा मुलतः मानिसको विचार, आदर्श, उसको प्रतिबद्धता र कर्मबाट निःसृत हुन्छ। विरासत पैतृक पनि हुन्छ तर त्यो भौतिक साधन–स्रोत, सम्पत्तिको सन्दर्भमा रगतको नाताबाट हस्तान्तरण वा दावीको अर्थ हुन्छ। 

राजनीतिमा यो लागू हुँदैन। महात्मा गान्धीको विरासत यसै बनेको होइन। उनले आफ्नो जीवनको लामो कालखण्ड भारतको स्वतन्त्रता प्राप्तिका लागि उत्सर्ग गरे। त्यसभन्दा अघि दक्षिण अफ्रिकामा भारतीयमूलका नागरिक र कालाजातीका मानिसको नागरिक अधिकार बहालीका लागि ठूलै लडाईं लड्नुभयो। 

अहिंसा, वैदिक दर्शन र बुद्धको चिन्तनमा रहेपनि राजनीतिक आन्दोलनमा अहिंसाको प्रयोग गान्धीको मौलिकता थियो। अर्को पक्ष भनेको राजनीति र समाजिक जीवनमा नैतिकताको, इमान्दारी र सादगीको अनिवार्यता गान्धीको चिन्तन र व्यवहार दुबैमा झल्कन्थ्यो। 

यी सबै पक्षले गान्धीको एउटा बलियो विरासत निर्माण भयो। उनको आर्थिक चिन्तन, विश्व र धर्मलाई हेर्ने दृष्टिकोणले उनको राजनैतिक एंव वैचारिक विरासत बनायो तर त्यो अनुवांशिक रुपमा कसैले प्राप्त गर्न सकेनन्। 

नेहरुको विरासतमा इन्दिरा गान्धीले हकदावी गरेर सत्ता लिँदा भारतको प्रजातन्त्र दुर्घटनामा पर्यो। प्रजातन्त्र अपहरित भयो, इमर्जेन्सीको प्रयोग भयो। 

त्यति मात्र नभई नेहरुको असंलग्न परराष्ट्र नीति परित्याग गरेर इन्दिरा गान्धीले सोभियत संघसँग सैनिक गठबन्धन गर्न पुगिन्। अन्ततोगोत्वा नेहरुको ‘लिगेसी’ निज कै छोरीले ध्वस्त पारिन्। 

अहिले वंशाणुमा ‘लिगेसी’ लाई स्थापित गर्न खोज्दा भारतमा कांग्रेस आईको अवस्था कस्तो छ, सबैलाई जगजाहेर भएको विषय हो। 

किम इल–सङको विरासतको दुहाई दिएर उत्तर कोरियामा कम्युनिस्ट अधिनायकवाद र वंशवादसँग सँगै चलिरहेको छ। मुलुकको हालत सबैमा ज्ञात छ। 

अब रह्यो, कोइराला परिवारको विरासतको विषय। पिताजी कृष्णप्रसाद कोइरालाले सामाजिक सुधार र शिक्षाको उन्नयनमा गरेको उच्च योगदान र जीवनको उत्तराद्र्धमा राजनैतिक कारणले जेल परि मृत्युवरण गर्नुपर्यो। यस प्रकार उहाँको एउटा विरासत बन्न पुग्यो। विपीको राजनीतिक यात्राको प्रारम्भमा पिताजीको यो विरासतको आंशिक प्रभाव थियो। 

तथापि व्यक्ति स्वतन्त्र र सार्वभौम हुन्छ, उसको अभिव्यक्त हुने तथा अभ्यूदयको नैसर्गिक अधिकार किमार्थ कुण्ठित हुनुहुँदैन भन्ने आत्मचेतले अभिप्रेरित भएर विपी राणा शाषनविरूद्ध जनक्रान्तिको नायक बन्नुभयो। 

विपीको जीवन आफ्नो राजनैतिक प्रतिबद्धताको लागि जेल–नेल, निर्वासन, दुःखकस्टमा बित्यो। जीवन र जगतलाई, समाज, धर्म, मानवीय संवेदना र राष्ट्रको ऐतिहासिक आवश्यकतालाई बुझ्ने, हेर्ने सुस्पष्ट दृष्टिकोण बन्यो। 

यी सब कारणले उहाँको विशिष्ट राजनैतिक एंव वैचारिक धरातलमा आधारित विरासत निर्माण हुन पुग्यो, जसको प्रतिनिधि पात्र बन्ने योग्यता परिवारमा त के कुरा, पार्टी मै कसैमा छ जस्तो मलाई लाग्दैन। 

विपीले आफ्नो अभियानमा देशका हजारौं परिवारलाई संलग्न गराउन सफल हुनुभयो। आफ्नो परिवारलाई समेत कष्टकर यात्रामा सामेल गराउनुभयो। मातृका बाबु, केशव कोइराला, गिरिजाबाबु, तारणीबाबु, सुशीला कोइराला, रोशा कोइराला, नोना कोइराला, शैलजा आचार्यहरु त्यसै परिवारभित्रबाट प्रजातान्त्रिक आन्दोलनमा उत्सर्ग गर्ने योद्धा हुनुभयो। मोरङ, सुनसरीका सयौं परिवारहरू कोइराला परिवारसँग राजनैतिक, सामाजिक एवम् भावनात्मक रुपमा जोडिन पुगे। 

‘कोइराला निवास’ ती परिवारहरुका लागि स्वतन्त्रता र आत्मसम्मानको प्रतिक थियो। गिरिजाबाबुको राजनैतिक जीवनको पछिल्लो समयमा निवासको ‘मिथ’ खण्डित हुन सुरु भयो र उहाँको देहावसानसँगै त्यो भस्मिभूत भयो। अब केवल पैतृक विरासतमा प्राप्त जग्गाहरु, जो विक्रि पनि भइसके र एउटा निजी निवास ‘कोइराला निवास’ भौतिक रुपमा बाँकी छ।  

 तपाई कुन गुटबाट उठ्नु भएको थियो?

वास्तवमा भन्नुपर्दा, हाम्रो छुट्टै समूह थियो र यस क्षेत्रमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरौं भन्ने चाहना अनुरुप वडा अधिवेशनमा त्यसो गर्न सफल भयौं। प्रदेश–क्षेत्रीय अधिवेशन अगावै दुवै गुटसँग कुरा गर्याैँ। 

रामचन्द्र पौडेलको गुटअन्तर्गत मोरङमा डा. शेखर कोइरालाको उपगुटसँग, अझभन्दा स्वयम् डा. शेखरसँगै फोनमा कुरा गरेर समय मागे तर उहाँले वास्ता गर्नुभएन। 

बिनागठबन्धन चुनाव जित्न गाह्रो हुने भएकाले क्षेत्र नम्बर ६ मा देउवा गुट र विजय गच्छदारको समुहसँग हाम्रो ‘एलाइन्स’ बन्यो। प्रदेश (ख) क्षेत्रीय अधिवेशनमा हामीले क्षेत्रीय सभापति, मुख्य पदाधिकारी र प्रदेश अधिवेशन प्रतिनिधिहरू बहुमतमा जिताउन सफल पनि भयौँ। 

पछि क्षेत्रीय अधिवेशनमा देउवा गुटको नेता भनि चिनिएका एकजना केन्द्रिय सदस्य र सांसद पदमा रहेकै व्यक्तिले डा. शेखरसँग एक जना वरिष्ठ नेताको गोप्यसहमति गराई आफूहरू ४–५ जना ‘क्रस भोटिङ’ को माध्यमबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभयो। यो एक प्रकारको आत्म–समर्पण थियो, उहाँहरूको। 

यो विश्वासघातको शिकार हामी हुनपुग्यौं। उहाँहरू न डराउनु भएको भए, हाम्रो ‘एलाइन्स’ का १०–१२ जना जति महाधिवेशन प्रतिनिधिमा विजयी हुन्थ्यौं। 

देउवा गुटमा तपाईंको क्षेत्रमा नेताको रुपमा डा. डिला संग्रौला, रमेशजंग रायमाझी, विजय गच्छदार समुहमा चुमनारायण तब्दारजीहरू हुनुहुन्थ्यो, होइन र? तपाईको संकेत उहाँहरू तर्फ हो?

यस प्रसंगमा धेरै नबोलौ– त्यस गुटबाट को–को, कति भोटले जित्नुभयो। को–को निर्विरोध हुनुभयो? तपाई छानवीन आफैँ गर्नुहोला। 
हुनत देशभरि नै विभिन्न पार्टीहरूका अधिवेशनहरूमा एउटा कू–संस्कृति विकसित भइरहेको छ, जसलाई म ‘हाइवे कल्चर’ भन्ने गर्दछु। मोरङमा यस पटक कांग्रेसको चुनावमा पनि यो ‘कल्चर’ हावी भयो। 

के हो यो ‘हाइवे कल्चर’ भनेको? 

प्राकृतिक श्रोत–साधनको अनियमित दोहनबाट आर्जित अकूत धन पार्टीको चुनावमा प्रयोगलाई नै मैले ‘हाइवे कल्चर’ भन्ने गरेको छु। यो मशल र सुरासुन्दरीसँग पनि जोडिन्छ। हाइवेका होटलसँग अन्योनास्रीत भएर आएको हुनाले यसले सामाजिक विकृति फैलाउन मद्दत गरेको छ। 

यो महाधिवेशनमा कस्तो व्यक्ति नेतृत्वमा आउनुपर्छ जस्तो तपाईंलाई लागेको छ, विशेषगरी सभापतिको सन्दर्भमा? 

कांग्रेसभित्र अहिले नेतृत्वको दावी गर्नेहरु मध्ये कसैको विशेषता लामो जेल–नेल र हिरासतको छ भने कसैको पटक–पटक सफल भएको ‘सियासत’ को। जेल–नेल र राजनैतिक अनुभव नभएकाहरूको कुरा फगत ‘विरासत’ को छ। 

यस्तोमा महाधिवेशन प्रतिनिधिहरुले विवेक प्रयोग गरेर राष्ट्रियता बलियो बनाउने, प्रजातन्त्रलाई ‘ट्रयाक’ मा ल्याउने, वर्तमानमा ध्वस्त प्रायः भएको शक्ति पृथकीकरणको अवस्थालाई पुनस्र्थापित गर्नसक्ने र मुलकलाई वैदेशिक शक्ति केन्द्रहरुको क्रिडास्थल बन्न नदिई आर्थिक समृद्धिमा लैजान सक्ने क्षमतावान व्यक्तिहरुलाई नेतृत्व प्रदान गर्नुपर्दछ। 

बिहिबार, मंसिर २३, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)