प्रदेश १ बाट प्रतिनिधिसभाका लागि एमालेका १२ जना सर्वसम्मत सिफारिस

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि दलहरुले उम्मेदवारको नाम सिफारिस गर्ने क्रम जारी छ। सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा रहको नेकपा एमालेले कतिपय निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवारको एकल नाम सिफारिस गरेको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश रहेको प्रदेश १ मा एमालेले १२ जना उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेको छ।

एमालेमा प्रदेश १ बाट अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र सचिव योगेशकुमार भट्टराई पदाधिकारी छन्। तीन पदाधिकारीमध्ये ओली र नेम्वाङमात्र सर्वसम्मत भएका छन्। भट्टराईका नाममा सर्वसम्मत हुन सकेको छैन।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली झापा–५ बाट सर्वसम्मत सिफारिस भएका छन्। ओली २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका हुन्।

ओलीले ०७४ मा नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ८८२ को फराकिलो मतान्तरले पराजित गरेका थिए। ओलीले ५७ हजार १३९ मत ल्याउँदा अधिकारीले २८ हजार २५७ मत मात्र ल्याएका थिए।

२०५६ सालदेखि इलामबाट लगातार चुनाव जितेका एमाले उपाध्यक्ष नेम्वाङ इलाम २ बाट सर्वसम्मत सिफारिस भएका छन्। नेम्वाङ दुई पटक राष्ट्रियसभाको अध्यक्ष र दुई पटक नै संविधानसभाको अध्यक्ष भइसकेका छन्। २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए।

एमाले माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका नेम्वाङले नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए। उनले ३६ हजार ५१७ मत ल्याउँदा थापाले २६ हजार ८६५ मत ल्याएका थिए।

२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर–३ बाट विजयी बनेका भानुभक्त ढकाल केपी ओली प्रधानमन्त्री हुँदा पर्यटन र स्वास्थ्य मन्त्री भए। अघिल्लो निर्वाचनमा ढकालले मेडिकल व्यवसायीसमेत रहेका नेपाली कांग्रेसका डा. सुनिल शर्मालाई पराजित गरेका थिए। ढकालले ४२ हजार ४१३ मत पाउँदा शर्माले ४० हजार ५०७ मत पाएका थिए। ढकाललाई एमालेले सोही क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमालेले वसन्तकुमार नेम्वाङको एकल नाम सिफारिस गरेको छ। २०७४ को निर्वाचनमा विजयी भएका नेम्वाङ ओली प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार मन्त्रीसमेत भए। उनले नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्वेलाई पराजित गरेका थिए। नेम्वाङले ३८ हजार ६४२ मत पाएका थिए भने कांग्रेसका आङ्देम्वेले २८ हजार ५ मत ल्याएका थिए।

केपी ओली निकट रहेकी भगवती चौधरी सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत सिफारिस भएकी छिन्। उनी अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग झिनो मतको अन्तरले पराजित भइन्। उनले ३८ हजार ६५१ मत प्राप्त गर्दा गच्छदारले ३८ हजार ९७२ मत ल्याएर विजयी बनेका थिए।

२०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका विश्वप्रकाश शर्मालाई पराजित गरेको रविन कोइराला झापा–१ बाट सर्वसम्मत सिफारिस भएका छन्। यस क्षेत्रमा २०७४ को निर्वाचनमा एमाले-माओवादीको वाम गठबन्धनबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका थिए। उनले नेपाली कांग्रेसका शर्मालाई नै पराजित गरेका थिए।

सुनसरी क्षेत्र नम्बर–१ बाट जयकुमार राईको नाम सर्वसम्मत सिफारिस भएको छ। तत्कालीन नेकपा हुँदा माधव–प्रचण्ड समूहमा रहेका उनी एमाले विभाजनपछि एमालेमै बसेका थिए। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।

कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेका जसपाका अशोक राईलाई उनले फराकिलो मतान्तरले पराजित गरेका थिए। एमालेका जयकुमार राईले ४४ हजार ५२८ मत ल्याउँदा अशोक राईले २२ हजार १२३ मत मात्र पाएका थिए।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा–४ बाट विजयी भएका लालप्रसाद साँवा (एलपी) लाई एमालेले सोही क्षेत्रबाट सर्वसम्मत सिफारिस गरेको छ। अघिल्लो निर्वाचनका साँवासँग नेपाली कांग्रेसका देउकुमार थेवे पराजित भएको थिए। साँवाले ४३ हजार ५१५ मत पाउँदा थेवेले २६ हजार ८२२ मत पाएका थिए।

तत्कालीन नेकपाका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन लड्दै आएको इलाम–१ मा उनै खनालविरुद्ध एमालेले महेश बस्नेतलाई उम्मेदवारका रुपमा सर्वसम्मत सिफारिस गरेको छ। बस्नेत हाल एमालेको इलाम जिल्ला अध्यक्ष छन्।

२०७४ को निर्वाचनमा एमाले माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका खनाल ३६ हजार ८०५ मत ल्याएर विजयी बने। उनीसँग कांग्रेसका भ्रपेन्द्र कट्टेल १९ हजार ६३८ मत ल्याएर पराजित बने। खनाल हाल नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीमा छन्।

मोरङ क्षेत्र नम्बर–४ बाट नेकपा एमालेले केन्द्रीय सदस्य विनोद ढकाललाई सर्वसम्मत सिफारिस गरेको छ। ढकाल २०७४ को स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार थिए। उनी कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए।

२०७४ मा यो क्षेत्र माओवादीले जितेको थियो। एमाले माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका अमनलाल मोदी ३३ हजार ४२९ मतका साथ विजयी हुँदा कांग्रेसका महेश आर्चाय २६ हजार ८ सय मत ल्याएर पराजित बने।

मोरङ क्षेत्र नम्बर–२ मा संविधानसभा सदस्य ऋषिकेश पोखरेलको एकल नाम सिफारिस भएको छ  । २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका पोखरेल २०७४ को निर्वाचनमा भने सोही क्षेत्रबाट पराजित भए।

एमाले-माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका उनी कांग्रेसका डा. मिनेन्द्र रिजालसँग पराजित भए। रिजालले ३५ हजथार ८१९ मत ल्याउँदा पोखरेलले ३४ हजार १४ मत ल्याएका थिए। पोखरेल एमाले मोरङका अध्यक्षसमेत हुन्।

यस्तै एमालेले एउटामात्र संघीय निर्वाचन क्षेत्र रहेको सोलुखुम्वुमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। सोलुखुम्बुमा एमालेले मानवीर राईको एकल नाम सिफारिस गरेको हो। यहाँ अघिल्लो निर्वाचनमा माओवादीका हेमकुमार राई निर्वाचित भएका थिए। उनले नेपाली कांग्रेसका प्रभावशाली नेता बलबहादुर केसीलाई पराजित गरेका थिए।

प्रकाशित मिति: : 2022-09-06 15:30:00

प्रतिकृया दिनुहोस्