शव्द, सङ्गीत र स्वरका ‘त्रिवेणी’ अर्थात् गोपाल योञ्जन

म दक्षिण भुटानको न्याउलीमा जन्मेँ । न्याउली भुटानको अलिपछि नै खोलिएको नयाँ बस्तीमा पर्छ।सम्भावनाको अलि बढी नै खोजी गर्दै बसाइ सर्ने मानिसहरू त्यहाँ पुगेका थिए । हाम्रो  परिवार पनि सम्भावनाको खोजी गर्ने परिवारमा पर्थ्यो ।  

मानव सभ्यताको पाना पल्टाउँदा  जुन जाति सम्भावनाको खोजी गर्दै नयाँ ठाउँमा बसाइ सरेको छ, चुनौतिको सामना गर्नुपरे पनि प्रगति उसैले गरेको पाइन्छ । भनाइ नै छ, जति डाँडाँ काटिन्छ, त्यति नै टाढा देखिन्छ । हामी पनि धेरै डाँडा पार गरेर त्यहाँ पुगेका थियौं ।

हाम्रो परिवार चुनौति लिन नडराउने र नयाँ नयाँ सम्भावनाको खोजी गर्नेमध्येमा पर्छ । मेरो बुबा  भन्नुहुन्थ्यो,  जोसँग शिक्षा हुन्छ उही अगाडि पुग्छ । मलाई उहाँले दिनु भएको जीवनको पहिलो पाठ त्यही थियो । जुन पाठ छिचोलेर आजपर्यन्त म जिन्दगीका उकाली-ओराली अनि भञ्ज्याङ- चौतारी नापिरहेको छु ।

मैले जान्दा न्याउलीमा रेडियो सामान्य भैसकेको थिएन । सारै थोरै घरमा मात्र रेडियो बज्थ्यो । यसरी रेडियो बज्ने घरमा हाम्रो घर पनि थियो । बुबा आफू पनि रेडियो सुन्नुहुन्थ्यो र परिवारका सदस्यलाई पनि सुन्न भन्नुहुन्थ्यो । 

त्यतिबेला आज जस्तो बिजुली थिएन, ब्याट्रीबाट रेडियो बजाउँनु पर्थ्यो । त्यसैले दिनभरी रेडियो बजाउन सम्भव थिएन । विहान र बेलुका भने हाम्रो घरमा नियमित रूपमै रेडियो बज्थ्यो ।  

हाम्रो घरको रेडियोमा सधैंभरि रेडियो नेपाल नै लागेको हुन्थ्यो । अहिले बुझ्दा रेडियोको ब्याण्ड र मिटर नफेरिएर त्यस्तो भएको रहेछ । त्यसैले मेरो वालदिमाखमा रेडियो भन्ने बित्तिकै रेडियो नेपाल मात्र हुन्छ भन्ने परेको थियो । आज पनि मेरो दिमाखमा विहान बज्ने भजन, समाचार अनि त्यसपछि बज्ने राष्ट्रिय गीत, साँझ बज्ने बाल कार्यक्रम र दिउँसोतिर बज्ने आधुनिक र लोकगीतका फर्माइसी कार्यक्रमहरूको सम्झना तरेली परेका छन् ।

म यस्तै सात वर्षको थिएँ होला, रेडियोमा एउटा गीत बजिरहन्थ्यो, 
देशले रगत मागे मलाई बली चढाउ
रूदिनन् मेरी आमा ऊ नेपालीकी छोरी

सात वर्षको उमेर, मैले यो गीतको अर्थ र भाव बुझ्ने कुरै भएन । तर, पनि किन हो  मलाई यो गीत असाध्यै मन पर्थ्यो । भनिन्छ,  जिन्दगी नै एक किसिमको संजोगका फूलहरू उनेर बनाइएको माला हो । शायद, यो गीत मन पर्नु पनि मेरो लागि त्यस्तै एउटा मीठो संजोग थियो ।

गीत बजाउँदा यो गीतका रचनाकार, सङ्गीतकार र गायकका रूपमा गोपाल योञ्जनको नाम त पक्कै पनि भनिन्थ्यो नै । शायद बालक नै भएकाले होला, मेरो ध्यान धेरै पछिसम्म पनि यो नामले तानेको थिएन, तानेको थियो त गीत र धुनले मात्रै ।  

यस्तै ९-१० वर्षको थिएँ होला, रेडियोमा यही गीत बजिरहेको थियो । गाउँको कोही मान्छेले भन्यो, ‘अस्ति दार्जिलिङ गएको बेला यो गीत गाउँने मान्छेलाई देखियो, उसले आफैं गाएको सुनियो । रेडियोमा सुनेको भन्दा ठाउँमै गाएको सुन्दा मज्जा हुँदोरहेछ ।‘

त्यो गाउँले दाइले भनेपछि मात्र मलाई यो गीतको स्रष्टाको नामले तान्न थाल्यो । म एक किसिमको सचेत मनले भन्न सक्ने भएँ कि यो गीत गोपाल योञ्जनले लेख्नुभएको रहेछ, सङ्गीत भर्नु भएको रहेछ र गाउँनु भएको रहेछ । र, उहाँ भारतको दार्जिलिङमा बस्नु हुँदोरहेछ ।  

यसरी मैले पहिलोपटक गोपाल योञ्जनको नाम मलाई मन परेको गीतको रचनाकार, सङ्गीतकार र गायकका रूपमा मेरो मानसपटलमा सम्मानका साथ राखें । त्यसयता दशकौं बित्यो, उमेरसँगै जिन्दगीले अनेक घुम्तीहरू नापिसक्यो, स्वयं श्रष्टा गोपाल योञ्जन पनि यो धरतीबाट विदा भैसक्नुभयो । तैपनि न त्यो गीत बज्न छोडेको छ, न उहाँप्रतिको सम्मानमा कुनै कमी आएको छ । बरू, उहाँप्रतिको सम्मानको सगरमाथा अझ चुलिँदो छ ।

नेपालभित्र रहेका नेपालीका लागि उहाँलाई हेर्ने आँखाहरू विभाजित हुन सक्छन् तर नेपाल बाहिर रहेका नेपालीका सबै आँखाले गोपाल योञ्जनलाई लगभग एउटै देख्छन्, साँचो मानेमा एक मनको नेपाली । उहाँको तन जन्मदा भारतीय थियो, निधन हुँदा नेपाली भयो । तर, एउटा कुरा भने ढुक्कका साथ भन्न सकिन्छ कि उहाँको मन सधैं नेपाली नै थियो र जीवनपर्यन्त रह्यो पनि । र, उनका सिर्जनाहरू खाँटी नेपाली मनका सिर्जनाका रूपमा जहाँ रहे-बसेका भए पनि सारा नेपाली मनहरूमा राज गरिरहे ।

गोपाल योञ्जन बिनाको नेपाली संगीत आजको स्वरूपमा कल्पना पनि गर्न सकिन्न । उनका कालजयी अमर शव्द, सङ्गीत र स्वरलाई माइनस गर्ने हो भने उनको सिर्जना बिनाको नेपाली संगीतको भण्डार सह बिनाको भकारी जस्तै हुन्छ । 

मैले  मेरो जिन्दगी तीन फरक परिचयका साथ बाँचेको छु, भुटानी, शरणार्थी अनि अमेरिकी । म जन्मदा भुटानी थिएँ, केही समय नेपालमा शरणार्थी रहे, त्यसपछि अहिले म अमेरिकी भएको छु । यी सबै मेरा प्राविधिक र समयक्रमका  अस्थायी परिचय हुन् । तर, यी तीन परिचयभन्दा पनि ठूलो  परिचयका साथ बाँचेको छु, भुटानी, शरणार्थी अनि अमेरिकी । म जन्मदा भुटानी थिएँ, केही समय नेपालमा शरणार्थी रहे, त्यसपछि अहिले म अमेरिकी भएको छु । यी सबै मेरा प्राविधिक र समयक्रमका अस्थायी परिचय हुन् । तर, यी तीन परिचयभन्दा पनि ठूलो परिचय जो हरेक परिचयसँग स्थायी रूपमा जोडिएको छ, त्यो हो नेपाली । म भुटानी हुँदा पनि नेपाली थिएँ, शरणार्थी हुँदा पनि नेपाली थिएँ र अहिले अमेरिकी हुँदा पनि नेपाली नै छु ।

म र मजस्तै जीवन बाँचेका हरेक नेपालीका लागि गोपाल योञ्जनसँग केही प्रोक्सिमिटी पाइन्छ । त्यो के हो भने उहाँले हामीले जस्तो तीन खण्डमा जिन्दगी नबाँचे पनि दुई खण्डमा जीवन बाँच्नुभयो । उहाँ जन्मदा भारतीय हुनुहुन्थ्यो, निधन हुँदा नेपाली । उहाँ नेपाल बाहिरको नेपालीकै रूपमा हुर्किनु भयो, त्यही किसिमले शिक्षित-प्रशिक्षित हुनुभयो । उहाँका लागि नेपाल बाहिरको नेपालको एक किसिमको खुल्ला विश्वविद्यालय थियो । यो विश्वविद्यालयमा उहाँलाई नेपाल बाहिरको नेपाली हुँदाको जीवन अनुभूति प्राप्त भयो, त्यसैको परिणाम हो यो कालजयी गीत, 

घर त मेरो हिमाली पाखा बेसी हो रे
कुन दिनको संयोगले बने लाहुरे ।

जब उहाँ नेपाल पुग्नुभयो, त्यहाँ उहाँको स्वागतमा मनको ढोका मात्र खोलिएको थिएन, कयौँ समकालिन इर्श्याले जलेका भष्मिभूत मनहरू पनि थिए । ती अभिसप्त मनहरूले उहाँलाई चुनौतिको पहाडका रूपमा लिएर कयौपटक दुखाए पनि । त्यही पीडामा उहाँले यो कालजयी गीत सिर्जना गर्नुभयो,

भनिदेऊ नेपाली दाजु मेरो देश कहाँ पर्‍यो
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो

उहाँको यो गीत दुर्भाग्यले आफ्नै पुर्खाको देशमा शरणार्थी बन्न आइपुगेका म र मजस्ता धेरै भुटानी नेपालीका लागि मनको नजिकको गीत रह्यो । त्रिभुवन विश्वविद्यालयमा अध्ययरत रहदा उहाँको जन्म नेपाल बाहिर भएको कारण गरिएको होलोहोचोलाई लिएर सिर्जना गरिएको यो गीत बस्तीहरूबाट शिविरहरूतिर ‘भोटाङे’ भनेर प्रहार गरिएका तिरस्कारका तीरहरू सामना गर्दा हाम्रै लागि लेखेजस्तो लाग्थ्यो ।

हामी भुटानी-नेपालीहरूका लागि गोपाल योञ्जन एक विशेष सङ्गीतश्रष्टा हुनुहुन्छ । यसका एक हैन, अनेक कारण छन् । त्यसमा पनि मूलकारण त उहाँका गीत-सङ्गीतमा ढुङ्गा-माटोले बनेको भूगोलको राष्ट्रभन्दा परको नेपाली मनको देश हुनु नै हो जहाँ हामी भुटानी-नेपाली पनि अटाएका थियौ र छौं ।

म पनि आफूलाई गोपाल योञ्जन संगीत घरानाको एक चेलो भन्न चाहन्छु । र, गीत सिर्जनामार्फत् आफूले सकेको योगदान गरेर उहाँको  संगीत घरानामा निरन्तर जोडिरहन चाहन्छु । मलाई थाहा छ, म यसका लागि योग्य छैन तर पनि यो मेरो उहाँप्रतिको श्रद्धा सुमन हो  र जीवनपर्यन्त रहिरहने छ ।

जतिबेला भुटानी नेपाली सङ्गीतका आदि-व्यक्तित्व  प्रताप सुब्बा र केही अन्य अग्रजका हातका औंलामा गन्न सकिने बाहेक हामीसँग आफ्नै गीत-संगीत थिएनन्, त्यतिबेला हाम्रो मनको गीत लेखिदिने, संगीत भरिदिने र गाइदिने विरलाकोटीमा गोपाल योञ्जन पर्नुहुन्थ्यो । उहाँ पनि हामी जस्तै एक प्रबासी नेपाली भएकाले हाम्रो मर्म साझा थियो । त्यही कारण पनि हामी जहाँ रहेपनि हामीबीच एक किसिमको भावनात्मक प्रोक्सिमिटी रहिरह्यो । त्यही पृष्ठभूमीमा सिर्जना गरिएका गीत-सङ्गीतले हामीलाई छोइरहे ।

गोपाल योञ्जन नेपाल बाहिर रहेका नेपालीका लागि एक आदर्श संगीत घराना पनि हुनुहुन्छ । उहाँको संगीत घरानालाई पछ्याउँदै आज सयौ भुटानी-नेपाली श्रष्टाहरू सङ्गीतका तिनै विधा शव्द, संगीत र स्वरमा लागी परेर नेपाली सङ्गीतको श्रीवृद्धिमा योगदान गरिरहेका छन् । आज हामीसँग गोपाल योञ्जन त हुनुहुन्न तर उहाँले सिर्जना गर्नुभएका कालजयी नेपाली गीत-संगीत र आफ्ना सिर्जनामार्फत् उहाँको संगीत घरानालाई पछ्याइरहेका भुटानी-नेपाली श्रष्टाहरू हुनुहुन्छ ।

म पनि आफूलाई गोपाल योञ्जन संगीत घरानाको एक चेलो भन्न चाहन्छु । र, गीत सिर्जनामार्फत् आफूले सकेको योगदान गरेर उहाँको  संगीत घरानामा निरन्तर जोडिरहन चाहन्छु । मलाई थाहा छ, म यसका लागि योग्य छैन तर पनि यो मेरो उहाँप्रतिको श्रद्धा सुमन हो र जीवनपर्यन्त रहिरहने छ । भनिन्छ नि,  मान्छे मर्दछ तर ऊप्रतिको भावना भने सँधैभरि बाँचिरहन्छ ।

हामी भुटानी-नेपालीहरूका लागि गोपाल योञ्जन एक विशेष सङ्गीतश्रष्टा  हुनुहुन्छ । यसका एक हैन, अनेक कारण छन् । त्यसमा पनि मूलकारण त उहाँका गीत-सङ्गीतमा ढुङ्गा-माटोले बनेको भूगोलको राष्ट्रभन्दा परको नेपाली मनको देश हुनु नै हो जहाँ हामी भुटानी-नेपाली पनि अटाएका थियौ र छौं ।

मलाई लाग्दछ, नेपाली संगीतको क्षेत्रमा शव्दमा कालीप्रसाद हुनुहुन्छ, संगीतमा नातिकाजी हुनुहुन्थ्यो, स्वरमा नारायणगोपाल हुनुहुहुन्थ्यो । उहाँहरूले आआफ्नो विधामा मानक कायम गर्नुभएको छ । तर, शव्द, संगीत र स्वर तीनै विधामा एउटै नाम खोज्ने हो भने गोपाल योञ्जनको जोडा कोही छैन र हुदैन पनि । वास्तवमा भन्ने हो भने गोपाल योञ्जन नेपाली सङ्गीत क्षेत्रमा शव्द, संगीत र स्वरका त्रिवेणी नै हुन् । 

गोपाल योञ्जनका सिर्जनाहरूमाथि संगीतका मर्मज्ञ र समीक्षकहरूले समीक्षा गरेका छन्, प्राज्ञिक थेसिसहरू भएका छन् । गिती साहित्यको कोणबाट पनि आलोचना, विवेचना, समालोचना भएका छन् । समग्रमा उनको सिर्जनामाथि विभिन्न कालखण्डमा निरन्तर रूपमा थेसिस, एन्टीथेसिस र सिन्थेसिस भएका छन् । ती सबैको निस्कर्ष एउटै छ, गोपाल योञ्जन बिनाको नेपाली संगीतको कल्पना गर्न सकिन्न । एकछिन उनलाई माइनस गरेर नेपाली संगीतको भण्डार हेरौं, संख्यात्मक रूपमा खासै असर नपर्ला तर गुणात्मक रूपमा कति असर पर्छ भनेर अनुमानसम्म पनि लगाउँन सकिन्न । उनको सिर्जना बिनाको नेपाली संगीतको भण्डार सह बिनाको भकारी जस्तै हुन्छ ।

गोपाल योञ्जनप्रति हामी भुटानी नेपाली संगीत श्रष्टाहरू नतमस्तक छौं र हुनु पनि पर्छ ।

माटोको सुवास आउने नेपाली सङ्गीतका अमर श्रष्टा श्रद्धेय गोपाल योञ्जनप्रति श्रद्धापूर्वक मेरो यो त्यही भावनाको गीत अर्पण गर्दै आलेखको बिट मार्ने अनुमति चाहन्छु -

 भूगोलभित्र खोजिन कि जूनको सहारा लिई
माटो बोकी हिँडिन कि देश गुमेपछि
पूर्वतिर खोज्दै हिँडे लक्ष्य एउटै लिई
देश मेरो बल्ल मिल्यो पश्चिम सरेपछि
भूगोलभित्र खोजिन कि ...

ब्यथा बोकी पीडाहरु भुल्दै हिँडिन कि
अस्तित्वको लडाइँ सधैं लडदै हिँडिन कि
पूर्वतिर खोज्दै हिँडे लक्ष्य एउटै लिई
देश मेरो बल्ल मिल्यो पश्चिम सरेपछि
भूगोलभित्र खोजिन कि ...

वर्षा यामको झरीसँगै आकाश ओडिन कि
देश खोज्दै भौतारिदै यात्रा मोडिन कि
पूर्वतिर खोज्दै हिडेँ लक्ष्य एउटै लिई
देश मेरो बल्ल मिल्यो पश्चिम सरेपछि

भूगोलभित्र खोजिन कि ...

(डा. पोख्रेल नेपाली भाषी भुटानी-अमेरिकी कवि तथा गीतकार हुन् । हाल उनी अमेरिकाको पेन्सेल्भेनिया राज्यको ह्यारिस्वर्गका बासिन्दा हुन् ।) 

प्रकाशित मिति: : 2022-09-04 05:18:00

प्रतिकृया दिनुहोस्