 
                                            
                                        
                                     
                                नवीन रायमाझी
 
                                घटना नम्बर एक : देशको बजेट निर्माण जस्तो सम्वेदनशील कार्यमा एउटा व्यापारिक घरानालाई फाइदा पुग्ने गरी चलखेल गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई जेलमा कोच्नुपर्नेमा छानबिनको नाटक गरेर सुनपानीले चोख्याएर फेरि उनैलाई अर्थमन्त्रीमा नियुक्त गर्दा पनि कसैले विरोध गरेनन्। अपवादको रुपमा मिडियाले विरोध गरेको नाटक गरे तर त्यसको कुनै अर्थ छैन। विकसित मुलुकमा भएको भए शर्मालाई जेलमा कोचिन्थ्यो।
घटना नम्बर दुई: केही समय पहिले आफ्नै शिक्षकलाई मरणासन्न हुने गरी कुट्ने छात्रलाई फौजदारी अभियोगमा जेल सजाय हुनुपर्नेमा वर्तमान गृहमन्त्री बालकृष्ण खाँणको कार्यकर्ता भएको कारण सरकार उसको मुद्दा फिर्ता लिने प्रक्रियामा छ र उसले एक राष्ट्रिय टेलिभिजन च्यानलमा मेरो धरौटी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तिरेको हो भन्दा पनि कसैको एउटा रौँसम्म पनि हल्लिएको छैन। जबकी यो कुरा कुनै विकसित देशमा भएको भए त्यो अपराधीको कुरै छोडौँ प्रधानमन्त्री र गृहमन्त्रीको पनि जागिर जान्थ्यो तर नेपालमा कसैलाई कुनै मतलव छैन।
घटना नम्बर तीन: राष्ट्रपतिको भ्रमणमा सडकमा कसैलाई हलचल गर्न नदिएर सडक अवरुद्ध गरिन्छ। यस्तो प्रक्रिया राष्ट्रपतिद्वारा नै आदेश दिइएको हो वा ट्राफिक प्रहरीले राष्ट्रपतिको चाकरी बजाउन गरेका हुन्, त्यो पंक्तिकारलाई जानकारी छैन। यस्तै एउटा भ्रमणको समयमा बाटो रोक्दा करिब ५ महिना कि गर्भवती महिलालाई पनि जहाँ छ, त्यहीँ उभ्याएर कुर्न प्रहरीले आदेश दिएको र त्यो महिला गर्मी र कमजोरीले अलसतलस भएको भिडियो सामाजिक सञ्जालमा आएको थियो। जबकी यो अवस्था विकसित देशमा हुन्थ्यो भने राष्ट्रपतिले नै आफ्नो गाडीमा हालेर त्यी महिलाको घरमा पुर्याउने, बाटो रोक्ने भन्ने कल्पना पनि गर्न सकिन्न। अमेरिकामा स्कुल बसले बच्चाहरु उतार्दा त्यो बस अगाडि नबढुञ्जेलसम्म एम्बुलेन्स, दमकल र काममा रहेको प्रहरीको गाडीबाहेक कसैले ‘ओभरटेक’ गर्न पाउँदैन र कसैले गर्याे भने त्यो जघन्य अपराध हुन्छ। चाहे त्यो राष्ट्रपति नै किन नहोस्।
घटना नम्बर चार: केही समय पहिले एउटा न्यायधीश र वकीलबीच अपराधीलाई उन्मुक्ति दिन पैसाको चलखेल गर्ने कुराको टेलिफोन सम्वाद बाहिर आएको थियो। अदालत जस्तो पवित्र स्थानमा पनि त्यस्ता दलालहरुको चलखेल भएपछि एउटा साधारण मान्छेले न्याय कसरी पाउने ? यस्तो कुरा कुनै विकसित देशमा हुन्थ्यो भने त्यी दुई दलालहरु हाल जेलमा हुन्थे तर नेपालमा उनीहरु छाती फुलाएर बसेका छन्।
यी माथि उल्लेखित घटनाहरु सबै होइनन् केही मात्र हुन् भन्ने कुरालाई ठोकुवा गर्न कुनै आइतबार कुर्नु पर्दैन। ठुलोले सानोलाई, धनीले गरीबलाई र अग्लोले होचोलाई हेप्नु र अन्याय गर्नु हाम्रो देशका सामान्य घटनाहरु हुन्। यस्तो अन्याय र अत्याचार हुने ठाउँमा पंक्तिकार जस्तो निम्छरो मान्छेको कुनै आत्मसम्मान हुने कुरा भएन र यस्तो मान्छेहरुले सधैं हेपिएर बाच्नुपर्छ। कसैले यसलाई व्यक्त गरुन् कि नगरुन्।
यसै प्रसंगमा हामी विदेश बस्नेहरुलाई अर्काको देशको दोश्रो दर्जाको नागरिक भनेर हँस्सी उडाउने चलन छ। यद्वपी, यो हँस्सीभित्र आफू आउन नपाएको पीडा पनि हुन्छ। मलाई मेरा केही साथीहरुले नेपाल कहिले आउने ? भनेर प्रश्न गर्छन र म अब समय मिलाएर आउने हो भनेर झुटो बोल्छु। एक वर्षअघि बुबाको निधन भएपछि मलाई नेपाल फर्किने कुनै इच्छा छैन र म त्यस्तो अन्याय र अत्याचार भएको देशमा फर्किने पनि छैन।
दुई/चार जना जो मलाई मन पराउँछन तिनीहरुसँग सामाजिक सञ्जाल वा टेलिफोनमा सम्पर्क गर्दा हुने र मेरो आफ्नै अफ्ठ्यारो स्वभावको कारण अधिकांश आफन्त र नातेदारहरुले मलाई मन पराउने कुरा भएन, त्यसमा पनि म जन्मिदै खराब भएको र मेरा नातेदारहरु दुधले पखालिएको कारण मलाई भेट्नु पनि छैन। र, उनीहरुसँगको सम्बन्धलाई निरन्तरता दिनु पनि छैन। जहाँसम्म दोश्रो दर्जाको नागरिकको कुरा छ, यहाँ दोस्राे त के पचासौँ दर्जाको नागरिक भएपनि आत्मसम्मान छ र यसको बारेमा कुनै बहस गर्नु मुर्खता मात्र हो।
अन्तमा एउटा प्रसंग, एक हप्ताअगाडि मेरो एउटा जँड्याहा छिमेकीले आफ्नो कुकुरलाई रक्सीको सुरमा बेस्सरी पिट्यो र त्यो कुकुर कराएको सुन्न नसकेर कसैले ‘एनिमल रेस्क्यु’लाई खबर गरिदियो। त्यसको केही समयमै एनिमल रेस्क्युले घर घेर्याे र त्यो कुकुरलाई आफ्नो कब्जामा लियो र कुकुरमालिकलाई जरिवाना गर्याे। यदी नेपालमा यो घटना भएको भए त्यो त्यसै फासफुस हुन्थ्याे र कसैले वास्ता गर्थेन। कुकुरको कुरा परै जावोस् यदी कुनै मान्छेले अर्को मान्छेलाई कुटेको भए पनि कसैले वास्ता गर्थेन। त्यसपछि मलाई लाग्यो नेपालमा मेरो हैसियत अमेरिकाको पाल्तु कुकुरको जति पनि रहेन्छ। त्यसैले जुन दर्जाको नागरिक भएपनि म यतै बस्छु र नेपाल फर्किन्नँ। यो मेरो निजी निर्णय हो र यसको पक्ष र विपक्षमा कसैले बहस गर्नु बेकार छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया