तिमी अब कहिल्यै भेटिने छैनौ, ‘आइ मिस यू बन्नी’ 

Breaknlinks
Breaknlinks

रातको १२ बजिसकेको थियो। म निदाएकी थिइनँ। एक्कासी मोबाइलको घण्टी बज्यो। सुनसान रातमा बजेको मोबाइलको घण्टीले झस्किएर उठेँ। रातमा कसले फोन उठाइरहोस्! मोबाइलमा आएको कल काटिदिएँ।

फेरि एकछिनमा मोबाइल कराउन थाल्यो ‘टुटुटु...’। हस्पिटलमा नाइट ड्यूटी गरेर सुतेकी फूपु मोबाइलको घण्टीले ब्यूँझिनुभयो। अनि कराउन थाल्नुभयो, ‘रातिराति कसको कल आउँछ तेरो मोबाइलमा।’

फूपुको कुरा सुनेर रिसले भन्नथालेँ, ‘मलाई के थाहा हुन्छ र कसले कल गरिरहेको छ भनेर, नचिन्ने नम्बरबाट कल आएको छ।’ फूपुले झपार्दै भन्नुभयो, ‘भोलि कल गरेर सोध अनि थाहा हुन्छ को हो भनेर, फोन बन्द गर अनि सुत।’

मध्यरातमा दुई पटकसम्म कसले फोन गरेको होला भन्दै ओछ्यानमा पल्टिएँ। मनमा कुरा खेलाउदैँ। त्यतिकैमा तेस्रो पटक मोबाइलमा फोन आयो। रिसले चुर हुदैँ मोबाइल उठाएँ, अनि आइरहेको कल काटिदिएँ। तेस्रो पटककाे कल ‘बन्नी’ को थियो। फूपुको डरले उसको कल काटेकी थिएँ।

म्यासेज लेखेँ, ‘आ एम सरी बन्नी, आई कान्ट रिसिभ योर कल, कल मि एट मर्निङ’। उसको पनि म्यासेज आयो। ‘हेप्पी बर्थडे मुसा इट्स ओके, आई कल यू टुमारो, रिसिभ दि कल।’

'अँ अनि सुन त भोलि मलाई भेट ल, तँलाई उपहार दिनुछ, रेडी भएर बस्नु है म तँलाई लिन १२ बजे आउँछु। कतै घुम्न जानुपर्छ’, उनले भने। मैले पनि सहमतिमा म्यासेजको जवाफ दिदैँ मोबाइल अफ गरेँ। म कति हुस्सु रहेछु आफ्नो जन्मदिन पनि भुल्ने। १७ वर्षमा टेक्दै थिएँ। धन्न कल गरेर बन्नीले सम्झाइदियो। हाँस्दै सोच्न थालेँ। ‘बन्नी’ मेरोे बाल्यकालदेखिको साथी। मभन्दा मात्र ३ साल ठुलो। उसलाई मैले राखिदिएको नाम थियो 'बन्नी'।

अनि उसले मलाई मायाले भन्ने गर्थ्यो, ‘मुसा’। मेरो हरेक सुखदुखमा साथ दिने। हाम्रो मित्रता देखेर गाउँका मानिसले भन्ने गर्थे, ‘साथी होस् यिनीहरु जस्तो’। हामबीचको सम्बन्ध थियो–नङ र मासु जस्तो।

एकअर्काबाट टाढा जान्नै नसक्ने, गए पनि भेट्नै पर्ने। उनी मलाई खानेकुराहरु चोरेर खुवाउने गर्थे। उनी ‘पल्लाघरे कान्छा बा’ का बारीमा भएका बदाम चोर्न जान्थे। उनले मलाई कैयौँ पटक चोरेरै भए पनि बदाम र काँक्रो खुवाएको छ। मलाई पनि मन थियो, त्यसैगरी उनलाई चोरेर खुवाउने। तर मलाई उनले बारीमा समेत नआउन भन्थे। उसले मलाई भन्ने गर्थ्यो, ‘तँ सानी छस् सक्दिनस् चोर्न। बारीमा सर्प पनि आउँछ नी फेरि’ । त्यसो भन्दै बारीबाट धपाइहाल्थ्यो। अनि मेरा लागि भनेर खानेचिज ल्याउँथ्यो। म पनि मिठो मानीमानी खान्थेँ।

भोलिपल्ट नै गाउँमा हल्ला हुन्थ्यो, ‘नाकेले काँक्रो, बदाम चोरेछ अनि कान्छा बाले लाैरी हानेछ।’ 'बन्नी' लाई गाउँकाले जिस्केर नाके भन्थे। बन्नीले चोरेर ल्याएको खानेकुरा खाएँ। तर गाउँमा मलाई चोर कसैले भनेनन्।

बिहानको चार बजे मोबाइलमा घण्टी बज्यो। त्यो कल आएको होइन ‘अलार्म’ को थियो। बेलुका मैले नै राखेको थिएँ। बिहान चाँडै उठ्नका लागि अलार्म। बिहानै कलेज जान थियो। तर मलाई कलेज जान मनै थिएन, जन्मदिन भएका कारण। अनि फेसबुक खोलेँ, र आफ्नो फेसबुकमा राखिएको जन्मदिनको मिति परिवर्तन गरिदिएँ।

कलेज गए पनि मेरो मन पूरै बन्नीतिर नै थियो। उसले मलाई उपहार दिने र घुमाउन लैजाने पो भनेको थियो त। ध्यान नहोस् पनि कसरी अरु कुनै दिन कलेजमा मोबाइल नलैजाने म त्यसदिन भने लगेकी थिएँ। उसैको फोन आउने आशमा।

कलेज छुट्टी भयो। हतारिदैँ घर पुगेँ। फूपुले जन्मदिनको शुभकामना साथै उपहार दिदैँ भन्नुभयो, ‘बन्नी आउँदै छ रे छिटाे तयार भएर बस रे, म काममा गएँ है।’

कलेजको लुगा हतारिएर फुकालेँ। अनि ‘वान पिस’ अर्थात् जामा लगाएर बेहुली झैँ सझिएँ। अनि उसलाई पर्खिन थालेँ। घडीको सबै सुइ १२ नम्बरमा अड्कियो। अनि कल गर्न थालेँ बन्नीलाई।

उनले मेरो कल उठाएनन्। सयौँ पटक कल गरेँ तर उताबाट ‘रिसिभ’ भएन मेरो कल। चार बजिसकेको थियो। न बन्नीको कल आयो, न केही म्यासेज नै। उनी आउँछ अनि ‘सरी मुसा’ भन्छ भन्ने आश गरिरहेँ। तर अहँ, मलाई लिन उ आएन। बेलुकाको आठ बज्यो। 

मैले रिसाउदैँ म्यासेज पठाएँ, ‘के हो कल पनि नगर्ने ? गरेको कल पनि रिसिभ नगर्ने ? तिमी छौ चाहिँ कहाँ? छिटो कल गर।’ त्यही पनि ‘रिप्लाई’ आएन। भोलिपल्ट शनिबार बिहान ९ बजेसम्म सुतेँ। अनि उठेर हातमुख धोएँ। त्यसपछि चिया पिउँदै फेसबुक चलाउन थालेँ।

फेसबुक खोल्ने बित्तिकै बन्नीलाई ट्याग’ गरको देखेँ। जहाँ लेखिएको थियो–‘हार्दिक श्रद्धाञ्जली’, साथी तिम्रो आत्मालाई शान्ति मिलोस्’। मलाई लाग्यो उसँग मजाक भइरहेको छ। त्यसैले उसको दिदीलाई कल गरेँ। तर दिदीले पनि कल उठाउनुभएन। मनमा डर लाग्दै गयो। अनि आखाँ फेसबुकतर्फ लगेँ। हामीले चिनेकै एक दाईले बन्नीको फोटो राखेर लेख्नुभएको थियो, ‘आजदेखि तिमीले हामी तीन भाइको नाम नै मेटाएर गयौ भाइ।’ त्यो देखेर म एक्कासी भक्कानिएँ। मलाई आकाशले थिचे जस्तो लाग्यो। म भुइँमा लडेको मात्र मलाई होस छ। होस खुलेपछि यत्ति मात्र मनमनै भन्न सकेँ 'थाहा छ, तिमी अब कहिल्यै भेटिने छैनौ, ‘आइ मिस यू बन्नी’।

प्रकाशित मिति: : 2022-01-18 06:43:00

प्रतिकृया दिनुहोस्