कांग्रेसी व्यक्तित्वको भुसीकरण

शिलापत्र

खगेन्द्र संग्राैला

भुस धान होइन । चामल त भुस झन् हुँदै होइन । भुस केही हो भने निरस, निस्सार र बेकार तत्त्व हो । चुनावको याममा वृद्ध कांग्रेसमा सरुवा रोग दृष्टिगोचर भयो । अवसरवादको रोग । निष्ठा विस्मरणको रोग । इमान परित्यागको रोग । मित्रघातको रोग । लज्जा मरणको रोग । वचन भक्षणको रोग । नतिजास्वरुप अनेक कांग्रेसी व्यक्तित्वको हेरिनसक्नु रूप देखियो । कांग्रेसका आँखाले हेर्दा कांग्रेसको यो भुसीकरण कस्तो देखियो कुन्नि, नकांग्रेसका आँखाले हेर्दा विरुप, विकृत र बीभत्स देखियो ।

प्रतीकमा कुरा गरौँ । आँखासामु दृश्यमा अनेक बोरा छन् । यी बोरा कांग्रेसी व्यक्तित्वका विशेषतावाहक प्रतीक हुन् । बाहिरी कलेबरमा यी बोरा चिल्ला र पोटिला देखिन्छन् । कांग्रेसी व्यक्तित्वको आदर्श र त्याग, निष्ठा र बलिदान, ओज र गरिमा, इमान र जमान, विश्वसनीयता र दृढता बास बस्ने बोरा हुन् रे यी । हामीलाई  भनिएको यसै त छ ।

यी अनेकमध्येको पहिलो बोरा रामचन्द्र पौडेलका यावत् गुणहरूको बासस्थल हो । श्री पौडेल जिन्दगीभरि खटेका र डटेका कांग्रेसी हुन् । जेल र नेल, कष्ट र कहर, त्याग र बलिदान, जोखिम र प्रतिरोध यिनको राजनीतिक यात्राका चिनारी चिह्न हुन् । लोकोक्ति भन्छ– गोरु बुढो भए भिर खोज्छ, मान्छे बुढो भए जोरी खोज्छ । नभन्दै यसपालाको चुनावमा रामचन्‌ दाले पार्टीका भाइसाथीसँग जोरी खोजे ।

प्रकाशित मिति: : 2021-12-17 11:11:00

प्रतिकृया दिनुहोस्