
साकार सापकाेटा
जर्मनीमा एउटा भनाइ छ,‘हरेक शोषितको शासक बन्ने चाहना हुन्छ।’ यही भनाइलाई चरितार्थ गर्दै राजतन्त्रका कथित शोषितहरु बर्तमानमा समाजवादको माला जपेर निरंकुशता लादिरहेका छन्। विलासी जीवन र कार्यशैली शासकको रोजाइमा परे। निमुखालाई शोषण गरिरहे। राणातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा विभिन्न व्यवस्थाहरु फेरिइरहे, कानुनहरु बनिरहे। व्यवस्थापिकाका सांसददेखि न्यायपालिकाका प्रधानन्यायाधीश समेतले शासन सत्ताको बागडोर सम्हाले तर अँह ! फरक देखिएन। समृद्धि आउला भनेर कुरिरहेका जनताहरुले उनीहरुको आशलाई साकार बनाउने शासक कहिल्यै पाएनन्। आखिर, यो सब हुनुमा दोषी के थियो त ? गरिबीको कारणले नपाएको शिक्षा या शिक्षाले हटाउन नसकेको सामाजिक असमानता ?
अध्ययनको सिलसिलामा वि.सं २०७७ सालतिर डोटी जिल्लाको एक गाउँमा पुग्दा गरिबी र शिक्षाकै सेरोफेरोलाई नियाल्ने मौका मैले केही हदसम्म भए पनि पाएको थिँए। तर, अनुभव भने विल्कुलै पृथक थियो। विकासको नाममा बिजुली मात्र पुगेको उक्त गाउँ तत्कालिन विकास क्षेत्रको अवधारणा रहँदा सुदूरपश्चिमको राजधानी दिपायलबाट खासै टाढा पर्दैन। तर, राजधानी नजिक भएर पनि गर्व गर्न लायक विकास खासै देखिएन। कारण त्यही गरिबी अनि अभाव। गरिबीले जानाजान आफ्नो जीवनलाई नै जोखिमको केन्द्रविन्दुमा राखिरहेका छन् (त्यहाँका मानिसहरु), अझ भनौँ अधिकांश किशोरीहरु।
सन्दर्भ: बालविवाह, सानै उमेरमा विवाह गर्नु हुँदैन भन्ने ज्ञान हुँदाहुँदै पनि प्रायजसो किशोरीहरु १४/१५ वर्षको उमेरमा विवाह गर्छन र बाध्यात्मक अबुझ बन्दै आफ्नो भविष्यलाई अन्धकारतर्फ धकेलिदिन्छन। त्यहाँको चलनअनुसार धेरैजसो विवाहहरु अभिभावकको अनुमति नलिइकनै स्वैच्छिक रुपमा गरिँदो रहेछ। कानूनी रुपमा उक्त समाज र परिवार सबै सचेत छन् तर पनि बालविवाहको दरमा खासै परिवर्तन आउनसकेको देखिएन। त्यसोभए सानै उमेरमा विवाह किन त ? यही प्रश्नको कौतुहलता मेटाउने क्रममा अध्ययनकै सिलसिलामा चिनजान भएकी त्यहाँकी एक शिक्षिकाको उत्तर मैले सामान्य रुपमा सोच्न सक्नेभन्दा धेरै फरक पाँए।
‘...यहाँका प्रायः पुरुषहरु १३/१४ वर्षको उमेरदेखि नै भारतमा काम गर्न जान्छन तर किशोरीलाई त्यसरी काम गर्न जाने अनुमति छैन। किशोरीहरु अरुको खेतीपातीको काममा त जान्छन तर यहाँ ज्याला दिने चलन छैन, सबैले 'पर्म' गर्छन। अभिवावकहरुको सोचाइ पनि उस्तै छ, छोरीलाई खर्चपर्च दिनु राम्रो होइन भन्ने। विद्यालय जाने पोशाकबाहेक उनीहरुले वर्षमा मुस्किलले दुई जोर कपडा मात्रै पाउछन, कहिले त त्यो पनि एक जोरमा सिमित हुन्छ। एकसरो कपडाले बढ्दो यौवनलाई छोप्न मुस्किल पर्दै जान्छ, अभावले पनि नछेक्ने सत्य भनेको शारीरिक विकास मात्र रहेछ। लाज ढाक्नको लागि भित्रिकपडा किन्न समेत पैसा हुँदैन। अब उनीहरुलाई समाजमा खुलेआम हिँड्न असहज हुँदै जान्छ, आफूसँगैका साथीले विवाह पश्चात गतिलो लगाएको, मीठो मसिनो खाएको देख्छन अनि एउटै विकल्प सोच्न बाध्य हुन्छन, भारतमा गएर पैसा कमाउन थालेका पुरुषसँग विवाह...।’
केही बेर छाएको सन्नाटालाई चिर्दै ‘...यो विवाह होइन सर, गरिबीले जन्माएको निर्विकल्पी सम्झौता हो।’... उहाँलाई बीचमै रोक्दै अर्को प्रश्न सोधेँ, के शिक्षाको कम्... ? ‘...प्राय किशोरी ९/१० कक्षामा पढ्दापढ्दै विवाह गरेको देखेको छु, आजभोलिको पाठ्यक्रममा ६/७ कक्षादेखि बालविवाह र यसको दीर्घकालिन असरको बारेमा समेटिएको हुन्छ। जानकार हुँदाहुँदै पनि गरिबीको अगाडि शिक्षा निरिह बनिदिदो रहेछ...’
मेरो प्रश्न पूरै नसुन्दै जवाफ आयो। म अवाक् भए। मेरो लागि त्यो झ्वाट्टै चित्त बुझाउन नसकिने अपत्यारिलो सत्य थियो, तर अर्को दिन पेशाले अ.न.मी दिदीबाट पनि मिल्दोजुल्दो जवाफ सुनिसकेपछि उक्त तितो यथार्थलाई स्वीकार्नुको विकल्प मसँग थिएन।
आफ्नो कर्मलाई निरन्तरता दिँदै, २३ वर्षको उमेरमा ४ सन्तानलाई जन्म दिइसकेकी एकजना दलित महिलाको घरमा अन्तर्वार्ताको लागि पुगेँ। म काठमाडौँबाट आएको व्यक्ति सायद केही गर्न सक्छ सोचेर होला उहाँले आफ्नो पीडालाई निर्धक्क पोख्न सुरु गर्नुभयो ‘...मैले ९ कक्षामा पढ्दापढ्दै १५ वर्षको उमेरमा विवाहगरे, कान्छो छोरा पेटमै हुँदा भारतमा वाचम्यानको काम गर्न गएका श्रीमानको मृत्यु भयो, त्यसबखत मलाई श्रीमानको मृत्युभन्दा पनि धेरै भोलिबाट आफू अगाडि उभिएको त्यो भयंकर नजरअन्दाज गर्न नसकिने गरिबीले शोक दियो। पैतृक सम्पतिको नाममा अंश पाएको आधा रोपनी जमिन पनि गत वर्षको भारी वर्षाले बगायो। आशा थियो पेटको बच्चाको जन्मपछि उसको पनि मासिक भत्ता आउँछ तर विडम्बना एउटै आमाबाट जन्मिएको २ भन्दा बढी सन्तानले भत्ता लिन नमिल्ने कानुनी व्यवस्था रहेछ। अभावमा पलाएको त्यो सानो आशाको त्यान्द्रो पनि चुँडियो। आम्दानीको श्रोत भनेको जेठी छोरीले विद्यालयबाट पाउने दलित छात्रवृत्ति र मैले भर्खरैबाट पाउन थालेको एकल महिला भत्ता मात्र हो। छरछिमेकतिर खेतीपातीको काम सघाउन जान्छु जसबापत केही अन्न दिन्छन, त्यसैबाट दैनिक गुजारा चलाइरहेको छु...।’
यति सुनाइसक्दा उहाँको आखाभरि आँशु टिलपिल गर्दै थियो। म कमजोर अनि निरिह थिएँ, मन रोयो तर केही गर्न सक्ने क्षमता मसँग थिएन। खोक्रो सान्त्वना दिने हिम्मत गर्न सकिनँ। वरिपरि आँखा घुमाएँ आधा शरीर पनि मुस्किलले ढाकेका स–साना छोराछोरीहरु छेउमै उभिएका थिए। चुपचाप थिएँ, मनभित्र सन्तापको हावाहुरी जोड जोडले चलिरह्यो। म निरुत्तर बसेको देखेर होला उहाँको अनुहारमा प्रष्ट देखिने अघिको त्यो आशाको चमक पनि मलिन हुँदै गयो, जुन कुरा मैले सजिलै महसुस गर्न सक्थ्येँ।
कामलाई विश्राम दिई आफ्नो गन्तव्यतर्फ फर्किरहँदा दुई वर्ष पहिले सोही जिल्ला जाँदा एकजना बुवाले भन्नुभएको यस्तै गरिबीको दुरावस्थालाई सँझे। पन्चायत कालमा प्रधानपन्च भएका छिमेकीको मृत्यु भएको रहेछ, उहाँको लगभग ६/७ वर्षको छोराले उक्त लासमाथि चडाएको पैसाको माला देखेपछि बेलुका आएर आफ्नो बुवालाई भनेछ, ‘...बाबा म पनि मर्छु नि है कत्ति धेरै पैसा पाइने रहेछ...।’ मृत्युको भय बुझ्न नसक्ने त्यो बाल अवचेतनभित्र जकडिएको गरिबीको भय कत्तिको पीडादायी थियो जो कोहिले पनि सजिलै अनुमान लगाउँन सक्छ।
ओहो! कस्तो बिडम्बना यो गरिबीको। एक्कासी मानसपटले गरिबीलाई निर्मुल पार्छु भन्दै जबरजस्ती लादिएका शासन व्यवस्थारुपी ती लोकतन्त्र र गणतन्त्रलाई सम्झियो, अनि सम्झियो संघीयतासँगै विकास भएको 'गाउँ गाउँमा सिंहदरबार'को नारालाई। हरेक गाउँमा सिंहदरबार पनि आयो, दरबारभित्र बस्ने दरबारीयाहरु रगत चुसेर मोटाएका उडुस जस्ता पोटिला पनि भए। स्थानीय निर्वाचनमा टिकट पाउँदा चाउरी परेका गाला र सेतै फुलेका दारी बोकेर विजयी भएका जनप्रतिनिधिहरुको आज त्यो परिवर्तित कालो कपाल र हृस्टपुस्ट शरीर बोकेर सरकारी गाडीमा हुँइकिँदा मनमनै सोच्दा हुन् 'क्या काइदाको रैछ यो संघीयता।’ अफसोच, जसको लागि कथित परिवर्तन र समृद्धिको नारा लगाइयो ती जनता न त मोटाउन सके न त त्यो समृद्धिकाे सिंहदरबारभित्र छिर्न नै।
वास्तवमा कस्तो उराठलाग्दो यथार्थ, असह्य अभावलाई जित्न नसकेपछि भारतमा रोजगारी खोज्न जानको लागि सदरमुकाम झरेका युवाहरु चढेको ट्रयाक्टरलाई त्यो अग्ला गगनचुम्बी सिंहदरबारले गिज्याइरहेछ। दरबारीया कालो कोटले ति लाज ढाक्न नसकी आधा शरीर उदांगो राख्न विवश गरिबीलाई झस्काइरहेछ। दृष्य उही, दु:ख उही, गरिबीले झस्काउँछ, अभावले तर्साउँछ। आफैलाई प्रश्न गर्छु,‘आशै आशको सास फेरी कसरी बाँच्लान मान्छेहरु ?’
अब तिमीले पुष्टि गर्नुपर्छ सरकार, तिमी जनताको करले व्यापार गर्ने व्यापारी होइनौँ भनेर। पाँच वर्ष पहिले बाँडिएका चुनावी घोषणापत्र पल्टाएर हेर। तिमी कहाँ चुक्यौ आफैलाई अनुभूति हुनेछ। जवाफ दिन तयार भएर बस। जनताले बुझ्न चाहेका छन् तिमीले यो देशलाई कुन समृद्धिको बाटोमा लैजान खोज्दैछौँ भनेर। साँच्चै नै अब परिपक्क हुने बेला आएको छ। नेपाली समाजमा कायम वर्गीय असमानता र धनी, गरीब बिचको फराकिलो खाडल पुर्नु छ। समावेशीता र संघीयता जनताकै हितको लागि छ भनेर प्रमाणित गर्नु छ। देशलाई समृद्ध बनाउनु छ। रोजगारीको अवसर यही सिर्जना गर्नु छ। आफ्नै देशमा उत्पादन बढाउनु छ। चुनौतीलाई अवसरमा परिणत गर्ने बेला आइसक्यो, होइन र ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया