यात्राः जहाँ छन् बुद्धका आँखा

शिबु छेत्री

सुकना (भारत)

'जहाँ छन् बुद्धका आँखा, स्निग्ध शान्त र सुन्दर, त्यहाँ छन् शान्तिको क्षेत्र'– शान्ति खोज्दै सुदूर युगोस्लाभियाबाट आएका मिलोनाभसित बौद्धमा एक शनिबार भेट भयो। झमक्क साँझ परेको थियो। बौद्ध स्तुपाको चारैतिर २० रुपियाँमा एउटा दियो बालेर मैले पनि आकाशतिर ढोगेर छेउमा राखिदिएँ। तर मिलोनाभले भने दियो बालेनन्। उनी भने बौद्धको फन्को लगाएर नै मनको शान्ति खोज्दै थिए, मैले पनि उनीसितै फन्को लगाउँदै उनको मन चोर्ने चेष्टा गर्न थालेँ।

आरम्भमा उनले पटक्क मन खोल्न चाहेनन्। दियो किनिदिने आग्रह गर्दै एकजना बालक मेरो छेउमा आयो। मैले केही नभनी पाँचवटा दियो किनेर बालकलाई नै बाल्न लगाएँ। त्यस दृश्यलाई परबाट मिलोनाभले हेरिरहेका थिए। दियो बालेर त्यो बालक भीड़मा मिसिएर दियो बिक्री गर्न लागेपछि बल्ल उनी खुलेर कुराकानी गर्न थाले। उनले युगोस्लाभियामा व्यापार गरेर करोड़ौं धन सम्पत्ति कमाएका थिए।

मिलोनाभले भन्न थाले– 'पत्नीले पहिलेदेखि नै नेपाल घुम्न जाऔ भनेर वाक्क पार्ने तर म भने नाइट क्लब र डिस्कोमा जीवनको आनन्द खोज्ने गर्थे। समय कति छिटो बितिरहेको थियो। सन् २०१० मा एउटा दुर्घटनामा पत्नीको मृत्यु भएपछि जीवनको गति नै परिवर्तन भयो। कमाएको धन सम्पत्तिले पत्नीलाई बचाउन नसकेपछि यसको कुनै अर्थ नरहेको बल्ल थाहा पाएँ। बिस्तारै सम्पत्तिको मूल्य नरहेको ज्ञान आयो। मनको शान्तिका लागि यता उता भौतारिरहेको थिएँ। एकजना मित्रले नेपाल जाने भए जाऔँ भने। नेपालको कुरो सुन्ने बितिक्कै पत्नीलाई सम्झिएँ। यसपल्ट नेपाल जाने मन बनाएँ। नेपाल २०१२ देखि आइरहेको छु।'

बौद्ध, स्वयम्भू, लुम्बिनीमा ६ महीना बसेर तिनी आफ्नो देश युगोस्लाभिया फर्किने गरेको पनि तिनले बताए। कोभिडले गर्दा गत दुई वर्ष २०२० र २०२१ मा तिनी नेपाल आउन सकेनन्। यसपल्ट बौद्धमा अझै एक महीना बसेर लुम्बिनी जाने तिनले जनाए। शनिवार नेपालमा सरकारी कार्यालय, स्कूल, कलेज, गैर सरकारी कार्यालयहरू बिदा हुँदो रहेछ, यसैले त्यो दिन बौद्धमा खुट्टा राख्ने ठाउँ थिएन। हामीले दुई फन्को लगाइसकेका थियौँ।

तेस्रो फन्को लगाउँदा मैले सोधें– 'पत्नीलाई कति माया गर्नु हुन्थ्यो ?' मिलोनाभ एकक्षण त बोल्न पनि सकेनन्। केही क्षण नबोली उ मसित परिक्रमा गर्दै थिए। तेस्रो फन्को समाप्त हुन लाग्दा उनले मुख खोले, 'भुल्न कहाँ सकिँदो रहेछ र! पत्नीलाई भुल्न अनि मनको शान्तिकै लागि नेपाल आएँ तर उसलाई भुल्न भने सकेको छुइनँ।'

आफ्नो पर्समा पत्नीको फोटो राखेका रहेछन्। मलाई फोटो देखाउँदै 'जबसम्म मर्दिनँ तबसम्म मेरो मुटुको स्पन्दनमा बाँच्नेछ उ।' यी शब्द भन्दा उनको आँखा भिझिसकेको थियो। केही दूरत्वमा मिना, छोरो प्रतीक अनि उसको मित्रका बुबा–आमा बौद्धको परिक्रमा गरिरहेका थिए। बेला बेलामा मिनाले आँखा तर्दै थिई। म भने मिलोनाभसित सम्वादमा मग्न थिएँ।

उनले कुरैकुरामा भने, 'यही प्राकृतिक सुन्दरताले हामीलाई तानी रहन्छ।' परिक्रमा गर्दै मैले सम्झिएँ नेपालका युवाहरू भने रोजगारका लागि खाँड़ी मुलुकतिर पलायन भइरहेका छन्। केही युवाहरू नेपालमै अवसर खोजेर व्यापार गरिरहेका छन्।

आइतवार (१२ मार्च) बिहानै लेखक–पत्रकार शरद प्रधान दाजुले अन्तवार्ताका लागि बोलाउनु भएको थियो १०ः३० तिर ओम अस्पतालनजिक भेट्ने भनेर। तर परिवारसित टाढ़ो घुम्न गएको हुँदा एघाह बजीतिर त्यहाँ भेट्ने मैले दाजुलाई बताएको थिएँ। ११ बजीतिर ओम अस्पतालअघि पुगेर शरद दाजुलाई फोन गरेँ। एकैपल्टमा फोन उठाउनु भयो। 'भाइ यही छु तपाईँ कहाँ हुनुहुन्छ ?' भनेर सोध्नुभयो। 'म पनि यही छु' भनेको मात्र के थिएँ दाजुले देख्नु भएछ। कालो चश्मा लगाएका दाजुलाई हिरो जस्तो देखिएको हुँदा मैले चिन्न सकिन छु।

विलम्बका लागि क्षमा मागें। उहाँको दुई चक्के स्कुटीमा चढ़ेर ललितपुरतिर लाग्यौं। केही क्षणमा रेडियो टुरिज्मको कार्यालयमा पुगियो। कार्यालयमा पुग्दा नै बहिनीले सर विद्युत छैन भनेर शरद दाजुलाई जानकारी दिइन्। बहिनीको त्यस कथनले मन उकुस मुकुस भयो। अन्तर्वार्ता छिटो सकेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानुपर्ने थियो। अघिबाट नै समय तोकिएको थियो।

ईश्वरलाई सम्झिएँ, कस्तो चमत्कार केही क्षणमै विद्युत आइपुग्यो। दाजुले हतार–हतार अन्तर्वार्ता लिने तयारी गर्नु भयो। दाजुले 'लु अब शुरु गरौं' भन्नु हुँदा मन खुशी भयो। शुरुमै 'दाजु म त सिक्ने मात्र हुँ केही जान्दिनँ है' भन्दा दाजु हाँस्नुभयो। शुरु भयो अन्तर्वार्ता। दाजुको प्रश्नले घाइते बनाउन थालेको थियो।

