वीराङ्गना

वीराङ्गना
————
घॅास काट्न जॅादा जंगलमै जन्माएर
घॅासको भारीसॅगै बोकी ल्याएकी हुन् रे
मेरी आमाले मलाई
ॲाखामा धूलोको एउटा कणसम्म सहन नसक्ने म
आमाको त्यो बहादुरीको
कल्पनै गर्न सक्दिन

सॅाझमा हनहनी ज्वरोसॅगै सुतेकी मेरी आमा
भालेको पहिलो डाकसॅगै
रमितेखोलाको सिस्नुघारी पुग्थिन्
भरे सॅाझ रातमै घर आईपुगेर
रातमै बाटो लाग्थिन् टाढाको बजार
एक भारी सिस्नु सकी नसकी बोकेर
र साटेर ल्याउथिन् सातु चामल
अनि सर्सर्ती डुलाउथिन् मेरा किताब कापीका पानाहरुमा
अक्षर नचिनेका आफ्ना थकित ॲाखाहरु
र सोध्थिन्-
‘मनु! राम्ररी पढ्दैछस् नि?!’
मेरो मन किताबका पानाहरु छिचोल्दै
पढ्थ्यो- आमाले छिचोलेको पहाड
गह्रुंगो सिस्नुको भारी
आमाले हिंडेको त्यो लामो बाटो
उनले ल्याएको सातु चामल
र उनको थकित शरीरभित्रको उज्यालो आशा- म
आमाले तरेका ती जंघारहरुको
म हिसाबै गर्न सक्दिन

छोरोले दु:ख पायो भन्ने थाहा पाएर
घन्टौं खाली खुट्टा हिंडेर मेरो डेरासम्म आई
‘साह्रै दु:ख पाईस्
ला, यसले अलिअलि दुखजिलो गर्’ भन्दै
बर्षौंसम्म बनीबुतो गरेर पोल्टामा लुकाएको
आमाले दिएको त्यो सात सय रुपैंयाको गुन
म सात जन्ममा पनि तिरेर नसकॅुला

गॅूड छोडेर कतै टाढाको लागि उडेको बचेरोको माया जस्तै
टाढा टाढा पुगेका आफ्ना लालाबालाको यादमा
चुल्हो छेउमा छाती निचोरेर बेस्सरी रोए पनि
सिकुवामा हॅास्दै बस्ने मेरी आमाको अदम्यतालाई
म आफूभित्र पाउनै सक्दिन

ॲध्यारै ॲध्यारो सहेर पनि
मेरा निम्ति आमाले खनिदिएको
उज्यालोसम्म पुग्ने बाटो
भोक र तिर्खा सहेर पनि
मेरो लागि जोडिदिएको अलिकति माटो
म मेरा सयौं कवितामा पनि अटाउनै सक्दिन

जिन्दगीको मैदानमा
जित्दै हार्दै, हार्दै जित्दै
यहॅासम्म आईपुगेको छु
आमाले आफ्नो पाठेघरमा भरिदिएको
त्यही रगत, त्यही स्वास
त्यही प्राण अनि त्यही साहसको बलले

के मेरी आमा वीराङ्गना होईनन् र?!

-मञ्जुल मितेरी
कुमामोतो, जापान

प्रकाशित मिति: : 2022-01-15 12:13:00

प्रतिकृया दिनुहोस्