सुनमाया र उम्मकलीहरू ‘ब्राण्ड एम्बेस्डर’ बनेकाे जुम्ला रारा अल्ट्रा म्याराथन

कर्णाली स्पाेर्टस् क्लब अब हाइ अल्टिच्युटमा दौडिने खेलाडी उत्पादन गर्ने ब्राण्ड बनिसकेको छ। गिनिज बुक अफ ओल्ड रेकर्डमा नाम लेखाउन सफल हरि रोकायाको छत्रटायाँमा हुर्किरहेको कर्णाली स्पाेर्टस् क्लब स्थापना भएदेखि सरोज शाहीको टिमले हाकिरहेको छ।

विश्वारुपा बुढा, सुनमाया बुढा, राममाय बुढा, रेजिना भण्डारी, सीता आचार्य, मञ्जु बुढालगायत विश्वप्रसिद्ध खेलाडी उत्पादन गरेको कर्णाली स्पोर्ट क्लबले अब संसारभरका खेलाडी जुम्लामा ल्याएर तालिम दिने हैसियत बनाउन सफल भएको छ।

देशभरबाट खेलाडीहरु जुम्ला आएर तालिम लिइरहेको र जुम्लाका खेलाडीले विश्वका थुप्रै देशहरुमा थुप्रैपटक मेडल जितेको देखेपछि जुम्लाको भूगोलसँग लोभिएर तालिम लिन आउनेको संख्या दिनानुदिन बढ्दो छ। केही समय अगाडि भारतबाट अएका खेलाडीले प्रशिक्षण लिएर बिदा भइसकेका छन्।

क्लबले खेलाडी उत्पादन गरेर दुनियाँभरका प्रतियोगितामा सामेल गराएर मेडल जितेर मात्रै प्रसिद्धि कमाएको छैन। बरु संसारभरबाट खेलाडी जुम्लामै बोलाएर हिमाली भेगको समुद्र मानिने रारासम्म ४९ किलोमिटर दाैडाएर मेडल दिन्छौं भनिरहेको छ। तर, संसारभरका एकसेएक खेलाडीहरुलाई उनकै आगनमा गएर हालकायल पारेर मेडल जित्ने जुम्ली खेलाडी घरै अगाडिको ट्रफी सितिमिति अरुको हात लाग्न दिदैनन्।

क्लबले यसरी मेडल दिने गरी आयोजना गर्ने कर्णालीकै सबैभन्दा ठूलो दौड प्रतियोगित हो, ‘जुम्ला रारा अल्ट्रा म्याराथन।’ जसको तेस्रो संस्करण आगामी चैत २६ गते हुँदैछ।

कोरोना कालले दुई वर्ष रोकिएको प्रतियोगिता तेस्रो संस्करणका लागि संचालन गर्ने जिम्मेवारीको गुरुङ्गो भारी उठाइरहँदा पनि नथाकेका अध्यक्ष शाहीको जीउभरी उमंग प्रसारित छ।

‘यो एक साहसिक पर्यटनलाई उत्प्रेरित गर्ने गतिविधि हो। जसले थकान नामको शब्दलाई नै गायब पारिदिएको छ,’ हँसिलो मुहारलाई उज्याले बनाउँदै उनले भने, ‘दुई वर्ष कोरोनाले गतिविधि गर्न नदिएपछि छट्पटिएका हामी कठिनाइको पहाडै जुत्नुपरे पनि जितौंला भन्ने साहस जुटेको छ।’

उनकाअनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। ठाउँठाउँमा खेलाडी सहभागिताको लागि निम्तो दिने, प्रसारप्रसारलाई तिब्र पार्ने, रुट क्लियर गराउने, स्वयंसेवक खटाउनेलगायत काम म्याराथनकै गतिमा अगाडि बढेका छन्।

यसले कर्णालीका अल्ट्रा रनरमा उत्साह थपेको क्लबका सहसचिव धनराज सुनारले बताए। ‘विद्यार्थीले पाँच किलोमिटरको दौड प्रतियोगितामा भाग लिनको लागि स्कुलले सहभागी गराएमा निःशुल्क सहभागी गराउने तयारी भइरहेको छ,’ उनले भने,‘१६ वर्षभन्दा माथिका खेलाडीले प्रवेश शुल्क तिर्नुपर्नेछ। ठाउँठाउँबाट प्रतियोगितामा सहभागी हुन्छौं, भनेर खबर आइरहेका छन्।’

विभिन्न देशका प्रतियोगितामा सहभागी भइ मेडल जितेका विश्वप्रसिद्ध खेलाडी सुनमाया लगायतले भाग लिँदा होस् या कहिले नाम नसुनिएकी उम्मकली बुढाहरुले कुर्ता सुरुवालमा दौडिदा होस् अल्ट्रा म्याराथनमा कर्णाली स्पोर्ट क्लबको गतिविधि कर्णालीको लागि माइलस्टोन बन्दै गएको छ। उनीहरु नै हुन यस प्रतियोगिताका ब्राण्ड एम्बेस्डर।

हरेक वर्ष वसन्तमा नयाँ पालुवा पलाएर थपिएका पातझैं क्षमतावान खेलाडी थपिदैछन्। प्रतियोगिताका कारण चैससम्म मस्त सुतेका जौँ का बिरुवा मसान्तपछि हर्लक्क बढेझैं खेलाडी बढिरहेका छन् भने पसाएका जौँ का बालामा हावा लागेर सुसाएझैं खेलाडी सुसाइरहेका धावक हरि रोकायाले बताए।

‘एउटा अल्ट्रा रनरको लागि आफ्नो जीवनकालमा यो भन्दा बढी खुसीको कुरा के होला ?,’ हिमाली चितुवाको गतिमा दौडिने उनले उही रफ्तारमै भने,‘अल्ट्रामा कर्णालीको भविष्य उज्जवल छ। बिहान पूर्वमा उदाएको सूर्यझैं चम्किएका खेलाडी देख्दा मन त्यसै चङ्गा हुन्छ। जुम्ला रारा अल्टा म्याराथनले सूर्यको काम गरिरहेको छ।’

खेलाडीको उत्साहको दायारालाई अझ फराकिलो बनाउने काम यसपाली कनकासुन्दरी गाउँपालिकाले गरेको छ। उसले अल्ट्रा रारा म्याराथनमा आफ्नो पालिकाका खेलाडीको लागि छुटै प्रतियोगिता गर्ने भएको वडा नम्बर १ का अध्यक्ष हरि भण्डारीले बताए।

‘म्याराथनमा सहभागी कनका सुन्दरीको खेलाडी प्रथम भएको खण्डमा उसले दोहोरो पुरस्कार हासिल गर्नेछ भने दशाैँ नम्बरमा आए पनि त्यो हाम्रो गाउँपालिकाको लागि प्रथम भएको मानिनेछ,’ उनले भने,‘यो छुट्टै पुरस्कारको व्यवस्थाले हाम्रो पालिकाबाट खेल क्षेत्रमा लागेकालाई उर्जा त दिनेछ नै नयाँ आउनेका लागि समेत उत्प्रेरक बन्नेछ।’

यसअघिका म्याराथनमा कनकासुन्दरी गाउँपालिकाका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए। भारतीय सेनामा कार्यरत दुर्गबहादुर बुढा पहिलो अल्ट्रा रारा म्याराथनका प्रथम खेलाडी हुन्। 

‘आगामी दिनमा हाम्रो देश र क्षेत्रको नामलाई संसारभर फैलाउने दियोजस्ता खेलाडीलाई प्रोत्साहन दिन जरुरी छ,’ वडाध्यक्ष भण्डारीले थपे,‘हाम्रो सानो प्रायसले कर्णालीको खेल क्षेत्र एक पाइलाअघि सर्दा पनि त्यो ठूलो उपलब्धि हुनेछ भने कर्णालीका खेलाडीले त चमत्कार गरिरहेका छन्।’