लगभग तीन दशकको पत्रकारितामा अधिकांशलाई प्रश्न मात्र गरेँ। शनिवार शरद दाजुलाई उत्तर दिने पालो रहेछ। अन्तर्वार्ता जहिल्यै पनि अधुरो नै लाग्ने गर्छ। भन्न चाहेको सबै कुरो भन्न सकिँदैन। शरद दाजुलाई धन्यवाद, सिक्ने मान्छेलाई यसरी बोल्ने मौका दिनु भएकोमा। अन्तर्वार्ता सकिएपछि यो त बिर्सिएछु भनेर थकथक लाग्छ। सकिएपछि दाजु र पाँड़ेकाजीको सातौँ पुस्ता विक्रम पाँड़ेकाजीसित भेट गराउनु भयो। फोटो खिँचियो अनि चिया पिएर छुट्टियाँ। शरद दाजुले 'पठाउका बाइकरलाई' बोलाइदिनु भएको रहेछ। बाइकर आइपुग्यो। सबैसित बिदा मागेर म बौद्धतिर लागेँ। बाइकमा चढ्ने बित्तिकै भाइको नाम सोधें। नारायण घिमिरे रहेछ। कुराकानी आरम्भ भयो। पत्रकार भएकोले बेसी बोली पठाउने गर्छु।

बाइक ८०–९० को गतिमा दन्किरहेको छ। गतिसित डराउनु हुन्न भन्ने मेरो मानसिकता छ। जीवनमा गति नभए लक्ष्य टाढो भइदिन्छ। भाइलाई भने, 'यहाँका युवाहरू विदेशतिर हाकिन्छन् भने तपाईं चाहिँ देशमै रोजगारको बाटो खोज्नु हुँदैछ त!' मैले प्रश्न गरेपछि बाइकको गतिलाई कम्ती गर्दै 'दाइ आफ्नो जन्मभूमिमै केही गर्नुपर्छ। म जस्ता युवाहरूका लागि यसै देशमा रोजगारको अपार अवसर छ। तपाईंले हेर्नु हुँदैछ त काठमाण्डौमा व्यापार गर्नेहरू बिहारी, मारवाड़ी सबै भारतबाट नै आएर मज्जाले कमाइरहेका छन् भने हाम्राहरू चाहिँ किन खाँड़ी मुलुकतिर जानु परेको! आफ्नै भूमिमा केही गर्नुपर्छ।' 'अन्त कति कमाउनु हुन्छ त ?'

मैले ठाड़े प्रश्न सोधें– 'महीनामा ४० देखि ५० हजार कमाइन्छ' भाइको उत्तरले मन आनन्दित भयो। देश बनाउने युवाहरू नै हुन्। युवा जमात नै विदेशतिर पलायन भएपछि देश कसले बनाइदिने त ? म जस्तो नेपाल घुम्न आउने एकजना साधारण व्यक्तिको मनमा यस्तो प्रश्न उठिरहेको थियो। हुन त यो म जस्तो घुमन्ते बटुवासित सरोकार राख्ने विषय वस्तु त होइन। भूगोल र इतिहास हाम्रो भिन्नाभिन्नै रहे पनि भाषा, संस्कार, संस्कृति एउटै भएकाले मात्र सोच्न बाध्य बनाएको हो।

बाइकर नारायण घिमिरे भाइले 'दाइ तपाईंको गन्तव्य आइपुग्यो है' भन्दा पो म झसङ्ग भएँ। हामी त बौद्धको गेटअघि आइपुगिसकेका रहेछौं। त्यसपछि हतार हतार खाना खाएर पूर्व प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई भेट्न उहाँको घरतिर लाग्यौँ। लगभग ३० मिनट गाड़ी गुड़ेपछि उहाँको घरअघि गाड़ी रोकियो। सुरक्षाको व्यवस्था रहे पनि हाम्रो कुनै जाँचै नगरी घरभित्र लगियो। घर अगाड़िको लनमा भेट्न आउने मानिसहरू, पार्टी कार्यकर्ताहरूको भीड़ थियो। केही समयपछि नै हामीलाई बोलाइयो नमस्कार टक्याएर अभिवादन गरेँ। कुराकानीको क्रम आरम्भ भयो।

सन् २०१८ मा भेटेर अन्तर्वार्ता लिएको कुराकानी गर्दा कता कता उहाँलाई थाहा रहेछ। त्यो दिन विश्वकप क्रिकेटको फाइनल हुँदै थियो। बालुवाटारस्थित प्रधानमन्त्री आवासमा अन्तर्वार्ता लिएर दरबार मार्गस्थित होटलमा फर्किदा राति १२ नाघिसकेको थियो। भर्खरै निस्किएको पुस्तक म उभिएको धरतीको एक प्रति चढ़ाएर फोटो खिचिक्क पारियो। ग्रीन टी टेबलमा आइसकेको थियो। चिया पिउँदै नेपालको वर्तमान स्थिति लगायत अन्तर्राष्ट्रिय स्तरमा देखिन थालेको घटनाहरूबारे कुराकानी चल्यो। मैले एमसीसीको कुरो झिकेँ। उहाँले स्पष्टसित भन्नुभयो 'हस्ताक्षर गरेपछि यसलाई लागू पनि गर्नुपर्यो।' त्यसबाहेक नेपाल–भारत र चीनको मध्यमा भएकोले दुवै देशसित सन्तुलन बनाएर नै देशलाई विकासको मार्गमा लैजानुपर्ने उहाँले आशय प्रकट गर्नुभयो। तर अहिले नेपालको विकास त सरकारले भन्दा नागरिकहरूको आफ्नो प्रयासमा गरिरहेको बुझें।

भारतेली नेपाली भाषीको तुलनामा नेपालका नेपालीभाषी मानिसले विमान, पर्यटन क्षेत्र, बीमा क्षेत्र, ब्याङ्क, जल विद्युत परियोजना आदिमा निवेश गरिरहेको देखियो। यसलाई समय अनुरूप निवेश मान्न सकिन्छ। सत्ता आफ्नै हातमा हुँदा धेरै काम कुरो गर्न सकिन्छ। त्यसै त सिक्किमको सत्ता हाम्रै मानिसको हातमा छ। सिक्किमको सत्ता हाम्रै नेपाली भाषीको हातमा हुँदा पनि एकजना नेपाली भाषी शिल्पपति जन्माउन सकेनौँ। काजी, नरबहादुर भण्डारी, पवन चामलिङ, पीएस गोलेको पालामा पनि हिन्दी भाषीहरू नै शिल्पपतिको रूपमा उदय भए अनि भइरहेका छन्।

सत्ताको प्रतिफल पाउनदेखि हामी कसरी वञ्चित भयौँ? यसको लेखाजोखा हुन आवश्यक छ। चर्चा परिचर्चाले हामीमा भएको कमजोरी हटाउन सहज हुने थियो। नेपाल प्राकृतिक सुन्दरताले सम्पन्न हुँदाहुँदै पनि जुन गतिमा पर्यटनको विकास हुनुपर्ने थियो त्यो हुन सकेको छैन। विशेष गरेर नेपालमा विमान परिसेवा भारतमा रेल परिसेवा घण्टौं विलम्बले गन्तव्यतिर जाने गर्छ। त्यस्तै दशा नेपालको विमान परिसेवामा रहेको थियो।

गत ९ मार्च हामी उड्ने भद्रपुरबाट काठमाण्डौ तर्फ जाने विमान लगभग एक घण्टा विलम्ब गरेर उड्यो। यस्तो हुँदा नेपाल घुम्न आउने पर्यटकहरूको मनमा नराम्रो छाप बस्छ अनि पर्यटकहरू नेपाल भित्र्याउन गाह्रो हुन्छ। पर्यटक भित्र्याउन गत वर्ष नेपालले भिजिट नेपाल २०२० उत्सव पालन गयो। जबसम्म पर्यटकहरूको समयलाई मूल्यवान ठानिँदैन तबसम्म नेपालको यस्तो पहलले सार्थकता पाउने सम्भावना कम्ती हुँदैछ।

प्रकाशित मिति: : 2022-11-18 08:37:00

प्रतिकृया दिनुहोस्