सुन तस्करको जालो : जाँदा अध्यागमन सेटिङ आउँदा भन्सार सेटिङ, सुनकै गन्जी सुनकै कट्टु

कमल प्रभात

काठमाडौं

गत साउन २९ गते फ्लाइ दुबईको उडानमार्फत दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय विमास्थल उत्रिए सिन्धुपाल्चोक भोटेकोसी– १ का २४ वर्षीय सोमबहादुर बिक। विमानबाट उत्रेर उनी सरासर अध्यागमन पास हुँदै विमानस्थलको भन्सार समेत पास भए। भन्सार पास भएर बाहिरिँदै गर्दा उनलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लियो।

दुई साताअघि नेपालबाट दुबई घुम्न गएका बिकलाई प्रहरीले किन पक्राउ गर्‍याे त ? फेरि उनी अध्यागमन हुँदै भन्सार पाससमेत भइकेका थिए। भन्सार पार गर्नुअघि त्यहाँ कडा चेकिङ हुन्छ, मेटल डिटेक्टर मेसिन छिरेर मात्र बाहिर निस्कन मिल्छ। उनी पनि त्यसैगरी निस्किए। निस्किएको केही समयमै प्रहरीले नियन्त्रणमा लियो।

नियन्त्रणमा लिएर चेक/चाँच गर्दा उनले सुनका लुगा लगाएर आएको खुल्यो। त्यो पनि एक केजीकाे सुनकाे कट्टु। दुई साताअघि मात्र नेपालबाट घुम्ने बहानामा दुबई गएर आएका बिक सुनको कट्टु लाएर नेपाल फर्किएका हुन्।

त्यसैगरी ३० गते पनि फ्लाई दुबईकै उडानमार्फत दुबईबाट काठमाडौँ उत्रेका मोरङ पथरी शनिश्‍चरे नगरपालिका– ४ का २८ वर्षीय रिवाज गजमेर पनि करिब डेढ किलो बढी सुनको कट्टु र गन्जी लगाएर नेपाल आएका थिए। सुनको कट्टु लगाएर आएका गजमेर सरासर भन्सार पास भए। भन्सार पास भएलगत्तै प्रहरीले उनलाई पनि बिककै शैलीमा पक्राउ गर्‍याे। गजमेरले सुनको कट्टु र गन्जी लगाएर आएका थिए। पक्राउ परेका दुबै जनालाई विमानस्थल प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।

गजमेरले दुबईबाट लगाएर ल्याएको सुनको भित्रीवस्त्र लिनकाे लागि आएका सिन्धुली कमलामाई नगरपालिका– ५ का २६ वर्षीय सागर न्यौपानेलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुबैजना करिब २ साताअघि नेपालबाट भिजिट भिसामा दुबई गएका थिए। त्यसैगरी उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि करिब १ महिनाअघि यही भेटमा सुन ल्याएका ब्याक्तिलाई पक्राउ गरेको थियो।

विमानस्थल प्रहरी प्रमुख श्यामलाल ज्ञावलीले बिएल नेपाली सेवासँग कुरा गर्दै भने,‘केही समय अघिसम्म अन्य मुलुकबाट आउनेहरुले ५० ग्राम सुनका गहना ल्याउन पाउने नियम थियो। सरकारले अहिले त्यसमा पनि प्रतिबन्ध लगाएको छ। त्यसमा हामीले यहाँ कडाइ गरेकाछौँ। पछिल्लो समयमा सुन तस्करीको शैली फेरिएको देखियो, सुनकै लत्ताकपडा बनाएर शरीरमा लगाएर ल्याएको देखियो। हामीले त्यो पनि नियन्त्रणमा लिन थालेका छौँ।’

तस्करले प्रहरीको आँखा छल्न विभिन्न जुक्ति लगाउने गरेको यो पहिलो घटना भने हाेइन। यसअघि पनि विभिन्न उपाए लगाउँदै विमानस्थलबाट सुन तस्करी हुने गरेको थियो। तस्करले सुडकेसको डन्डीदेखि सर्टको बटम अनि बच्चाले प्रयोग गर्ने डाइपरमासमेत सुन लुकाएर ल्याउन थाले। प्रहरीले त्यो कुरा सुईको पायो र पक्राउ गर्न थाल्यो।

त्यसपछि तस्करले बैदेशिक रोजगारीमा गएकाहरु घर बिदामा फर्किदा उनीहरुलाई प्रयोग गरी ५ तोला बराबरका बाला बनाएर सुन नेपाल भित्र्याउन थाले। प्रहरीले त्यो कुरा पनि सुईको पायो र त्यसमा पनि निगरानी बढाउन थाल्यो। त्यसपछि तस्करले सुनका भित्रीवस्त्र बनाएर पठाउन थाले र पछिल्लो समय प्रहरीले त्यो जालो पनि तोड्न सफल भयो।

अनुसन्धान अधिकारिका अनुसार साउन २९ र ३० गते पक्राउ परेका बिक र गजमेर एकै सुन तस्करीका भरिया हुन्। उनीहरुलाई सुन ल्याउनकै लागि नेपालबाट दुबई पठाइएको हो। स्रोतका अनुसार दुबईमा सुन लिन जानेहरुलाई तस्करले नेपालमै ओरिन्टेसन दिने गरेका छन्। उनीहरुलाई सबै पाठ पढाउनुका साथै काउन्सिलिङ समेत गरेर दुबई पठाउने गरिएको छ।

भिजिट भिसामा दुबई पुगेपछि उनीहरुको नापअनुसार भित्री लुगा जस्तै कट्टु, गन्जी तथा सर्टहरु सिलाएर लगाउन दिएर नेपाल पठाइन्छ।

आउँदा भन्सार, सेटिङ, जाँदा अध्यागमन सेटिङ, प्रहरी भने हेरेको हेर्यै

स्रोतका अनुसार साउन २९ र ३० गते तस्करीको सुन बोक्न दुबई पुगेका बिक र गजमेर पनि विमानस्थल सेटिङबाटै दुबई पुगेका हुन्। उनीहरुलाई तस्करले बकाइदाका साथ अध्यागमन सेटिङ गरेर दुबई पठाएका थिए।

भिजिट भिसामा खाडीमा गएका नेपालीहरु उतै लुक्ने र विभिन्न समस्यामा पर्न थालेपछि सरकारले पछिल्लो समय खाली मुलुकमा भिजिट भिसामा ब्यापक कडाइ गरेको छ। तर, त्यो नियम बिचौलीया र अध्यागमनका कर्मचारीमा लागु हुँदैन। विमानस्थल अध्यागमनमा कार्यारत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने,‘भन्नु के भन्नु साँच्चिकै घुम्न जानेहरुलाई अनेक बहाना बनाएर रोक्न खोजिन्छ सेटिङ गरेकाहरुलाई सरासर जान दिइन्छ, यो चलेको चलन हो कसैले रोक्न सक्दैन।’

बिएल नेपाली सेवासँग कुरा गर्दै ती कर्मचारीले एक किस्सा सुनाए,‘हामीसँगै आएका एक जना सरले यही बसेर काठमाडौँमा घर किन्नुभयो, म्याडमको लागि कार र प्रेमिकालाई भव्य स्कुटर किनिदिनुभयो, यस्ता त कति देख्नपर्छ यहाँ बस्दा, नियम भन्ने कुरा सोझालाई मात्र हो।’ स्रोतकाअनुसार अध्यागमन सेटिङमार्फत् युवा मात्र हाेइन अहिले युवती पनि उत्तिकै जाने गरेका छन।

स्रोतकाअनुसार सुन तस्करले अहिले जाँदा अध्यागमन सेटिङ र आउँदा भन्सार सेटिङ गरेर आफ्नो धन्दा गर्दै आएका छन्। विमानस्थलमा जति पनि सुन बरामद भएको छ, त्यो सबै भन्सार कटेर मात्र बरामद हुन्छ। भन्सार बाहिर बरामद हुने सुन भन्सारमा किन हुँदैन ? लामो समयदेखि विमानस्थल भन्सारमा कार्यरत एक कर्मचारीले भने,‘भन्सारले नदेख्ने त्यही परतिर प्रहरीले कसरी देख्यो ? हामीले भन्न मिलेर बिदेशबाट ल्याएका रक्सी खोसिन्छ तर सुन तस्करका सुडकेस सरासर बाहिर जान्छन्।’

उनका अनुसार भन्सारका कर्मचारीले सेटिङ गर्दा प्रहरीले समाते आफूहरु जिम्मेवार नहुने भन्दै त्यही अनुसारको सहमति गरेका हुन्छन्।

प्रकाशित मिति: : 2022-09-26 17:20:00

प्रतिकृया दिनुहोस्