उनले भनेझैं जुम्ला रारा अल्ट्रा म्याराथनमा इतिहासका दुर्लभ रेकर्ड बनेका छन्। भने, आगामी दिनमा पनि अरु नयाँ–नयाँ रेकर्डहरुको चाँङ लाग्ने नै छ। जुम्ला रारा अल्ट्राम्यारथनको प्रथम र दोस्रो संस्करणमा क्रमशः सुनमाया बुढा र राममाया बुढा दुबै दिदी-बहिनी प्रथम हुनु दुर्लभ रेकर्ड भएको अध्यक्ष शाहीले बताए।

उनले भने,‘यसले नै कर्णालीलाई उत्साहको संचार गराइरहेको छ। म्याराथनमा सहभागि बन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीलाई कर्णालीको जुम्ला हुँदै मुगुसम्म दौडाएर भविष्यको सुन्दर गोरेटो निर्माण गरिरहेको छ।’

तर, प्रतियोगिता नजिकिँदै गर्दा केही निराशा पनि थपिएका छन्। अन्तिम हावरमा हवाई उडान नहुँदा नाम दर्ता गरेका १४ जना विदेशी खेलाडी काठमाडौंमै रोकिएका छन्। यदि खेलाडी जुम्ला पुगाउन नसके निकै दुखलाग्दो दृश्य देखिने उनको गुनासो छ।

पर्यटक मात्रै बोक्ने भन्दै सबै विमानहरु सबै नाफाका लागि पूर्वतिर उडान भर्न थालेपछि विदेशी खेलाडीलाई म्याराथनमा सहभागी हुन असहज भएको हो।

‘जुम्लामा चल्ने विमान कम्पनीसँग सम्पर्क गर्दा उडान गर्न नसकिने भनिरहेका छन्,’ उनले भने,‘यो अवस्थामा खेलाडी जुम्ला पुर्‍याउन समस्या भइरहेको छ।’

जुम्लामा सीता, तारा, समिट र नेपाल एयरलाइन्सको नियमित उडान गर्दै आएका थिए। तर, केही दिनदेखि सबै विमान पूर्वतिर गएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका निमित्त प्रमुख ध्रुव पाण्डेले सबै जहाजले दुई/चार दिन जुम्ला नचल्ने जानकारी दिएका छन्। उनले भने,‘आइतबारदेखि कुनै पनि उडान हुने छैन। चार्टर फ्लाइटको पनि तालिका आइपुगेको छैन।’

अध्यक्ष शाहीले विदेशी खेलाडी कताबाट ल्याउने भन्ने विषयमा छलफल भइरहेको बताए। ‘सन् २०१९ मा विदेशी खेलाडी म्याराथन सुरु हुनु एक साताअघि नै जुम्लामा पुगेर अभ्यास गरेका थिए,’ उनले भने, ‘काठमाडौंमा रहेका विदेशी खेलाडी ल्याउन जहाजहरुलाई उडानका लागि पहल भइरहेको भए पनि कुनै सुनुवाइ भएको छैन।’

तथापि, तुफानी वेगमा म्याराथनको तयारी चलिरहेको छ। हाल स्वयंसेवकहरु मुगु खण्डको म्याराथन रुटमा जमिरहेको हिउँ पन्छाउने तयारी गरिरहेका छन्। म्याराथनमा सहभागी हुन त्रिभुवन आर्मी क्लबको टोली आउँदैछ। म्याराथनमा रुकुम, कालिकोट, धनगढी, सोलुखुम्बुदेखिका खेलाडीले नाम दर्ता गराइसकेका छन्।

प्रकाशित मिति: : 2022-04-05 18:56:00

प्रतिकृया दिनुहोस्