
रविन पुन मगर (आइडु)
बस स्टेशन, रेल स्टेशन त सबैले सुन्नुभएकै होला। के तपाईंले 'म्यारिज स्टेशन' सुन्नुभएको छ? झट्ट सुन्दा आश्चर्य लाग्छ होला, तर नलाग्न पनि सक्छ। किनकि तपाईंहरूले शादी डटकम सुन्नुभएको होला। नेपालमा पनि थुप्रै म्यारिज ब्यूरो छन्। तर ती कतिपय बन्द अवस्थामा रहेका छन्।
दोलखा स्थायी घर भएका उत्तम आचार्य विगत १० वर्षदेखि काठमाडौँमा बस्दैआएका छन्। नयाँ–नयाँ टेक्नोलोजीसँग नजिकबाट भिज्न चाहने व्यक्ति हुन् उनी। केही नयाँ काम गरौँ भन्ने उत्साह बोकेर हिँड्ने उनको दिमागमा प्रविधिसँग भिजेर काम गर्ने लत बसिसकेको छ।
युट्युब, अनलाइन वेबसाइट, फेसबुक पेज जस्ता प्रविधिसम्बन्धी कामहरू गर्दैआएका उनको दिमागमा नेपालमा पनि म्यारिज ब्यूरोसम्बन्धी सोच आयो।
उनले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा दुई वर्ष अगाडिदेखि म्यारिज स्टेशन सञ्चालन गर्दै आइरहेका छन्। सुरूवाती दिनमा तीन जना साथीसँग मिलेर सञ्चालन गरेपनि अहिले साथीहरूले भने अन्य व्यवसाय गर्दै आएका छन्। उनी एक्लैले म्यारिज स्टेशन सञ्चालन गरिरहेका छन्।
कार्यालयमा २ जना कर्मचारी पनि छन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालयबाट अनलाइन र अफलाइन काम गर्ने गरेका छन्।
वर, वधुको खोजीमा रहेकालाई लक्षित गर्दै म्यारिज स्टेशन खुलेको हो। यो सेवा अनलाइन तथा अफलाइन दुबै माध्यमबाट लिन सकिने छ। म्यारिज स्टेशनको वेवसाइट तथा फेसबुक पेजमार्फत् इच्छुकहरूले आफ्नो विस्तृत विवरण भरेपछि यो सेवा लिन सक्नेछन्।
त्यस्तै अफलाइन सेवाको लागि भने काँडाघारीस्थित म्यारिज स्टेशनको कार्यलयमै जानुपर्ने छ। म्यारिज स्टेशनले जीवनसाथीको खोजीमा रहेका व्यक्तिहरूबीच ‘लमी’ को काम गर्छ। यो एरेन्ज म्यारिज (मागी विवाह) गराउने प्लेटफर्म जस्तै हो।
सुरूमा म्यारिज स्टेशनको फेसबुक पेज मात्र थियो। कागेश्वरी मनोहरा नगरपालिकामा दर्ता भएको म्यारिज स्टेशनको पोस्टरहरू सामाजिक सञ्जालमा निकै भाइरल हुँदै गयो। राजधानीका ठाउँ–ठाउँमा टाँसिएको उक्त पोस्टरका ट्रोलहरू बने।
म्यारिज स्टेशनलाई यति फोन आयो कि कर्मचारीहरूले उठाउनै भ्याएनन्। दैनिक तीन वटा नम्बरमा साढे २ सय फोनका घण्टीहरू बज्न थाले। हरेक मिनेट फेसबुकमा म्यासेजहरू ओइरिन थाले। कतिपय फोन साँच्चिकै जीवनसाथीकै खोजीका लागि आए, धेरैजसो रमाइलोका लागि। ‘ट्रोल बनाएर हामीलाई उडाए। तर, राम्रै प्रचार–प्रसार भयो’, सञ्चालक आचार्यले भन्छन्, ‘यस घटनाले हामी काम गर्न सक्छौं भन्ने विश्वास बढ्यो।’
म्यारिज स्टेशनकाअनुसार अहिले अमेरिका, क्यानडा, युरोप, जापान र खाडी मुलुकबाट अत्यधिक फोनहरू आउँछन्। तीमध्ये सबैभन्दा पीडित खाडी मुलुकमा बस्ने नेपालीहरू छन्। उनीहरूसँँग न आफूले कमाएको पैसा छ, न साथमा श्रीमती। ‘अहिले पनि विदेशबाट दैनिक झण्डै दर्जन फोनहरू आउँछन्। उनीहरू दोस्रो बिहेका लागि भरपर्दो जीवनसाथीको खोजीमा हुन्छन्’, आचार्यले भने।
म्यारिज स्टेशनमा अहिले २० देखि ६० वर्ष उमेर समूहका व्यक्ति र अभिभावक वर, बधुका लागि आउने गरेका छन्। त्यसमा अविवाहित, विधवा, विधुर, डिभोर्स भइसकेका सबै खालका व्यक्तिहरू हुन्छन्। विशेषगरी २५ देखि ३५ वर्षबीचका व्यक्तिहरू आफ्नो लागि जीवनसाथी खोज्न आउने गरेका छन्।
म्यारिज स्टेशनको वेवसाइटमा गएर जुनसुकै व्यक्तिले फारम भर्न सक्ने छन्, वा काँडाघारीस्थित कार्यालयमा पुगेर फारम भर्न सकिन्छ। आफ्नो नाम, उमेरका साथै आफूले खोजेको जीवनसाथीको जात, जागीर, उचाई, पढाइलगायतका विवरण भर्नुपर्ने हुन्छ।
फारम भरिसकेकाहरूको फोटो, नाम, नम्बर, इमेल गोप्य राखिन्छ। तोकिएको शुल्क तिरेपछि वेवसाइटमै फारम भरेका व्यक्तिहरूसँग च्याट गर्न सकिन्छ। आफूलाई मन परेको व्यक्तिको थप डिटेल चाहिएमा म्यारिज स्टेशनले उपलब्ध गराउँछ। केटा–केटीबिच कुरा गर्न दुई हप्ताको समय दिइन्छ। त्यो समयबीच कुरा मिलेन भने अर्को व्यक्तिसँग कुरा गराइन्छ।
म्यारिज स्टेशनमा फारम भर्न भने पैसा लाग्दैन। आफूलाई मिल्ने खालको जोडी भेटिएमा अगामी प्रक्रिया बढाउन नेपालमा रहेका व्यक्तिलाई ५ हजार लाग्ने छ। ती जोडीको विवाह भएमा थप २० हजार लाग्ने छ।
त्यस्तै विदेशमा बस्ने नेपालीको लागि भने फारम भरिसकेपछि अगाडिको प्रक्रियाको लागि १० हजार लाग्ने छ। ती जोडीहरूको बिहे भएपछि थप ४० हजार लाग्ने छ। तर खाडी मुलुकका जोडीहरूको लागि भने नेपाली दरकै पैसा लाग्ने छ। सेवा शुल्क ई-सेवाबाट वा सिधै कार्यालयमा गएर तिर्न सकिन्छ।
म्यारिज स्टेशनले हालसम्म १५२ जोडीको विवाह गराइसकेको छ। म्यारिज स्टेशनको वेवसाइटमा एक सयभन्दा बढी र कार्यालयमै हरेकदिन एक दर्जनभन्दा बढी मानिसहरू आउने गरेको सञ्चालक आचार्यले बताए।
आफूले चाहेको, अपेक्षा गरे अनुसारको जीवनसाथी खोजिदिने यो उपयुक्त प्लेटफर्म हो। तर, कतिपयले भने नकारात्मक टिप्पणी गरेको सुन्दा नमज्जा लाग्ने गरेको सञ्चालक आचार्य बताउँछन्।
‘अन्य म्यारिज ब्यूरोले पैसा खाएर ठगेको रिस यता पोख्नुहुन्छ’, उनले भने, ‘कतिपयले दलाल, चेली बेच्ने गरेको आरोप लगाउँछन्।’ तर म्यारिज स्टेशनले स्वीकृत लिनुपर्ने ठाउँहरूबाट स्वीकृति लिएर काम गर्ने गरेकोले ठूला समस्या नआउने उनले बताए।
अर्कोतर्फ राम्रो काम गर्नुभयो भनेर हौसला दिनेहरू पनि उत्तिकै छन्। त्यस्तै याे अहिलेको आवश्यकता पनि बन्दै गएको छ। छिट्टै राजधानी र अन्य शहरमा पनि म्यारिज स्टेशनले ब्रान्च खोल्ने तयारी गरिरहेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया