ए सरकार ! भ्यूटावरमा टमाटर फल्छ कि आलु ?

भौगोलिक, प्राकृतिक, जैविक, धार्मिक, भाषिक, सांस्कृतिक एवं ऐतिहासिक दृष्टिकोणले धनी हामी विकासको नामले भने पिछडिएका छौं। खोलानाला त्यसै बगेर खेर गइरहेका छन्। भने, वनजंगलमा भएका बिभिन्न जडिबुटीहरु चिन्न नसकेर नष्ट भइरहेका छन्। बगिरहेका खोलानालाहरुलाई मात्र सदुपयोग गरेर केही विद्युत् निकाल्न सक्यो भने देशले केही वर्षमै आफ्नो विकासको स्वरूप फेर्ने थियो। खेर गएका जडिबुटीहरु संकलन गरेर औषधि बनाउन सकेको भए देशको आर्थिक वृद्धिदर बढ्ने साथै विकसित देशमा गनिने थियो। अफसोस यस्तो बुद्धि न हाम्रा देशका राजनेतामा छ, न त जनतामा।

कुनै पनि देश विकसित हुनलाई त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार, कलकारखानाको पहुँच उच्च हुनुपर्छ। तर, हाम्रो देशमा पार्क अनि भ्युटावरको विकास उच्च भइराखेको छ। विकासको नाममा त केवल आजभोलि भ्युटावर मात्र भइरहेका छन्। विश्वको उच्च शिखर सगरमाथा अनि ८ हजारभन्दा उच्च १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन्। नेपाल एक पहाडी परिवेशमा अवस्थित देश हो, त्यहाँ भ्युटावरको आवश्यक नै पर्दैन। तर, बुद्धि र भिजन नभएकाहरुले धमाधम भ्युटावर बनाउँदैछन्।

अरू देशको विकासको कुरा गर्ने हो भने समुद्रमुनि र माथि घर तथा होटेल बनाइएका छन्। चन्द्रलोकमा मान्छे पुगिसक्यो। तर, हामीले धर्तीमा हुने काम, जमिनले थाम्ने ठाउँमा सडक बनाउन सकेका छैनौं। बिजुली निकाल्न सकेका छैनौं। जलस्रोतको धनी देशमा राम्रो चाँजोपाँजो मिलाएर विकास गर्ने हो भने चाँडै विकासको मुहार फेरिने थियो। तर, सरकार भ्युटावर, पार्क, कभटहल बनाउनमा व्यस्त छ।

नेपालमा यस्तो टावरको आवश्यक नै छैन। नेपाल एक पहाडै–पहाडले भरिएको सुन्दर देश हो। एउटा पहाडको चुचुरोबाट नै कैयौँ किलोमिटरसम्मको दृश्य अवलोकन गर्न सकिन्छ।

सायद अनावश्यक यस्तै नक्कली  विकासको नाममा यस्तै संरचना खडा गरेर युवाहरूलाई खाडीमा पसिना बगाउन बाध्य बनाएको हो। शिक्षाको नाममा भवन मात्र स्वास्थको नाममा भवन मात्र, नेपाल जस्तो उच्चपहाडी देशमा यसलाई अनावश्यक खन्ने भत्काउने अर्धज्ञानको उपज हाे, बाहिर टाईफिटिङभित्र जूम्राको मिटिङ।

भ्युटावरबाट के देखिन्छ ?

हो, भ्युटावरबाट भ्युटावरभन्दा अग्ला पहाडहरू देखिन्छ, जुन पहाडको बीचमा दु:खीराम काकाको भैँसीगोठ छ। दु:खीराम काकाको भैँसीगोठ हेर्न भ्युटावर उक्लिनु पर्दैन। अरू के देखिन्छ भ्युटावरबाट ? गरीबका झुपडीहरू देखिन्छ। स्कुल जान नसकेर बारीमा खेल्दै गरेका केटाकेटी देखिन्छ। भोकैनांगै हिँडेका निमुखाहरू देखिन्छ। बेरोजगार युवाहरू गफ गरिरहेको देखिन्छ। पुरानो स्कुलको भत्किनै लागेको छानो देखिन्छ। पहिरोले बगाएको हेल्थ पोष्टको भग्नावशेष देखिन्छ। हो, धेरैथोक देखिन्छ भ्युटावरबाट तर देश झलमल्ल र विकास भएको देख्न कयौँ वर्ष कुर्नु पर्नेछ।

गणतन्त्रवादीहरुको विकास भनेको पार्क, गेट र भ्युटावर नै रहेछ! के यही हो, हामीले खोजेको गणतन्त्रमा विकास ? के यसले परनिर्भरताबाट आत्मनिर्भरता बनाउछ ? के यही कुराले नेपाल र नेपालीलाई समृद्धि बनाउछ ?

राजा महेन्द्र र वीरेन्द्रको पालामा खोलिएको उद्याेग कलकारखाना बेचिखाने, नेपालका नदीनाला बेचिखाने ! नेपालको सीमानामा पर्ने जमिन बेचिखाने ! नेपाल को नागरिकता बेचिखाने ! ८० लाख नेपालीलाई अरबको खाडीमा सस्तो र जोखिमपूर्ण काममा बेचिखाने ! अझै बेच्ने क्रम जारी छ।भारतको कमिसनमा कृषि नीति नै बेचिखाने ! नेपालमा उत्पादन नगर्ने र गर्न नदिने र भारतीय खाध्यन्न र अरु उत्पादन भित्र्याउने !

शिक्षा, स्वास्थ, पिउनेपानी र प्रत्यक्ष आमजनताका जनजिबिकामा लगानी नगर्ने भ्रष्ट र अपराधीहरुसँग समृद्धि र सुसासन खोज्ने हामी नेपाली कस्ता ? अब यही चुनाव हो, यस्ता धुन्धुकारीहरुलाई पत्ता साफ पार्ने। होशियार नेपाली।

यदि मुहान नै फोहोर छ भने सुनको धारा जोडे पनि पानी त फोहोर नै आउँछ। अर्थात् जुन पार्टीको जो व्यक्ति प्रधानमन्त्री र मन्त्रीहरु बने पनि जवाफदेहिता, पारदर्शीता, योग्यताक्रम (Right man right place, reward & punishment) हुँदैन भने मुलुकमा समृद्धि र सुसासन कहिल्यै हुँदैन ! जो प्रधानमन्त्री र मन्त्रीहरू बने पनि देश र जनताको हितमा काम गरेको भए आज देश विकासले फड्को मारिसक्थ्यो !

देशमा परिवर्तनको आभास मिल्थ्यो। तर, बिडम्बना राज्य सत्तामा बस्दै देश चलाउनेले पहिला आफू आफ्नो परिवार र आफ्नो पार्टीको हितमा कुकर्म गर्न थाले र गरे ! देश र जनताको हितभन्दा छिमेकी राष्ट्रको दलालीमा रात/दिन दत्तचित्त भएर क्रियासिल हुन थाले र त नेपाल र नेपालीको हालत दिनानुदिन नाजुक र कहालीलाग्दो छ र हुँदै आएको छ।

मैले त्यसै भिजन बिनाको नेताहरु डिजाइन बिनाको पार्टीहरुले गर्दा देश डुबिरहेको छ। त्यसै भनेको होइन नि। देश भरी तीन सय वटा भ्युटावर बन्दै छन्। यो भ्यु टावार हेर्न जनताको आयस्रोत हुनु पर्छ कि पर्दैन ? आयस्रोत बिनाको भ्युटावर चल्ला र ? मलाई चाहिँ शंका छ है। राज्यको लगानी चाहिँ स्वाहा नहोस्, बालुवा पानि खनियाए जस्तो।

नेपाली जनताको आयस्रोत भए पो अनि कम्तिमा हप्तामा एकपटक यो भ्युटावर हेर्न जान्छ। अनि राजाश्व संकलन हुन्छ। तर, नेपाली जनता अहिले गाँस, बास र कपासको लागि संघर्ष गर्दैछ। यो लगानी गर्न नेपालको मात्रै  पैसा गएको छैन, यहाँ विदेशी सहयोग पनि लगानी भएकाे छ। अन्दाजी यो तीन सय भ्यु टावर बनाउन कति लागत लाग्यो होला ? याे तीन सय भ्युटावरको विकल्पमा दुईदेखि तीन वटा उद्योग खोलेको भए त्यसबाट नेपाली जनताको लागि रोजगार सिर्जना हुने थियो। त्यो तीन वटा उद्योगमा कम्तिमा तीन सय देखि ५ सय नेपाली जनताले रोजगार पाउने थिए। त्यसमा फाइदा त्यो ५ सयको परिवारको गाँस र कपास सुरक्षित हुने थियो।

उता देशलाई आर्थिक मजबुतको लागि सहयोग पुग्ने थियो। नेपालमा प्रश्वस्त उद्योग, कलकारखाना खोलेपछि नेपाली जनता आत्मनिर्भर साथै देशलाई आर्थिक वृद्धि हुने थियो। त्यसपछि नेपाली जनता खाडी मुलुकमा ६० डिग्रीको तापक्रमा जाने अत्य हुँदै जाने थियो। त्यसपछि भ्युटावर बनाउँदा चाहिँ मज्जाले आयस्रोत हुने थियो। खोइ त बुद्धि ?

याे भ्युटावरकाे उद्देश्य के हाे ? याे भ्युटावरमार्फत् बेराेजगारले राेजगार, शिक्षाबाट बञ्चितले शिक्षा अनि गाउँका अन्धकार जनताले उज्यालाे पाउँछन्। अब त्यसाे भए भ्रष्टहरुले कताबाट भ्रष्टचार गर्न पाईन्छ, त्यतै पैसा लगाउँछन त्याे पनि अरु देशबाट ल्याएकाे ऋणमार्फत्। ए छाेटे राजाहरु बरु शिक्षा, स्वास्थ्य, बिजुली, सडकलाई खुल्ला र सहज बनाउन याे भ्युटावरले उत्पादन चाहिँ के गर्छ ? खासमा। फाेटाे खिच्न र टिकटक बनाउन त नेपालमा प्राकृति सम्पदनै काफी छ त।

भ्युटाउवर बनाउने रोग नपुगेको कुनै पालिका छ, जस्तो लाग्दैन मलाई। यो भ्युटावरे विकास कुन वादभित्र पर्ने रहित ? विपिको समाजभित्र हो कि ? मदन भण्डारिको जनताको बहुदलीय जनवादभित्र हो कि ? प्रचण्डपथभित्र हो ? भ्युटावरमा टमाटर फल्छ कि आलु ? भ्युटावरले चामल फलाउँछ कि मकै ? भ्युटावरमा उपचार हुन्छ कि पढाइ ? भ्युटावरमा क्रिकेट खेल्ने कि फुटबल ? भ्युटावरमा चढेर गरीवका झुपडी हेर्ने त होला है ? न केही उत्पादन हुन्छ न कसैले सेवा सुविधा अथवा रोजगारी पाउँछ। यी टावर त यति फाल्टु बनेका छन् कि बनेको अर्को वर्ष टावरसम्म पुग्ने बाटो समेत हुँदैन। जनताको प्रतिनिधित्व गरेर पदमा पुगेका जनप्रतिनिधीहरुले जनतालाई प्रत्यक्ष फाइदा हुने र जनताले सहज रुपमा अनुभव गर्न पाउने विकास गर्नु मुख्य दायित्व हाेइन र ? पक्की पुल, पिच गरिएकाे बाटो र भ्युटावरबाहेक अरु पनि छन् है, स्थानीय तहले गर्नुपर्ने यसलाई अनुशरण गरौँ।

नेपालको विकास गर्न भूगोल, प्रकृति र जनताले साथ दिएका छन्। तर, यहाँको नेतृत्वले साथ दिएको छैन। जलस्रोतको धनी देशमा राम्रो चाँजोपाँजो मिलाएर विकास गर्ने हो भने चाँडै विकासको मुहार फेरिनेछ।

सडक बन्नु, होटेल बन्नु, हस्पिटल बन्नु र विश्वविद्यालय बन्नु विकास होइन। विकाससँग मानवीय मूल्य जोडिएको हुन्छ। यो भनेको उसको शिक्षा, स्वास्थ्य, संस्कार, संस्कृति, धर्म, रितिरिवाज, वातावरण, परिवार, सम्बन्धलगायत सबै जोडिएको हुन्छ।

देश धपक्क बल्यो। तर, जनताले परिवर्तनको महसुस गरेनन् भने त्यो विकास होइन। विकास भनेको हरेक पक्षबाट व्यक्तित्व विकास हो। हामी त विकासमा सडक निर्माण र बिजुली आपूर्तिको कुरो मात्रै गरिरहेका छौं, त्यो विकास होइन।

पढेर विकास हुने होइन, व्यक्तिको भिजन प्रष्ट हुनुपर्‍याे। धेरै पढ्नेले सक्ने र थोरै पढ्नेले नसक्ने कुरो होइन। बजेट बनाउँदा प्राथमिकता दिने विषय भन्ने निक्र्योल गर्न सक्नुपर्छ। नेपालको विकास हुनका लागि देशका हरेक वडा–वडामा पिच सडक सञ्जालले जोडौँ। हरेक घरमा बिजुली पुर्‍याऔँ, यति भए विकास हुन्छ।

यी दुई कुराको विकास भए हुम्ला–जुम्लामा उत्पादन भएको चिज काठमाडौंसम्म आइपुग्छ। ठाउँ–ठाउँमा बिजुली पुगेपछि उद्योगधन्दा जनता आफैंले सुरु गर्छन्। सडक बनेपछि सामान ओसारपसार आफैं गर्छन्। खेतबारी खाली हुँदैनन्।

सरकारको काम भनेको रोडम्याप बनाउने हो। सरकारले काम गर्ने होइन तर यहाँ सरकारले आफैं काम गरिरहेको छ। जनता चुप लागेर बसिरहेका छन्। विकासका लागि पहिलो खुड्किलो बाटो देखाउनु अर्थात् पिच सडक र दोस्रो आँखा देखाउनु अर्थात् बिजुली हो। यति बनाइदिएपछि सरकारले काम गर भन्नु पर्दैन। मान्छेले आफैं काम गर्छन्।

देशको विकास कसरी गर्ने भन्नेमा सांसद, मन्त्री, प्रधानमन्त्री तथा यससँग सरोकार राख्नेहरूबीच नै प्रष्ट भिजन (दृष्टिकाेण) हुन आवश्यक छ। नेतृत्ववर्गले प्रष्ट भिजन बनाएर कामप्रतिको प्रतिबद्धता जनाउनुपर्छ, जनतामात्र भएर पुग्दैन। ‘राइट म्यान इन राइट प्लेस’ भन्ने कुरा उनीहरूले थाहा पाउनुपर्छ। बाहिरी देश गएका विशेष मानिसहरूलाई देशभित्रै ल्याउनुपर्छ। आफ्नै देशमा काम गर्न रुचाउने खालको विकासको नीति सरकारले ल्याउनुपर्छ र सरकार भ्युटावर, पार्क बनाउनतिर अल्झिल्नु हुँदैन देश विकासको मेरुदण्ड मानिएको शिक्षा, स्वास्थ्य, यातायात, बिजुली उत्पादन गर्नतिर अग्रसर हुनुपर्छ।

(जुम्ला घर भएका लेखक बालगोपाल देवकोटा एभरेस्ट इन्जिनियरिङ्ग कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ्ग चौथो वर्षमा अध्यनरत विद्यार्थी हुन्।)

प्रकाशित मिति: : 2022-04-05 17:15:00

प्रतिकृया दिनुहोस्