म्यादी प्रहरी बन्ने कसैको रहर, कसैको बाध्यता [भिडियो]

नेपाल प्रहरीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाइसकेको छ।

जसअनुसार आइतबारदेखि काठमाडौंलगायत उपत्यकामा म्यादी प्रहरी भर्नाको आवेदन दिनेको भीड लागिरहेको छ। 

निर्वाचन सुरक्षाको लागि हरेक वर्ष सरकारले म्यादी प्रहरीको भर्ना खुलाउने गर्छ, जहाँ युवालगायत विभिन्न पेशामा आवद्ध मानिसहरुले आवेदन दिने गर्छन्।

जसमध्ये केही मानिस पैसा कमाउने बाध्यता त केही फुर्सदको सदुप्रयोग गर्नका लागि म्यादी प्रहरीमा जाने गर्छन्।

त्यसैगरी म्यादी प्रहरी बन्ने चाहानामा  सामाखुशीकी २६ वर्षीया विमला बयरकोटी आइतबार दिउँसो महानगरीय प्रहरी परिसर, टेकुमा म्यादी प्रहरीको आवेदन भर्न पुगिन्।

पेशाले सेक्युरिटी गार्ड उनी भनेको जस्तो काम र तलब नपाउँदा आफूलाई बेरोजगाार बताँउछिन्।

आफूले गरिरहेको काममा असन्तुष्ट रहेकी उनी म्यादी प्रहरीको भर्ना खुल्नु सुनौलो अवसर सम्झिन्छन्।

‘अहिले गार्डको काम गर्छु, तर धेरै दुख छ। दिनभरि उभिनुपर्छ तलब थोरै आउँछ, परिवार पाल्नै गाह्रो,’ उनले भनिन्,‘म्यादीमा गयो भने अलिकति पैसा होला भनेर आएको नि।’

म्यादी प्रहरी बन्ने आफ्नो रहर नभए बाध्यता बएको बताउँदै उनी भन्छिन्, ‘परिवारको लागि यहाँ आएकी हुँ।’

त्यस्तै सार्वजनिक सवारीमा सह–चालिकाकाे काम गरिरहेकी राधाकुमारी सुनार पनि म्यादी प्रहरीका आवेदन दिनकाे लागि प्रहरी कार्यालय पुगेकी छिन्। उनी पनि हाल गरिरहेकाे कामप्रति सन्तुष्ट नभएरै म्यादी प्रहरीकाे लाइनमा पुगेकी हुन्।

धुलिखेल–बनेपा रूटमा चल्ने गाडीमा उनले सह–चालककाे रूपमा काम गर्दै आएकी छिन्।

‘दिनभरि गाडीमा कराइरहनुपर्छ तर कमाइ नै हुँदैन,’ निराश हुँदै उनले भनिन्,‘दिनभरि करायो दक्षिणा हरायो।’ म्यादी प्रहरीमा जागिर पाए परिवारको अवस्था सुध्रिने उनकाे आशा छ।

सोलुखुम्बुका डमरसिहं राई तीन वर्ष साउदी बसेर आए। पैसा कमाउनका लागि विदेशिएका उनी नेपाल आउँदा रित्तो हात फर्किए। ‘खाडी मुलुकमा कहाँ पैसा हुँदो रहिछ र’ उनले भने,‘चर्को घाममा काम गर्न सिकेँ।’

त्यसाे त उनी एसएलसीसम्मकाे अध्ययन सकेर विदेश गएका हुन्। तर, माथिल्लो पहुँचमा आफ्ना मान्छे नभएका कारण बेराेजगार हुनु परेकाे उनकाे गुनासाे छ।

‘मैले जागिरको लागि सघंर्ष नगरेको होइन तर असफल भएँ’ उनले भने,‘जहाँ पनि आफ्नै मान्छे चाहिने रहिछ।’ आफूले गर्न चाहेको जागिर नपाएपछि बाध्यताले म्यादी प्रहरीमा आउनु परेकाे उनी बताउँछन्।

‘बेरोजगार बसेर मात्र हुँदैन काम गर्नु पर्‍याे। त्यसैले जागिर पाइने आशमा म्यादी प्रहरी बन्न आएँ,’ उनले भने। आफू म्यादी प्रहरीमा छनोट भए काम गर्न सक्ने उनको विश्वास छ। 

त्यस्तै थानकोटका ४६ वर्षका राजदीप क्षेष्ठ पनि म्यादी प्रहरीमा आउनु बाध्यता भएको बताउँछन्।

हिजोअस्ति खेतीपातीमा काम गर्ने उनी अहिले बेरोजगार छन्। ‘गोलभेडा खेती गर्छु तर अहिले बरोजगार छु। त्यसैले प्रहरी बन्न आएँ’ उनले भने।

म्यादी प्रहरीमा आवेदन दिन आएका उनमा काममा खट्न सक्ने हिम्मत छ। ‘खेतमा काम गरेको मान्छे हुँ, जहाँ पनि खट्न सक्छु,’ उनले भने।

त्यस्तै २२ वर्षका राजन सिङ्खडा देशको सेवामा खट्न रुचाउँछन्। त्यसैले उनी म्यादी प्रहरीमा आवेदन दिन धादिङबाट आए। देशलगायत समाजको सेवामा काम गर्न चाहने उनी पूर्व म्यादी प्रहरी हुन्।

उनलाई जागिरमा कुनै चासो छैन। र, देशका लागि काम गर्न चाहन्छन्। ‘देशको सेवा गर्नु नै मेरो धर्म हो,’ उनले भने। देशकै सेवामा जीवन बिताउन चाहने उनी प्रहरी बन्न तयारीमा छन्।

‘प्रहरी बन्न लिखित परीक्षा दिइसकेँ, अब रिजल्ट आउँन बाँकी छ,  उनले भने,‘प्रहरीमा नाम निस्कियो भने देशको रक्षा गर्नेछु।’ 

प्रकाशित मिति: : 2022-03-21 21:45:00

प्रतिकृया दिनुहोस्