नेकपा एसले झापाका १५ वटै स्थानीय तहमा उम्मेदवारी दिने,ओली गुटलाई निमिट्याम्मै पार्ने !

सन्ताेष विष्ट

बिर्तामोड

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले झापामा संगठन सुदृढीकरणसँगै आगामी स्थानीय तहको निर्वाचनको तयारी थालेको छ। ओली गुटलाई निमिट्याम्मै पार्ने गरी झापामा सम्मानजनक उपस्थितिमा पार्टीलाई ल्याउने दावी गरेको छ। 

पार्टीले  बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गर्दै संगठन सुदृढीकरणसँगै आसन्न स्थानीय तहको निर्वाचनको तयारी थालेको जनाएको हो। झापामा पार्टीले आफ्नो गतिविधि र क्रियाशीलता बढाएपछि ओली गुटलाई दिनदिनै ठुलो धक्का लागेको पार्टीको ठम्याई रहेको छ। 

पार्टीले झापामा आफ्नो उपस्थितिलाई बलियो र सशक्त पार्दै लगेपछि धेरै एमाले भित्रका इमानदार र प्रस्ट सोच भएका कार्यकर्ता पार्टीमा लामबद्ध भएको अध्यक्ष बेदराज रेग्मीले बताएका छन्। 

पार्टीले झापाका १५ वटै पालिकामा इन्चार्ज, भातृ संगठन, मोर्चाका इन्चार्ज, संघीय इकाई र प्रदेश इकाईका संयोजक र सचिव तोकेको जनाएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विशेष तयारीका लागि ११ सय जनाको जिल्ला प्रचार प्रसार कमिटी समेत गठन गरेको पार्टीले जनाएको छ भने जनबर्गीय संगठनसहित गरेर ७ हजार ४८ जना  सदस्य रहेका छन्।  

पार्टीले गत चैत्र १४ गते झापा जिल्ला कमिटीको चौथो पूर्ण बैठकले गरेका विशेष निर्णय सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको हो।  झापाका १५ वटै स्थानीय तहमा पार्टीले उम्मेद्वारी दिने अध्यक्ष रेग्मीले बताए। उनका अनुसार पार्टीले २ सय ५१ सदस्यीय झापा जिल्ला कमिटी निर्माण गरेको छ। 

पार्टीको केन्द्र तथा प्रदेशको कार्ययोजना अनुरुप संगठन सुदृढिकरण तथा निर्वाचनको अभियानको तयारीका लागि सबै शक्ति केन्द्रित गर्दै जाने,  चुनावका लागि आवश्यक वार्ता, संवाद, तालमेल, गठबन्धन गर्ने र गठबन्धनमा रहेका दहरुबीचको साझा सहमति कायम गर्नका लागि जिल्ला अध्यक्ष वेदराज रेग्मीको संयोजकत्वमा समिति गठन गरेको जानकारी दिएको छ। 

समितिले केन्द्रीय स्तरमा हाल कायम रहेको गठबन्धनलाई जिल्ला, पालिका र वडास्तरसम्म कायम राखेर लैजान छलफल र संवाद थालेको छ। पार्टीले जिल्लामा एक्लै चुनावी मैदानमा जान सक्ने सामाथ्र्य राखे पनि आजको आवश्यकता, उपस्थिति र समन्यायका आधारमा र समुचित सहभागितामूलक तालमेलको पक्षमा रहेको अध्यक्ष रेग्मीले स्पष्ट पारेका छन्। 

पत्रकार भेटघाटमा झापा जिल्ला प्रचार विभाग प्रमुख तीथ सिग्देल, उपसचिव बिपी भट्टराई, जिल्ला सदस्य सानुकुमार लामालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-04-02 06:16:00

प्रतिकृया दिनुहोस्