इतिहासकै सबैभन्दा ठुलो सैन्य अभ्यासमा चीनद्वारा मिसाइल प्रहार

Photo: REUTERS/Thomas Peter
Photo: REUTERS/Thomas Peter

बेइजिङले आफ्नो सार्वभौम क्षेत्र मान्ने स्वशासित टापु ताइवानमा अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको एक दिनपछि चीनले बिहीबार ताइवान वरिपरि मिसाइलहरू प्रहार गरेको छ।

चीनले निर्धारण गरेको बिहिबार ९:४५ को समयमा सुरु भएको उक्त सैन्य अभ्यास आइतबार बिहान ९:४५ मा समाप्त हुने चीनको राज्य प्रसारक सिसिटिभीले बताए। चीनले अहिलेसम्म ताइवान स्ट्रेटमा गरेको सबैभन्दा ठुलो अभ्यासमा ताइवान वरपरको पानी र हवाई क्षेत्रमा प्रत्यक्ष फायरिङ समावेश हुने बताइएको छ।

अभ्यासको एक भागको रूपमा ताइवानको पूर्वी तटको समुद्रमा परम्परागत मिसाइलहरूको फायरिङ भएको चीनको पूर्वी थिएटर कमाण्डले बताएको छ। यो भन्दा अघि सन् १९९६ मा चीनले ताइवान वरपरको समुद्रमा मिसाइल प्रहार गरेको थियो।

ताइवानको रक्षा मन्त्रालयले टापुको उत्तरपूर्व र दक्षिणपश्चिममा समुद्रमा डोङफेङ मिसाइलहरूको प्रहार भएको बताएको छ।चीन

को तटमा रहेको ताइवानको मात्सु टापु नजिकै बिहिबार बिहान ११:४५ बजेतिर चीनद्वारा घोषित ड्रिल जोनको दिशामा दुईवटा मिसाइल प्रहार गरेको आन्तरिक ताइवान सुरक्षा रिपोर्टले जनाएकाे छ।

उक्त अभ्यासले संयुक्त राष्ट्र संघको नियम उल्लङ्घन गरी आफ्नो क्षेत्रमाथि आक्रमण गरेको र देशको हवाई र समुद्री नाकाबन्दी गरेको ताइवानका अधिकारीहरुले बताएका छन्।

चीनले सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय जलमार्ग र उड्डयन मार्गहरूमा अभ्यास गरिरहेको छ र त्यो 'गैरजिम्मेवार मात्र नभई अवैध व्यवहार' हो, ताइवानको सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले भन्यो।

– एजेन्सीको सहयोगमा

प्रकाशित मिति: : 2022-08-04 15:07:00

प्रतिकृया दिनुहोस्