जुन घटनाले जुरायो नाम

हेमन्त विवश

काठमाडौं

यतिखेर कैलालीमा निकै नै चहलपहल बढेको छ। त्यो चहलपहल न त राजनीतिक दलको हो। न हो कुनै मेला वा पर्वको। न त हो कुनै महामहिमको स्वागतार्थ गरिन लागिएको अग्रीम तयारी। त्यो चहलपहल हो, नवजीवन सहकारी संस्थाको साधारण सभाको।

सर्वसाधारणले बैंकिङ सेवा पाउन गाह्रो भएको समयमा कैलालीमा गैरकानुनी ढंगले एउटा कोषको स्थापना गएिको थियो। जुन कोषका निम्ति केही व्यक्तिहरूले सुरुमा मासिक एक सय रुपैयाँ उठाउने गरेका थिए। त्यसपछि उक्त कोषका संचालकहरूले पहल गरे सहकारी संस्था खोल्नलाई। यसरी खुलेको सहकारी नै आजको नवजीवन सहकारी हो।

नेपाल राष्ट्र बैकबाट बैंङ्किङ कारोबार गर्न इजाजत पाएपछि यसले बैंक ग्यारेन्टी इस्यु गर्‍यो। सुनचाँदी धितो लिएर पैसा दिन थाल्यो। साथै क्लियरिङको काम समेत गर्न थाल्यो। यो प्रति मान्छेले विश्वास गर्दै गएपछि यसको आकर्षण पनि बढ्दै जान थाल्यो। सुरुका दिनमा यसलाई बचतकर्ताहरूले नवजीवन बैङ्क भन्ने गर्थे। अहिले पनि शेयर सदस्य र वचतकर्ताहरूले यसलाई उत्तिकै विश्वास गरेका छन्।

२९ हजार ५ सय ७६ जना साधारण सदस्य रहेको उक्त संस्था राष्ट्र बैकबाट बैंङ्किङ कारोबार गर्न स्वीकृति पाएको देशकै पहिलो सहकारी संस्था बन्न पुग्यो। २३ करोड ७९ लाख चुक्ता शेयर पुँजी रहेको उक्त संस्थामा निक्षेप रकम ४ अर्ब २० करोड छ। आर्थिक वर्ष २०७८/०७९ मा १२ करोड २३ लाख मुनाफा आर्जन गर्न सफल यसले विभिन्न क्षेत्रमा ३ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ। यसले कञ्चनपुरको पुनरवास, बर्दियाको बाँसघाडी र कैलालीका टीकापुर, अत्तरिया, हसुलिया, सुख्खड, चौमालालगायतका ठाउँमा दश वटा शाखाहरू खेलिसकेको छ। कतिपय ठाउँमा संस्थाले भवन निर्माणार्थ जग्गा खरिद गरिसकेको र केही ठाउँमा भवन निर्माण गरिसकेको छ। दिनेश कोइराला, नरबहादुर गुरुङ्ग, जीवनाथ जैशी, दामोदर भट्ट, सरोज कुमार पोख्रेल, करुणकर पाण्डेय, रतनबहादुर कठायत र चक्रबहादुर सिंह गरी आठ जनाले संस्थाको नेतृत्व लिइसकेका छन्। देशमै ख्याती कमाएको यो संस्थाको छुट्टै इतिहास छ।

नामाकरण तथा सुरुवातीको चरण:

यसको नाम नै काव्यिक छ। कुनै उपन्यासको कथा जस्तै छ, यसको नामाकरणको इतिहास पनि। जुन यथार्थ घटनामा आधारित छ। आजभन्दा ३० वर्ष अधिको कुरा हो। घरबाट भागेका सुनसरीका १२ वर्षीय कृष्ण कोइराला कञ्चनपुर हुँदै डडेल्धुरा पुगे। त्यहाँ पुगेपछि उनी होटलमा भाँडा माझ्ने र चिया पुर्‍याउने काम गर्न थाले। एक दिन चिया पुर्‍याउन जाँदै गर्दा सडकमा ट्रकले ठक्कर दिएर घाइते बनाइदियो। होटलमालिक र ट्रक ड्राइभरको सल्लाह मुताविक नै हुनुपर्छ बालकलाई त्यहाँबाट ल्याई मध्यरातमा धनगढी बसपार्क जाने मोडमा झारिदियो।

बिहान पसल खोल्न जाँदा दीपक देबकोटाले देखे खुट्टा भाँचिएर रक्ताम्य अवस्थामा रहेको बालक। सोही स्थानमा आइपुगे गणेश बस्नेत पनि। दुबै जनाले उनलाई रिक्सामा राखी सेती अञ्चल अस्पताल पुर्‍याए। जहाँ डाक्टरले खुट्टा काट्नुपर्ने सल्लाह दिए। तर, पैसाको अभावमा समयमा उपचार हुन नसक्ने देखियो। गाडीवालाको पत्तो लागेन। उनको उपचारार्थ चन्दा उठाउन थालियो। घटनाले मनन् गर्न बाध्य तुल्यायो उनीहरूलाई। यस्ता समस्यामा परेकालाई सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले दिनेश कोइराला, गणेश बस्नेत, गोविन्द कोइराला, दीपक देवकोटालगायत १६ जनाको जमघट भयो नवदुर्गा चिउरा उद्योगमा। जहाँ दिनेशकोइरालाको अध्यक्षतामा एउटा कोष खोल्ने सहमति भयो। उक्त कोषका सचिव दीपक देबकोटा र कोषाध्यक्ष विष्णु अर्याल बने। सदस्यता मार्फत् एक हजार र मासिक एकसय उठाई  कोष निर्माण गरे। तीन हप्तामै सय जना सदस्य थपिए। मासिक दुई सय उठाउन थालियो। खुट्टा नकाटिकनै ती बालकको उपचार गर्न सकियो। अन्य कतिपय बिरामीलाई सस्तो ब्याजमा उक्त कोषबाट पैसा उपलब्ध गराई उपचारार्थ सहयोग गर्न थालियो।

सहकारी ऐन लागू भएपछि सोही समूहका सदस्यहरू र अन्य केही सदस्यहरूको सक्रियतामा विधिवत रुपमा सहकारी संस्था सुरुवात गर्न पहल गरियो। संस्थाको नामाकरण गर्ने क्रममा व्यापक छलफल हुन गयो। अन्तिममा निचोड निस्कियो नवजीवन। एउटा बालकलाई नयाँ जीवन दिन सुरु गरिएको कदमलाई निरन्तरता दिन विधिवत रुपमा तय गरिएको हुँदा नवजीवन भन्नेमा सबैको सहमति हुन गयो। अन्तत्वगत्वा २०५० साल मंसिर मसान्तमा दिनेश कोइरालाको अध्यक्षतामा विधिवत संस्थापना हुन गयो नवजीवन सहकारी संस्थाको।

भावी योजना बोक्दै रतन

यतिखेर खाँचो छ नयाँ योजनासहित निस्वार्थ र सक्रिय ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिको। सोही संस्थाको अध्यक्ष बन्न यतिखेर भावि योजनाको भारी बोकेर मैदानमा उत्रेका छन्, रतन कठायत। उनको भावि उद्देश्य भन्नु नै पुराना अधुरा कामलाई पूर्णता दिनुका साथै सामुदायिक अस्पताल र विद्यालय खोल्नु हो। ‘कस्तो छ चुनावी दौड ?’— सधैजसो हतारमा देखिने उनलाई क्षणभरको भेटमा प्रश्न गरेँ।

‘डोटीको कुमालीकोट गाउँबाट एक घन्टाको बाटो हिँडेर दिल्पेश्वर मा.वि दिपायलमा पढ्न जाँदाका दिनमा दौडिदै पुग्नु पथ्र्यो विद्यालय। अहिले पनि दौडाएकै छ जिन्दगीले’—लजालु युवतीकोझैं मुसुक्क मुस्कुराउँदै सुनाए।

छिनछिनमा बजिरहन्थ्यो उनको फोनको घन्टी। अस्पतालमा बिमारीका लागि रगत चाहिँदा होस् वा कसैलाई अन्य समस्या पर्दा किन नहोस् खोजिहुन्छ तिनै काजी रतन कठायतको। त्यसैले त उनको मन मान्दैन चुपलागेर बस्न। छैनन्, परिवारलाई समय पनि दिनसकेका। बिस्तारै अभ्यस्त भैसकिन उनकी जहान पनि। छैन, अचेल पहिलेको जस्तो कुनै गुनासो। शायद सोचिहोलिन अब गुनासो गर्नुको कुनै अर्थ छैन्।

सेती नदीमा पौडी खेल्दा झण्डै सिद्घिसकेको थियो जिन्दगीको लिला। कसैले देखेर हत्तनपत्त निकाले नदीबाट। एक दिन नदी किनारमा राखेका लुगा अचानक नदीमा खसेर बग्दै गए किंकर्तव्यविमूढ बनेर हेरिरहे। पछि दाइले आफ्नो गन्जी र कट्टु लगाउन दिएर घर ल्याए। उनले दाइ उत्तम र दीपकले निभाएको जिम्मेवारीबाट पाठ सिके। गाउँ समाजमा औंचोपैंचो, मेलमिलाप र सामाजिक सद्भावले प्रेरित तुल्यायो।

डोटीबाट २०४५ सालमा एसएलसी पास गरी कैलाली क्याम्पसमा अध्ययनरत हुँदै गर्दा तत्कालीन व्यवस्थाका बिरुद्घ नारा लगाउन थाले। प्रशासनको आँखाको तारो बने। फलस्वरुप पुलिसले पक्रेर लग्यो। ४५ दिन जेल बसे।

अरुको दुःख र पीडा देख्दा भित्रैसम्म पोल्छ। निकै भावुक भैदिन्छ मन। त्यही मनले समाज सेवाको गोरेटो देखायो। तरुण दलको सदस्यसमेत रहेका रतनले सक्रिय राजनीति छोडेर लागे सामाजिक सेवामा। २०५४ सालमा २५ वर्षको उमेरमा बालसंगठनको अध्यक्ष बने। २५ जना अनाथ बालबालिका राखेर बालगृह सञ्चालन गरे। देशमा द्वन्द्व चर्किदै गयो। अर्कोतिर जिल्लाप्रशासनले सिफरिस गरेर पठाएका अनाथ बालबालिकाको संख्या बढ्दै जान थाल्यो। ९० जनालाई पालनपोषण गरी शिक्षा दिनुपर्ने भयो।

त्यतिबेलै निर्धाको दैव सहारा भनेझैं भेट भयो स्वीस नागरिक ओलिभरसँग। जसले बालगृह सञ्चालनका लगि सल्लाह सुझाव मात्र दिएनन्। दिए चार लाख नगद पनि। सोही पैसाले अघि बढ्यो बालगृहको भवन निमार्ण कार्य। १२ वटा सटर बनाए। सटर भाडामा लिनेसँग एडभान्स (अग्रिम)मा पैसा लिए। भाडाबाटै उठेको रकमले ती अनाथ बालबालिकाको पालन पोषण गर्न राहत मिल्यो। तिनै बालबालिकालाई मध्यनजर गरी विद्यालय खोले। जहाँ शुल्क तिरेर बाहिरका विद्यार्थीले पनि पढ्न पाउने निर्णय गरी गुणस्तरीय शिक्षा दिन थालियो। कार्यसमितिका सदस्य सबैले चन्दा उठाए। बजारमा दाल चामल मागे। उनी ती संघर्षका दिन र कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूको योगदान सम्झिरहन्छन अहिले पनि। ती बालिबालिका मध्ये कतिपयले अहिले पनि फोन गरिरहन्छन्।

समाज सेवामा दत्तचित्त भएर लागिरहेका सबैका प्रिय कठायत यतिखेर आफ्नो प्यानल घोषण गरी नवजीवन सहकारी संस्थाको अध्यक्षका लागि उमेदबार बनेका छन्। उसो त यसअघि पनि उनले अध्यक्ष बनेर एक कार्यकाल चलाइसकेका हुन्। ‘फेरि पनि अध्यक्षका लागि के को मरिहत्ते हो काजी’– भेटका क्रममा ठाडो प्रश्न तेस्र्याएँ। सालिन ढंगले उनले उत्तर दिए–‘पहिलो कार्यकाल नीति नियम बनाउनमै व्यतित भयो। त्यसपछिको चुनावमा हार बेहोर्नु पर्‍यो। यसपटक त्यतिखेर अधुरा रहेका कामलाई पूर्णता दिन र केही नयाँ कामको सुरुवात गर्न हो मेरो उमेदवारी। पदप्रतिको त्यस्तो मोह विलकुल हैन। एकपल्ट आफूले विगतमा गरेका योजनालाई पूर्णता दिई उदाहरणीय कार्य गर्ने सोच पलाएको हो। संस्था र शेयर सदस्यको हकहित र उन्नतिका योजनाका खाका छन्, मसँग तिनलाई कार्यान्वयन गर्न पाए हुन्थ्यो भन्ने चाहना हो।’

२०५९ सालदेखि कार्यसमितिमा रहेर काम गरेका कठायत आफ्नो ३ वर्षे कार्यकालमा नेपालको सहकारी ऐनसँग बाझिएको यसको विनियमलाई व्यवस्थित गरी शेयर सदस्यका लागि सहकारी हितकोष बनाएको कुरा बताउँछन्। ‘त्यतिखेर शेयर सदस्यलाई ३० हजारसम्म बिमारी खर्च दिने। जटिल प्रकृतिको रोग लागेको छ भने १ लाखसम्म उपलब्ध गराउने र सुत्केरीलाई सुत्केरी स्याहार खर्च दिने कार्यक्रमसमेत ल्याइयो’—उनले विगत सम्झिदै सुनाए। 

वर्तमान कार्यसमिति सदस्य उपप्राध्यापक जनक जोशी बताउछन्,‘उनले शेयर सदस्यलाई उत्पादन क्षेत्रतिर जोडेर बजारीकरण गर्ने सहकारीको अवधारणलाई अगाडि बढाउन खोजे। शेयर सदस्यहरूमध्येमा पनि किसानलाई लक्षित गरी उत्पादनमा जोड दिने हिसाबले सुफत मूल्य पसलको कन्सेप्ट ल्याए। भ्यालु चेक गर्ने कन्सेप्ट ल्याए र साधारण सभाबाट पारित पनि भयो। तर, त्यो चुनावी साधारण सभा थियो। उनी चुनाबमा हारे। त्यो कार्यान्वयन हुन पाएन।’

संस्था बनाएको शेयर सदस्यले नै हो भन्ने कुरा राम्ररी बुझेका छन्, उनले। त्यसैले उनको अबको योजना रहेको छ, कम मूल्यमा शेयर सदस्यका छोराछोरीलाई गुणस्तरी शिक्षा दिलाउन संस्था मार्फत् नै कैलालीमा विद्यालय सञ्चालन गर्ने र निजी अस्पतालले ढाड सेकिरहेको वर्तमान स्थितिमा एउटा गतिलो अस्पताल सञ्चालन गर्ने। अनि सरकारसँग सहकार्य गरेर किसानका लागि रसायनिक मलको फ्याक्ट्री खोल्ने।

परिवार नियोजन संघ, रेडक्रस, बालसंगठन, क्रिकेट संघजस्ता करिव एक दर्जन जति संघसंस्थामा रही काम गरिसकेका एक अनुभवी समाजसेवीका योजना सफल हुन्। राजनीतिक दलका चुनावी नाराजस्ता नबनुन् ती योजना। बोलेका कुरा पूरा गरी अझैं लोकप्रिय बन्न सकुन, उनी। सफलताको शुभकामना।

प्रकाशित मिति: : 2022-02-28 08:08:00

प्रतिकृया दिनुहोस्

    2072 सालमा आफ्नो निर्णय मा संस्था को सबै भन्दा तल्लो तहको कर्मचारीको हितको लागि पायको सहुलियत त काट्ने अनि जहानियाँ राणा हरु जस्तै गरि अफिस आउदा पनि मदिराले मातेर नानाभाँती गर्ने निडर लिडर हो उहाँ

    • 7 महिना अगाडि
    • Ramita shahi