युरोपमा रहेका नेपाली चेलीलाई लाग्याे तीज

युरोपियन देशहरूमा रहेका नेपाली दिदीबहिनीहरुमा तीजको रौनकता बढदै गएको छ। यहाँको नेपाली समाजमा तीज आउनु अगाडिदेखि नै दर खाने र खुवाउने प्रचलन रहँदै आएको छ।

बेल्जियम, स्पेन, पोर्चुगल, डेनमार्कलगायतका देशहरूमा एक दशकभन्दा बढी समयदेखि तीज मनाउन नेपाल जान नपाएका चेलीहरु पनि प्रशस्तै रहेका छन्।

उनीहरुलाई माइतीको सम्झना र नेपालको तीज झलझली आँखामा आउने गरेको छ। धेरैले प्रवासमा रहेर पनि दर खाने तथा तीज कार्यक्रममा गएर नेपालको रहर मेटाउने गरेका छन्।

गैंडाकोट घर भइ हाल बेल्जियमको ब्रुज शहरमा विगत लामो समयदेखि बस्दै आएकी सीता तिमिल्सिना परदेशमा पनि नेपालमा जसरी नै तीज मनाउन पाउँदा निकै खुसी छिन्। सधैं काममा व्यस्त रहेपनि दर खान र तीज मनाउन सबैजना छुट्टी मिलाएर जमघट हुने, रमाइलो गर्ने गरेको सीता बताउँछिन्।

‘बेल्जियममा सबै ठाउँका दिदी-बहिनीहरू हुनुहुन्छ, छुट्टै माया प्रेम हुन्छ। अझ हामी नेपाली चेलीहरुलाई तीज पर्वको छुट्टै महत्व हुन्छ, झन् परदेशमा यसको महत्व बेग्लै हुन्छ’, सीताले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘नेपालमा जस्तो सबै परिवार, नातागोता हुन सम्भव छैन तर हामी दिदीबहिनीहरू आफूमा आफन्त, परिवार मानेर तीज मनाउँदा छुट्टै राैनकता हुन्छ।’

युरोपमा रहेका देशहरूमा विभिन्न नेपाली संघसंस्थाहरु रहेका छन्। ती संघसंस्थाहरुले हरेक वर्ष तीज कार्यक्रम आयोजना गरेर दर खुवाउने तथा नाचगानकाे कार्यक्रम राख्दछन्। पछिल्लो समयमा यहाँ तीज आउनु तीन हप्ता अगाडिबाट दर खुवाउने-खाने चलन पनि बढेको छ।

दिदीबहिनीहरूले पालैपालो सबैलाई बोलाएर दर खुवाउने, नाच्ने, रमाइलो गर्ने गरेका छन्। जसले गर्दा विदेशमा भएपनि नेपालको झल्को मेटाउने गरेको देखिन्छ।

यसरी प्रवासमा तीज मनाउँदै गर्दा धेरै चेलीहरूलाई नेपालकै झल्को पनि बढी आउने गरेको छ। यहाँको सुख सुविधा जति धेरै भएपनि याद उतैको आउने धेरै दिदीबहिनीहरू बताउँछन्।

यसैमध्येकी एक हुन्, गुल्मी घर भइ डेनमार्क बस्दै आएकी गीता अर्याल। गीता भन्छिन्, ‘प्रवासमा तीज मनाएको रमाइलो देखिनु, मन रमाउनु फरक कुरा हो तर माइती, परिवारभन्दा टाढा रहेर मनाउँदै गर्दा माइतीलाई सान्त्वना दिनुजस्तै रहेको छ।’ उनी पनि साथीभाइसंग तीज मनाएर तीजको रहर मेटाउने गरेकी छिन्।

उता स्पेनमा लामो समयदेखि बस्दै आएकी लोकदोहोरी गायिका सुमित्रा घिमिरे सापकाेटा पनि सीता र गीताको भनाइसंग सहमत छिन्।

प्रवासमा मनाउँदै गरेको तीज पर्वकाे बारेमा आफ्नो अनुभव सुनाउँदै सुमित्रा भन्छिन्, ‘नेपालीले नेपालमा बसेर तीज पर्व मनाउनु र प्रवासमा बसेर मनाउँदा एकै जस्तो लागे पनि सारमा फरक हुन्छ। आफू जन्मे हुर्केको घरपरिवार र समाजमा बसेर मनाउने चाडले भावना, आत्मियता, निकटता र सामुदायिक सद्भाव झल्काउँछ। ती कुराहरु हामी प्रवासमा बसेर चाड मनाउँदा अनुभूति गर्न त्यति पाउँदैनौँ। कति कुरा त चाड मनाउने विधि विधान नै पुर्याउन सक्दैनौँ। प्रवासी जीवनको विवशता, बाध्यता र व्यस्तताका बीचबाट निक्लेर चाडपर्व मनाउने प्रयास गरिरहँदा केही खल्लो अनुभूति त हुन्छ, तर पनि हामी नारीहरुको महत्वपूर्ण चाड तीजले हर्षाेल्लास नल्याउने त कुरै भएन। त्यसैअनुरुप मनाउने प्रयास गरिरहेका हुन्छौ।’

युरोपियन देश पोर्चुगलमा पछिल्लो समय नेपालीहरुको बस्ती बाक्लिँदै गएको छ। नेपाली जहाँ धेरै हुन्छन्, त्यहाँ नेपालीपन हुने नै भयाे। अझ नेपाली चाडपर्वको रमाइलो बेग्लै हुन्छ। सम्भवत तीज पर्वमा विशेष रमाइलो पोर्चुगलमा रहेका नेपाली दिदीबहिनीहरूमा हुने गर्दछ। तर जति रमाइलो भएपनि उनीहरूलाई स्वदेशको माइती, तीज, दरकाे अभाव खड्किरहेको हुन्छ।

यस्तै काठमाडाैँ घर भइ पोर्चुगलको राजधानी लिस्वन बस्दै आएकी कविता गौतम भन्छिन्, ‘नेपालमा माइतीले बोलाउने, दर खान जाने, परिवारसंग रमाइलो गर्ने, पञ्चमी गर्ने हुन्छ। तर यहाँ त्यो सबै सम्भव हुँदैन, त्यो अभाव रहन्छ तर पनि कार्य व्यस्तताका बावजुत आफ्नो अनुकूल मिलाएर तीज मनाएर रमाइलो गर्ने, सुख-दुःख साटासाट गर्ने गरिरहेका छौं।’

उता जर्मनीको बर्लिन सहरमा बस्दै आएकी सावित्रा अर्याल अधिकारी नेपालमा जस्तै विदेशमा पनि तीज भड्काइलो बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्छिन्। अधिकारीले प्रवासमा हामी सबैले सभ्य र भव्य तरिकाले तीज मनाउनुपर्ने हुँदा त्यता पनि ध्यान दिन सबैलाई आग्रह गरिन्।

युरोपियन भूमिमा पहिलो पुस्तासँगै दोस्रो पुस्ता पनि हुर्किरहेका छन्। उनीहरूलाई पनि तीज पर्वको राैनक उत्तिकै देखिन्छ। जसले गर्दा चाडपर्वकाे बारेमा जानकारी लिँदै नेपाली संस्कार, संस्कृति संरक्षणमा उत्तिकै टेवा पुगेको छ। तर समय क्रमअनुसार यता पनि तीज पर्वमा नेपालीहरुबीच प्रतिस्पर्धा उत्तिकै रहेको छ। गहना प्रदर्शन, दर खुवाउने प्रतिस्पर्धालगायतका विकृति पनि बढ्दै गएको छ। सम्पूर्ण दुःख थकानका बीच पनि तीज पर्व मनाउँदै गर्दा विकृति आउन नदिने हो भने युरोपियन भूमिमा मनाइने तीजको रमाइलो बेग्लै हुनेमा दुईमत छैन।

प्रकाशित मिति: : 2022-08-18 18:36:00

प्रतिकृया दिनुहोस्