बिहिबार, १८ सेप्टेम्बर २०२५

यो त बैतडी झाने बाटो जस्तै छ

हेमन्त विवश

हेमन्त विवश

काठमाडौं
Breaknlinks
• • •

कहिलेकाहीँ प्रियजनहरूले तय गरेका योजना, परिकल्पना र हठ बहुत् प्रिय अनि अविस्मरणीय बनिदिन्छन्। सुनेको थिएँ, बालहठ, स्त्रीहठ, योग हठ र राजहठका बारेमा। तर, अनुभव गर्न सकेको थिइनँ, त्यो हठको। एक असली योगीसँग सङ्गत गरिरहेको छु, केही वर्ष यतादेखि। ती गीतसङ्गीतप्रेमी, प्रकृतिप्रेमी, चर्चापरिचर्चाबाट प्राय टाढै रहने योगी हुन्, गायक तथा सङ्ंगीतकार तिलकसिंह पेला।

पहेला लुगा लगाएर दे–दे बाबा भन्नेहरू कहिल्यै बन्न सक्दैनन्, असली योगी। असली योगी साधनामा मस्त भइदिन्छन्। चर्चापरिचर्चाबाट टाढै रहन्छन्। फुर्सदको समयमा पंन्छीझैं आजाद भएर रमाउन खोज्छन्, प्रकृतिको काखमा। करिव २५ वर्षदेखि अनवरत रुपमा संगीतको साधना गरिरहेका छन्, पेला पनि। पछिल्लो समयमा काठमाडौंस्थित वनस्थलीमा श्री कृष्ण गुरुकुल पाठशाला खोलेर आफ्ना शिष्यहरूलाई शास्त्रीय संगीत सिकाइरहेका छन्, उनी। मोक्ष प्राप्ति गर्न खोज्ने योगी हैनन्, उनी। मात्र एक साधक हुन्। घरबारबिहीन मस्त फकिर, जो आध्यात्मिक गोरेटोमा हिँड्न रुचाउँछन्। सबैका प्रिय छन्।

यस वर्षको गुरु पूर्णिमामा तीन दिन बिदा घोषणा गरेर उनले तय गरेका थिए, दोलखा घुम्ने योजना। एक महिनाअघि नै मसँग भनेका थिए, आषाढ २९ गते तयार भइराख्नुहोला भनेर। कामको चटारोले गर्दा जान सक्ने अवस्थामा थिइनँ, म। पेलाजस्ता प्रिय र मनकारीहरूको आग्रह टार्न सक्ने क्षमता नहुँदा आधि मन यता आधी मन उता थियो केही बेरसम्म। त्यतिबेला सम्झनामा आइरहन्थ्यो स्वर्गीय लोकबहादुर क्षेत्रीको गीतको पंक्ति: आधी सञ्चाे आधी बिसञ्चाे।

जानुपर्ने निश्चित भइसकेको थियो। एकातिर वर्षायाम अर्कोतिर मोटरबाइकको यात्रा। एक सज्जनको मन दुखाउन नसकेर यात्रामा हिंडेको थिएँ। तर, त्यही यात्रा आजसम्मकै अविस्मरणीय बनिदियो। मोटर बाइकको यात्राका आफ्नै विशेषता थिए। मन लागेको ठाउँमा खाना, नास्ता खान सकिने। राम्रो दृश्य देख्दा सडक किनारमा बाइक रोकेर क्यामेराको प्रयोग गर्नेदेखि आँखाको धित् मरुन्जेलसम्म हेर्न सकिने। गफ गर्दागर्दै बाटो कटेको पत्तै नहुने। बडो आनन्दको थियो यात्रा। तिलकसिंह पेलाका लागि दोलखा भ्रमण पहिलो थियो। मेरा लागि दोश्रो। उनी बाटोमा खुब रमाइरहेका थिए। उनको मुखारबिन्दुबाट बेलाबखत एउटा वाक्य निस्किन्थ्यो, ‘यो त ठ्याक्कै बैतडी झाने बाटो जसोइ छ। क्या याद दिलायो गाउँको।’

जन्मभूमिको यादले पछ्याइरहेकै थियो, उनलाई। उसो त बाटोघाटो मात्रै कहाँ कतैकतै जमिनको संरचना पनि उस्तै देखिदिन्थ्यो। उस्तै देखिन्थे बाटोबाट देखिने केही बस्तीहरू। डाँडाकाँडाले घेरिएको पहाडी भू-भाग, डाँडामा परेड खेलिरहेको बादलुको लस्कर। सुसाइरहेका खोलानालाहरूले बेलाबखत सम्झाइरहन्थे बाल्यकालमा गाई बाख्रा चराउँदाका दिनहरू, सुदूरपश्चिमको त्यो ग्रामीण परिवेश अनि बाँसुरीको धुनमा सजिरहने डेउडा गीतको लय। सुदूरको ग्रामीण बिम्ब बोकेर काठमाडौंमा हल्लिरहेको मन पुगेको थियो, पूर्वको ग्रामीण परिवेशमा। जहाँ सहयोगी मनहरू थिए। क्षणभरकै लागि भएपनि आनन्दित तुल्याउने गगनको छाया ओढेर रमाइरहेका बोटविरुवा, वनजङ्गल थिए। समयमै रोपिएका हरिया खेतबारीदेखि मकै बारीको सुन्दरता उस्तै थियो। मनै लोभ्याउने दृश्य देखिन्थे, ठाउँ-ठाउँमा। सारा दृश्य हेरेर कुनै नयाँ धुनको सिर्जना गरिरहे जस्ता मौन भैदिन्थे बेलाबखत ती शास्त्रीय गुरु पेला। त्यो बाटो जिन्दगीकै एउटा सुन्दर बिम्बझैं थियो, उनका लागि। आखिर जिन्दगी, समय, सभ्यता, विकास सबैले बाटो नै त खोजिरहन्छन्। मात्र बाटोका प्रकृति फरक न हुन्।

उसो त यो देशका भ्रष्टहरुले पनि खोज्छन् बाटो। टेबुल मुनीको बाटो। रेस्टुरेन्टतिरको बाटो। थुप्रै प्रकृतिका हुन्छन् तिनले खोज्ने पथहरु। तिनले खोज्ने बाटाहरु पाप, कलुस, अन्याय, अत्याचार र अपराधका बाटाहरु हुन्। तिलक पेलाले हेर्ने बाटाहरु प्रेम, सदभाव र ममताका बाटाहरु हुन्। कुनै युवतीको शिरको सिउँदोजस्ता सुन्दरताको ताज पहिरेर टल्किरहने गोरेटाहरु खुब हेर्छन, उनी। अनि कतै भगवानको लिला सम्झिन्छन्, त कतै ममताको आँचल सम्झिन्छन्।

काठमाडौँदेखि १९० किमी पार गर्नुपर्ने थियो, जिरी पुग्न। तर, गुगलले दुबैको मोबाइलमा फरक सूचना दिइरहेको थियो। धुलिखेल, पाँचखाल हुँदै दोलालघाट बजारमा पुगेपछि ब्रेक लाग्छ, बाइकमा। पुलबाट नदीको बहाव हेरिरहेका पेला सुनाउँथे, ‘आधी/एक घन्टा जति नदी किनारमै बिताउन पाए नि हुन्थ्यो।’ म मौन बनिदिन्थेँ।

खाडीचौरबाट छुटिन्थ्यो खासा जाने र दोलखा जाने बाटो। आलु उत्पादनमा नाम कमाएको मुडे क्षेत्र लेकाली भाग हो। जहाँ माथि–माथि बादल नाचिरहन्छ भने तलतिर हुस्सुले राज गरिरहेको हुन्छ। मुडे बजारस्थित श्रेष्ठ होटलको खाना र होटलका स–साना नानीहरूको व्यवहार गाउँघर छरछिमेकको याद दिलाउने खालको थियो। उता चरिकोटमा हाम्रो बाटो हेरिरहेका थिए, शिक्षक जनक भट्ट। यसपल्टको यात्रा मेरा लागि बिलकुल फरक थियो। जहाँ जिन्दगीको अर्थ खोज्न मन लाग्थ्यो। मान्छेका पाइला कहाँबाट कहाँ पुगे मनन्, गर्न मन लाग्थ्यो। कोसँग कहाँ कुन समयमा कसरी भेटिन लेखिएको हुँदोरहेछ भन्ने एक प्रकारको भाव मनमा पैदा भइरहन्थ्यो। यसरी हरेक पल विभिन्न तरङ्गहरूले डेरा जमाइरहन्थे, मस्तिष्कमा।

सुदूरपश्चिमस्थित कञ्चनपुरका जनक भट्टसँग मेरो परिचयको हात मिलेको ठाउँ बन्यो, चरिकोट। उनीसँग परिचयको हात मात्र बढेन आत्मीयताको च्यादरमै लपेट्न भ्याए उनले। निर्दोष मुहार, आत्मीय अनि सहयोगी मन छ, जनक भट्टसँग। तर, त्यो मन खुल्दैन सबैसँग जति तिलकसिंह पेलासँग खुल्छ। ६ वर्ष भएछ जनक चरिकोटमा बस्न थालेको। दोलखा च्यामास्थित महेन्द्र माबिका सहायक प्रधानाध्यापक भट्ट समाजशास्त्र र अर्थशास्त्र विषयका शिक्षक हुन्। उनी आफू मात्रै दोलखा पुगेनन्, साथमा लगे श्रीमती र दुई छोरा पनि। अम्बिका आधारभूत विद्यालयकी शिक्षिका हुन् उनकी जहान लक्ष्मी भट्ट। जोडी परेवा जस्तै देखिन्छन्, दुईजना। पुर्खाको थलो बैतडी भए पनि पुगेका छैनन्, जनक अहिलेसम्म सुदूरपश्चिमको पहाड। बरु रमाइरहेका छन्, दोलखाका डाँडाकाँडा हेरेर। संघर्षका पानाभित्र सजिएका जीवनका थुप्रै कथा छन्, उनीसँग। तर, पनि देखाउँदैनन् बाहिर कतै। मुस्कुराउन सिकेका छन्, उनले पीडा लुकाएर। जनककाअनुसार दोलखामा ५० जना शिक्षकहरू सुदूरपश्चिमका छन्। बेलाबखत कोही न कोहीसित भेट भएकै हुन्छ, उनको।

दिउँसो १ बजे चरिकोट पुगेका हामी करिव ३ बजेतिर कालिञ्चोक भगवतीको दर्शनार्थ योजना बनाउँछौं। चरिकोटबाट झण्डै २२ किमि दूरि पार गर्नु पर्ने हुन्छ कालिञ्चोक पुग्न। दोलखा जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चिनिएको कालिञ्चोक जाने बाटोमा मोटर बाइकको के कुरा, मान्छे हिँड्न समेत गाह्रो थियो। ४ किमि बाटो पार गरेपछि देखियो असली बाटो। सम्भावना थिएन जान सक्ने। भ्यानले आठ हजार लिदोरहेछ। मौकाको फाइदा उठाउन कुरिरहेका थिए, भ्यानका ड्राइभरहरू। ८ हजार तिरेरै जान खोज्दा पनि दोश्रो बिहानसम्म कुर्दैनन्, उनीहरू। पुर्‍याएर फर्किहाल्छन्। फर्किदा पुनः खोज्नुपर्ने हुन्छ अर्को भ्यान।

देश संघीयतामा गएको पनि लामो समय बितिसक्यो। स्थानीय तहदेखि प्रदेश सरकार तात्नुपर्ने हो, बाटो बनाउन। तर, त्यो बाटो अझै बन्न सकेको छैन। दोलखाको प्रमुख धार्मिक पर्यटकीय क्षेत्र मध्येको कालिञ्चोक मन्दिरसम्म पुग्न सजिलो छैन्, बर्खामा। कालिञ्चोक बजारबाट मन्दिरसम्म हिँडेर जाँदा आधी घन्टा समय लाग्छ। तर, त्यहाँ केबुलकारको व्यवस्था गरिएको छ। बजारसम्म पुग्ने बाटोको भने दुर्दशा नै छ। यसबाट सजिलै भन्न सकिन्छ हाम्रो पर्यटन क्षेत्रले कस्तो फड्को मारिरहेको छ भनेर।

कालिन्चोक पुग्न नसकेका पाइला भीमसेन मन्दिर परिसरमा पुगेर चित्त बुझाउन मन्जुर भए। चरिकोट बजारबाट १०/१५ मिनेट हिँडेपछि पुगिन्छ भीमसेन मन्दिर र त्रिपुरा मन्दिर। दोलखाको भिमसेन मन्दिरको मुर्तिमा पसिना आयो भन्ने खवर बेलाबखत सुनिएकै हुन्। उक्त प्रसिद्ध मन्दिरको दर्शन पश्चात हाम्रो यात्रा तय हुन्छ, जिरीका लागि। तिलकसिंह पेलाले आफ्नो इच्छाअनुसारको कपडा छानेर सिलाइ पसलमा सिलाउन दिएको रेनकोट बाटैमा गायब भइदिन्छ। चरिकोट बजारमा पुनः दोश्रो किनेर सुरु हुन्छ, आषाढे यात्रा। चारैतिर बादलले ढाक्दा देख्न सकिएको थिएन, गौरीशंकर हिमाल। झिमझिम पानी परिरहँदा सडकमा फटफटाइरहेका थिए, रेनकोटका फालहरू। सिमसिमे पानीसँगै लय मिलाइरहेको थियो, जिन्दगीले। आमाको पेटमा रहँदादेखि बाँचुन्जेल उत्तिकै आवश्यक ठानिएको पञ्च तत्व मध्येको एउटा तत्व त्यही पानीले स्पर्श गरिरहेको थियो, शरीरलाई। सडकमा जनक भट्ट र तिलकसिंह पेलाले बाइक दौडाइरहेका थिए। बेलाबखत मोडबाट हतारिँदै बगिरहेकी तामाकोशी नदीको सुन्दर दृश्य देखिन्थ्यो। बाइकको पछाडि हावाको झोक्काले स्पर्श गरिरहँदा लाग्थ्यो जिन्दगीले एकोहोरो गीत गाइरहेछ। एकोहोरो स्पर्श गरिरहने हावा संगीतको धुन बनिरहेछ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!