बिएल संवाददाता
                                नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य गोकुल बाँस्कोटाले दुई दशकअघि तत्कालीन नेकपा (माओवादी)ले घटाएको ‘हार्जङ हत्याकाण्ड’ र ‘हिटलरको ग्यास च्याम्बर’ मा कुनै भिन्नता नभएको बताएका छन्।
माओवादीद्वारा घरभित्र थुनेर जिउँदै जलाइएका एमाले समर्थकहरूको स्मरण गर्दै नेता बाँस्कोटाले तत्कालीन माओवादीका शीर्ष नेता बाबुराम भट्टराईप्रति कटाक्ष गरेका हुन्।
उनी भन्छन्, ‘हार्जङमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउँदै जलाएर मार्ने, चितवनमा चार वर्षीया बालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले बारम्बार एमालेलाई हिटलरसँग जोड्न खोज्नुको अर्थ के हो? हिटलरको ग्यास च्याम्बर र भट्टराईको हार्जङ च्याम्बरमा कुनै भिन्नता छैन।’
तत्कालीन माओवादीले २०५५ फागुन २७ गते मध्येराति लुंग्री गाउँपालिकास्थित हार्जङ गाउँका १४ वर्षीय बालक चैते पुनसहित ८ जनालाई जिउँदै जलाएर हत्या गरेको थियो। तीमध्ये धेरैजसो एमाले समर्थकहरू थिए। युद्ध सकिएको यतिका वर्ष भएपनि उनीहरू मारिनुको कारणबाट आफन्त बेखबर छन्।
जनयुद्धका एक शीर्ष नेता भट्टराई र एमाले युवानेता बाँस्कोटाबीचको ‘हिटलरको ग्यास च्याम्बर र भट्टराईको हार्जङ च्याम्बर’ जुहारीले ‘हार्जङ हत्याकाण्ड’ पुनः सतहमा आएको छ।
मारिनेहरू माओवादी आन्दोलनलाई हानी नै पुर्याउने तहका थिएनन्। सामान्य नागरिक थिए। न धनाड्य, न जमिनदार, न त शोसक। तर जिउँदैै जलाइयो। ‘सामूहिक हत्या’ किन गरियो ? यो प्रश्नको उत्तर परिवारले आजसम्म पाएका छैनन्।
जिउँदै जलाउँदा झ्यालबाट भागेर बाँचेका घरधनी बलबहादुर रोका ०५५ फागुन २६ को दिन सम्झन चाहँदैनन्। ‘म त कसो–कसो भागेँ। ३ वटा गोली हानेका तर बाँचेँ। अरुलाई त जिउँदै जलाए नि,’ उनी भन्छन्, ‘अर्कोे दिन हेलिकप्टर आयो, जलेका घाइतेलाई लग्यो। प्रहरीले हेर्यो, के–के टिप्यो। मर्ने मरिगए, बाँच्नेलाई उस्तै।’
माओवादीले बुबा मनबहादुर गिरिलाई जिउँदै आँगो लगाएर मारेको खबर सुन्दा छोरा मोहन गिरी (३६) १३ वर्षाका थिए। त्यो घटना सम्झिदाँ उनी अहिले पनि डराउँछन्।
स्थानीयहरू त्यो कहालीलाग्दो घटना सम्झेर बेलाबेला झस्किन्छन्। युद्धताका रोल्पाको पूर्वी भेगमा माओवादी कार्यकर्ताहरूको अन्तभन्दा राम्रो प्रभाव थियो। त्यतिबेला माओवादीका स्थानीयले घरको भित्तामा नारा लेखेर जान्थेँ।
अर्कोदिन बिहानै सरकारी सेना गाउँ छिरेर सर्वसाधारणमाथि हातपात गर्नु सामान्य जस्तै थियो। सेनाको क्रूर आतंकबाट जोगिन गाउँलेहरूले नारा मेटाएपछि माओवादी कार्यकर्ताले ‘किन नारा मेटाएको’ भन्दै सबैमाथि कुटपिट गर्थे।
त्योबेला हार्जङवासीले समिति नै बनाएर सरकारी सेनाबाट जोगिन नारा मेटाउने अभियान थाले। ‘हार्जङ हत्याकाण्ड’ को तीन दिनअघिको राति नारा लेख्न रोक्ने स्थानीय र लेख्न आएका माओवादी कार्यकर्ताहरूबीच झडप भयो। सोही झडपमा परी चार माओवादी कार्यकर्ताको ज्यानसमेत गयो।
त्यसपछि माओवादी कार्यकर्ताहरूले ०५५ फागुन २७ गते स्थानीय रोकाको ढोका थुनेर आगो लगाए। खरको छानो एकैछिनमा सल्कियो। हल्लिखल्ली भयो। उनीहरू भाग्न खोजे तर ढोका बन्द थियो।
कतिले पत्तो पनि पाए। भित्र सुतेका उनीहरू निस्कन खोज्दा माओवादी कार्यकर्ताले ताकीताकी गोली हानेर ढोकामै ढालेको प्रत्यक्षदर्शीहरू बताउँछन्। ‘जलेर घाइते मेरो बुढालाई झ्यालबाट भाग्न खोज्दा गोली हानेर मारे,’ ५७ वर्षीया दिलमता गिरि सुनाउँछिन्, ‘८ जनालाई जिउँदै जलाएर मारेका हुन्। मेरो भाइलाई पनि जलाए। अनुहार कसैको नचिने। मुढा जस्तो थियो लास त।’
परिवारले स्थानीय शान्ति समिति रोल्पामार्फत् सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएको वर्षौ भइसक्यो। तर त्यो छानबिन कहाँ पुग्यो कुनै जानकारी छैन।
नेकपा (एमाले)ले हार्जङ घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रदिप ज्ञवाली संयोजक रहेको कार्यदल बनायो। ज्ञवालीसहित बीरबहादुर सिंह र अधिवक्ता टिकाराम भट्टराईले प्रतिवेदन तयार पारेका थिए। उक्त प्रतिवेदनबारे अहिले एमाले नै बेखबर छ। लगतै एमाले नेता प्रदिप ज्ञवाली र माओवादी नेता वर्षमान पुनबीच पहिलोपटक माडिचौरमा वार्ता समेत भएको थियो।

नेकपा (एमाले)ले २०५६ सालमा झलनाथ खनालको संयोजकत्वमा ‘माओवादी तथा राज्यद्वारा सृजित हिंसा र आतंकसम्बन्धी अध्ययन कार्यदल’ बनाएको थियो। सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रकाश ज्वाला (सदस्य–सचिव) र हरि फूँयाल थिए।
कार्यदलको प्रतिवेदनमा माओवादीबारे उल्लेख गरिएको अंश जस्ताको तस्तै– हार्जङमा बलबहादुर रोकाको घरलाई ग्यास च्याम्बर बनाएर हिटलरी शैलीमा आठ–आठ जना नेपालीलाई जिउँदै डढाएर मार्दा गुञ्जिएको चीत्कारले माओवादीहरूलाई बाँचुन्जेल निरन्तर लखेटिरहने छ।
उक्त घटनामा ८ जनाको हत्या भयो, १० जना घाइते भए र ३ जनालाई अपहरण गरिएको थियो। तीमध्ये एकजना अपहरणबाटै भाग्न सफल हुनुभयो भने दुई जनालाई चरम यातना दिएर छाडिएको थियो।
घाइते भएकामध्ये हस्ते रोकाको केही समयपछि उपचार गर्दा गर्दै मृत्यु भएको थियो। यसका साथै माओवादीहरूको यातानाको कारणले केही महिनापछि श्रीमती खिरु पुनको समेत मृत्यु हुन पुगेको थियो। यसरी एकै घरमा आतंकारी जत्थाको शिकार हुनुभएका बहादुर सपूतहरू निम्न अनुसार हुनुहुन्छः
–पुष्टबहादुर (पुष्ट) गिरी, उमेर ६५ वर्ष 
– अमृतबहादुर गिरी, उमेर ५५ वर्ष
– ढाँटे पुन, उमेर ६० वर्ष
– मनबहादुर गिरी, उमेर ४२ वर्ष
– एैभान पुन, उमेर ५० वर्ष
– चैते पुन, नाबालक उमेर १४ वर्ष
– बेगमबहादुर पुन, उमेर ३३ वर्ष
– तिर्खु गिरी, उमेर ३५ वर्ष
– हस्ते रोका, उमेर ४९ वर्ष
– श्रीमती खिरु पुन
यस घटनामा परी घाइते हुनेहरूमा शोभाराम गिरी, माने बुढा, दिलु गिरी, विर्मा गिरी र हाँसे बुढा रहनुभएको थियो भने अपहरण हुनेहरूमा डम्बर पुन, जंगवहादुर पुन र किशोर पुन रहेको बताइन्छ। यो घटनाले माओवादी जनयुद्धको पतनको संकेत मात्रै गरेन, उनीहरूको जनतामारा, नीच र पासविक चरित्रको भण्डाफोर समेत गरेको छ।
हार्जङ घटनाको सम्बन्धमा माओवादी पक्षले विभिन्न भ्रामक कुराहरू गरिरहेको सन्दर्भमा नेकपा (एमाले)द्वारा हार्जङ घटनासम्बन्धी सत्यतथ्य पत्ता लगाई छानबिन गर्न एउटा कार्यदल गठन गरेको थियो र सो कार्यदलले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाई सकेको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया