चतुर चोरका अनेक दाउ : हिरो बनेर गोजी काट्ने, प्रहरीको भेषमा घर पस्ने

काठमाडौंँमा दिन प्रतिदिन चोरी तथा लुटपाटका घटना बढ्दै गइरहेका छन्। दैनिक एक दर्जन मानिस चोरीकाे गुनासाे लिएर प्रहरी समक्ष पुग्ने गर्छन्। तर, अधिकांश पीडितले सामान फिर्ता पाउँदैनन्। बारबार प्रहरी समक्ष पुग्दा पनि आफ्ना सामान प्राप्त गर्न नसकेको पीडितहरूकाे गुनासाे छ।


धादिङकाे नीलकण्ठ नगरपालिका– ४ कि सुमिना अर्यालको गोंगबु चोकबाट माइक्रो बस चढेर ठमेलस्थित सरस्वती कलेज पुग्नु दैनिकी हो। स्नातक पहिलो वर्षको दोस्रो सेमेष्टरमा अध्यानरत अर्याल कलेज आउँदा–जाँदा सधैँ चनाखो हुने गर्छिन्।

उपत्यकाका सार्वजनिक यातायातमा हुने चाेरीका घटनाकाे त्रासले उनी सधैं आफ्नाे मोबाइल झाेलामा राख्थिन् तर पनि केही दिनअघि चाेरले झाेलाकाे चेन नै ताेडेर माेबाइल चाेर्‍याे। उनले चोरीकाे उजुरी लिएर महानगरीय प्रहरी वृत, सोह्रखुट्टे पुगिन्। तर, प्रहरीले पनि हराएकाे माेबाइल भेटाउन सकेन। प्रहरीकाे बेवास्ताका कारण माेबाइल नभेटिएकाे उनकाे आराेप छ।

‘मेराे माेबाइल हराएकाे घटनामा प्रहरी त्यति सिरियस भएकाे पाइएन, प्रहरीले नै उजुरीकाे बेवास्ता गरेकाे देख्दा सारै दु:ख लाग्याे,’ सुमिनाले भनिन्, ‘राज्यको सुरक्षा निकायमा बसेका मान्छे नै उनीहरुको सुरक्षामा चुकिरहेका छन्। कुनै वास्ता नगरी बस्छन्, अनि कसरी हामीले प्रहरीको कुरामा विश्वास गर्नु ?’

यसैगरी नुवाकोट ताँदी गाउँपालिका– ७ कि देवकी बिष्टले पनि सधैं आफ्नाे मोबाइल झाेलामा राखेर यात्रा गर्छिन्। तर, सचेत रहँदा रहँदै पनि जमलस्थित पसलमा सामान किन्दै गर्दा झाेलाभित्रकाे पर्स, माेबाइल, चाँदी गरगहनासहित ३० हजार पैसा चाेरी भयाे। उनले पनि प्रहरीमा उजुरी गरिन् तर सामान फेला परेन।

यसैगरी नुवाकोट ककनी गाउँपलिका– ५ का प्रकाश तामाङको बानेश्वरदेखि महाराजगञ्जको बीचमा मोबाइल र पैसा चोरी भयो। प्रकाशले यसबारे प्रहरी महाराजगञ्ज प्रहरी वृतमा निवेदन त गरे तर उनले पनि आफ्नाे सामान फिर्ता पाएनन्।

तामाङ प्रहरीले आफ्नाे मुद्दा गम्भीरताका साथ नहेरेकोले सामान पाउन नसकेको बताउँछन्। ‘पुलिसले हाम्रो उजुरी लिन्छ मात्र हेरेको हुँदैन,’ उनले भने, ‘हाम्रो उजुरीलाई ध्यान दिएको छैन। उनीहरुकोमा गयो हामी खोजी गरिरहेका छौँ, मात्र भन्छन। सामान भेटिने भने चाहिँ होइन।’

त्यसैगरी केही दिनअघि मात्र कीर्तीपुरको मच्छेगाउँका ७५ वर्षीय वृद्धकाे घरमा भएको लुटपाटले सबैलाई तरङ्गीत बनाएको छ। दुई वृद्ध मात्र भएको मौका पारी अवैध सामान छ भन्ने सूचना आएर हामी आएका हौं भनी भएको लुटपाटका यस घटनाले दिन प्रतिदिन असुरक्षाको महुसुस हुँदै जान थालेको छ।

माथिका व्यक्तिहरू त केही प्रतिनिधि पात्र मात्र हुन्। जसले आफ्न सामान चोरीका उजुरी दर्ता गराए भने त्यस्ता धेरै व्यक्तिहरु पनि जसले उजुरी गरेका समेत छैनन्। यस्ता घटनाहरु काठमाडौंमा दिन प्रतिदिन बढ्दो रुपमा गएको छ। हाल राजधानीमा माेबाइल तथा पर्स चोरीका घटनालाई लिएर प्रहरी कार्यालय पुग्नेको संख्या दैनिक उकालोलाग्दो छ।

महानगरीय प्रहरी परिसर टेकुका अनुसार उपत्यकामा दैनिक एकदर्जन चोरी/डकैतीका उजुरी बाकेर मानिसहरू आउने गर्छन्। उनीहरु विशेषत भीड-भाडबाट सामान हराएको भन्दै उजुरी गर्न आउने महानगरीय प्रहरी परिसर टेकुका प्रहरी उपरीक्षक ईश्वर श्रेष्ठको भनाइ छ।

‘उजुरी गर्न आउनेहरु प्राय: भीड-भाड हुने ठाउँबाट आफ्ना सामान हराएको बताउँनुहुन्छ,’ उनले भने, ‘रत्नपार्क, कंलकी, सार्वजनिक यातायात तथा घरभित्रबाट नै चोरी भएका भने धेरै उजुरीहरु परेका छन। जसमा समान्य मोबाइल, बाइक, जिन्सी तथा गहना चोरीदेखि घर फोरेर सामान चोर्नेसम्म उजुरी पर्ने गरेका छन।’

यसैगरी चाेरी गर्ने मानिसहरू नै प्रहरीकाे भेषमा समेत सक्रिय हुने गरेकाे पाइएकाे उनी बताउँछन्। ‘चोरले चोरी गर्ने नयाँ तरिका समातेको छ,’ उनले भने, ‘पछिल्लो समय लुटपाट सम्बन्धी भएका उजुरीमा पुलिसको मानिस भनेर लुटपाट गर्ने गरेको पाइएको छ। चोर आफू पुलिसको मान्छे भएको भन्दौ डर धम्की देखाइ चोरी गर्ने क्रम रहेको छ।’

०००

गत आर्थिक वर्ष २०७६ र २०७७ मा मात्र उपत्यकाभर ४ सय ९१ चोरीका मुद्दा दर्ता भएकाे प्रहरीकाे तथ्यांकमा उल्लेख छ, जसमा ठाडो उजुरी तथा मुद्दा दर्ताका आधारमा ७ सय ४१ जना पक्राउ भएका छन।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७७ र २०७८ मा २ सय ३२ चोरीका मुद्दा दर्ता भएर प्रकियामा अघि बढे भने ५९२ जना समातिए। यसैगरी यसवर्ष ०७८ र ०७९ मा उपत्यकाभर ४ सय ६० चोरीका मुद्दा भए, जसमा ६ सय ५३ जना पक्राउ परे।

यस आर्थिक वर्षकाे साउन महिनामा मात्र ४४ वटा मुद्दा दर्ता भए भने ठाडो उजुरीका १५ घटनाकाे मिलापत्र हुनुका साथै ६६ जना उजुरीकै भरमा समातिए।

गत बुधबारदेखि आइतबारसम्म मात्र ५५ जनाले सामान चोरीका ठाडो उजुरी दिएका छन, जसमा १३ उजुरी मिलापत्रमा रह्यो भने बाँकी ४२ मुद्दा कायम नै रहेको छ।

०००

विशेषगरी पछिल्लो समय भारतीय मुलका मानिसहरु लुटपाटमा संलग्न रहेकाले बाहिर हिड्ँदा सावधानी अपनाउनुपर्ने महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मौनाली बताए।

‘बाहिर निस्कँदा हामी आफैंले सावधानी उपनाउनुपर्ने हुन्छ। चोरले कसरी चोर्ने ? कुन बेला चोर्ने ? भनेर मौका हेरेर बसेको हुन्छ। होर्दा सामान्य लाग्ने मानिस पनि चोरीमा संलग्न छन्, राम्रो लुगामा सजिएर चोरी गर्ने गरेका छन। यसमा हामी आफैँ सचेत रहनुपर्छ,’ उनले भने। उनले बाहिर हिँड्दा सचेत हुन पनि अनुराेध गरे।

उनले प्रहरीमा समयमै खबर गरेमा समस्या समाधान गर्न सकिने बताउँछन्। उनले भने ‘कतिपय ठाडो उजुरी परेका पनि मिलेमतेमा पुगेका छन् तर जति बाँकी रहेका मुद्दाहरु छन्, त्यसलाई हामी छिटोभन्दा छिटो समाधान गर्ने छौँ। हामी सधैं जनताका रक्षाका लागि छाैँ।’

प्रकाशित मिति: : 2022-08-18 21:50:00

प्रतिकृया दिनुहोस्