६ दशक कटेका यी व्यक्तिको अन्तिम इच्छाः हुर्केका छोराछोरीसँग सास रहुञ्जेलसम्म माग्न नपरोस्

चितवनकी ७७ वर्षीय आशमाया तामाङ सकुञ्जेल काम गर्न चाहन्छिन्। त्यसैले उनी हाल काठमाडौंको सुन्धारमा बदाम बेच्ने गर्छिन्। ‘छोराछोरी पाएर पनि के हुँदो रहिछ र!’, उनले बिएल नेपाली सेवासँग दुख पोख्दै भनिन्, ‘आफैँले काम नगरी हुँदैन।’

उनलाई धेरै पैसा कमाएर राख्नु छैन, तर उनी बाँचुञ्जेल काम गर्न चाहन्छिन्। ‘धेरै पैसा कमाएर मलाई धनी हुनु छैन। हुर्केका छोराछोरीसँग मेरो सास रहुञ्जेलसम्म सकभर केही माग्न नपरोस्। मलाई दुई छाक खान धेरै किन चाहिने हो र’, उनले भनिन्।

आफूलाई धेरै काम गरेर पैसा थुपार्ने रहर नभएको तर मरिसकेपछि आफ्नो दाहसंस्कार राम्रोसँग होस् भन्ने अन्तिम इच्छा रहेको उनले बताइन्। ‘म मरेर गएपनि मेरो कारण कसैलाई दुख नपरोस्’, उनले भनिन्, ‘त्यसैले म बुढाे हड्डी खियाउँदै छु।’

६८ वर्षीय डम्मरकुमारी मोक्तानले काठमाडौंको नयाँ बानेश्वर चोकमा सागसब्जी बेच्न थालेको २० वर्ष भयो। उनको दैनिकी नै बनिसकेको छ, एकाबिहान उठ्ने र मुलपानी गएर सागससब्जी किनेर बेच्ने।

उनले बेच्ने ताजा र हरियो सागसब्जी किन्नेको भीड नै लागेको हुन्छ। कुनै बेला त उनी खाजा खानसमेत भ्याउँदिनन्। ‘आफूले गरेको मेहनतको फल पाउँदा खुसी लाग्ने रहिछ’, उनी सुनाउँछिन्। दिनमा सागसब्जी बेचेर उनी ३ हजार कमाउँछिन्। जसबाट उनले कोठा भाडा तिर्न र खान लगाउन पुर्याउँछिन्। ‘मलाई यो काम गरेर खान लगाउन पुगिरहेको छ’, उनले भनिन्, ‘काम गरे कसैसँग झुक्नु पर्दैन।’

सिन्धुपाल्चोकका ६७ वर्षका रामबहादुर तामाङले बौद्धस्थित जनकल्याण स्कुल छेउको पिपलबोटमा चटपटे, पानीपुरी र मिठाई बेच्न थालेको झन्डै ३३ वर्ष भइसक्यो। करिब ३५ वर्षअघि काठमाडौं आएका तामाङ दम्पत्तिले चटपटे बेचेरै गर्जो टार्ने गरेका छन्।

गाउँको खेतीले घर खर्च धान्न नसकेपछि उनीहरु कामको शिलशिलामा राजधानी आएका थिए। ‘गाउँमा खान लगाउन पुगेन, त्यसैले यता आएका हौँ’, उनले भने।

पानीपुरी, चटपटे बेचेर दिनमा हजार कमाउने उनलाई परिवार धान्न सहज भएको बताउँछन्। ‘हाम्रो सन्तान छैन, म र श्रीमती मात्रै छौँ। काम गरेर खान पाउँदा खुसी छौँ’, उनले भने, ‘सकुञ्जेल काम गर्छौँ।’

 रामबहादुर घिसिङले पनि काठमाडौंमा ‘ज्यामी काम’ गर्न थालेको ४५ वर्ष भयो। रामेछापको खड्देवी गाउँपालिका वडा नम्बर ४ का उनले यसबीचमा सयौँ घर बनाउन श्रम खर्च गरिसकेका छन्, तर जीवनभरि पसिना बगाए पनि उनलाई दुःखले पछ्याउन छाडेन।

२०३४ साल अर्थात् १७ वर्षको उमेरमा उनी पहिलोपटक काठमाडौं आएर काम गर्न थालेका हुन्। ‘काम गरेको यतिका वर्ष भयो, तर अझै दुखले साथ छोडेको छैन’, उनले भने, ‘अब मेरो मरण नै यही कामबाट हुन्छ होला।’

उनी बिहान ६ बजेदेखि बेलुकाको ६ बजेसम्म त कामैमा व्यस्त हुन्छन्। उनलाई काम गर्ने रहर त होइन, तर काम नगरे खान पुग्दैन। ‘मैले काम गरिनँ भने मेरो परिवार त भोक्कै हुन्छन्। त्यसैले मैले सकुञ्जेल काम गर्नुपर्छ।’

यस्तै मोरङकी तारा फुँयालले तरकारी बेच्न थालेको २२ वर्ष भयो। उनले यही तरकारी बेचेर न आफ्नो छोराछोरीलाई ‘मास्टर्स डिग्री’ पढाइन्। ‘मैले मेरो सन्तानलाई सागसब्जी बेचेर पढाएँ’, उनले भनिन्, ‘यो कामको माया लाग्छ, त्यसैले काम छोड्न सक्दिनँ।’

काम गरे कसैसँग डराउनु नपर्ने बताउने उनी आफ्नो ज्यान आफैँ पाल्न चाहन्छिन्। ‘६० वर्ष पुगिसकेको छु, अब कति पो बाँच्छु होला र! त्यसैले यही काम गरेर मर्न चाहन्छु’, विगत स्मरण गर्दै तारा भन्छिन्, ‘मलाई दुख हुँदा यो कामले साथ दियो।’ 

रोल्पा परिवर्तन गाउँपालिकाकी प्रेमकुमारी पुनले पनि सिस्नु र भाँगो (गाँजाको बोट) बाट अल्लो धागो र पोशाक उत्पादन गर्न थालेको २२ भयो।अल्लो पकाउनु, त्यसलाई चर्खाबाट धागो बनाउनु, अनि पोशाक तयार गर्नु नै उनको दैनिकी हो।

उनी कोट, स्टकोट, टोपी, पछ्यौरा, गलबन्दी, ‘पर्स’ र ‘स्कूल ब्याग’ लगायतका सामग्री बनाएर बेच्ने गर्छिन्। आफ्नो शरीरले सकुञ्जेल काम गर्नुपर्छ भन्ने सन्देश दिने उनी उमेरले ६० पुगिसकेकी छन्। तर काम गर्नमा भने फूर्तिली देखिन्छिन्। ‘बुढेसकाल त लाग्यो नी, तर काम गर्न पनि त छोड्न भएन नी!’, उनले भनिन्, ‘म मेरो काममा निकै खुसी छु।’

प्रकाशित मिति: : 2022-05-01 20:22:00

प्रतिकृया दिनुहोस्