पल र सन्दीप यस्ता अन्तिम पात्र बनुन्

पछिल्लो समय नेपाली समाजमा बलात्कारजन्य अपराधिक घटनाक्रम बढ्दो छ। हाम्रो समाजमा भर्खर बामे सर्दै गरेकी नाबालिगदेखि वृद्धा भएका आमाहरुसम्म बलात्कारको शिकार बनिरहेका छन्।

मान्छेले सफलता पाउन र इज्जत कमाउनका लागि निकै संघर्ष गर्नुपर्छ। मेहनत गनुपर्छ। दुख, पीडा पनि उत्तिकै सहनुपर्छ। तर त्यत्तिका मेहनत, संघर्ष र इज्जत खेर जान कत्ति पनि समय नलाग्दो रहेछ। यो मैले कलाकार पूर्ण विक्रम शाह (पल) र क्रिकेटर सन्दीप लामिछानेको घटनाबाट अनुभूति गरेको कुरा हो। यी दुई त प्रतिनिधि पात्र मात्र हुन्।

पछिल्लो पटक नेपालका यी दुई चर्चित व्यक्तिहरु बलात्कारको घटनामा मुछिएका छन्। नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोपमा केही समयदेखि नेपालका चर्चित कलाकार पल शाह कारागारमा छन्। भर्खरै मात्र जिल्ला अदालत पूर्वी नवलपरासीले शाहविरुद्ध दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ। १० लाख क्षतिपूर्ति भराउन आदेश पनि दिएको छ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै ती नाबालिग गायिकाले उजुरी दिएकी थिइन्। तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते नाबालिगका बुवाले उजुरी दिएका थिए।

जिल्ला अदालतले पल शाहलाई सजाय सुनाएकै दिन करिब रातको १० बजे एउटा ब्रेकिङ समाचार आयो ‘क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जवर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी’। यो खबर धेरैले पत्याएनन्। सुरुमा त मलाई पनि विश्वास लागेको थिएन। तर नेपालका राष्ट्रिय सञ्चार माध्यममा आएपछि सबैले नपत्याउने कुरै भएन।

पल शाहको घटना निर्मुल हुन नपाउँदै सन्दीपविरुद्धको आरोपले धेरै नेपालीमा निराशा छायो। सन्दीप जस्तो अन्तर्राष्ट्रिय स्तरका क्रिकेट खेलाडीको यस्तो हर्कत बाहिरिँदा धेरैलाई नराम्रो लाग्यो।

सन्दीप अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त खेलाडी हुन्। नेपाली क्रिकेट टिमका कप्तान पनि हुन्। अझ गर्व गर्न लायक कुरा त उनी आइपिएल खेल्ने पहिलो नेपाली हुन्। उनी यो स्तरसम्म आइपुग्न उनको ठुलै संघर्ष, मेहनत र परिश्रम छ। बिना मेहनत र परिश्रम कोही मान्छे सफल पक्कै हुँदैन। उनको त्यो अपार सफलता क्षण भरमै ध्वस्त भएको आभास दिलाएकाे छ। उनीमाथि लागेको यो दाग नेपाली समाजले सायद स्वीकार गर्न सम्भव छैन होला।

एकातिर पीडितका कुरा त छँदैछ, अर्कोतिर प्रहरी अनुसन्धानकाे क्रममा फेला परेका केही आधारहरुबाट पनि सन्दीप दोषी हुने शंका उत्पन्न गरेकाे छ। तर, सन्दीपले आफू निर्दोष भएको बताएको सञ्चारमाध्यममा समाचारहरु प्रकाशित भइरहेका छन्। उनलाई पक्राउ पुर्जी जारी गरेको पनि समाचार आइरहेका छन्।

देशमा बलात्कार निर्मूल पार्न विभिन्न अभियान, कार्यक्रमहरु सञ्चालन भइरहे पनि दिन प्रतिदिन बलात्कारको घटना बढ्दै गइरहेको छ। आर्थिक अवस्था कमजोर भएका, विपन्न, अपाङ्गता भएका, नाबालिग, गर्भवतीदेखि वृद्धा उमेरसम्मका महिला बलात्कारको शिकार भइरहेका छन्। यस्ता जघन्य अपराध बढिरहेको बेला यस्ता चर्चित व्यक्तिहरु नै घटनामा मुछिँदा हाम्रो समाज विकृति र विसंगतिले ध्वस्त भएको आभास दिलाउँछ। त्यसैले कामना गरौँ, पल शाह र सन्दीप लामिछाने यस्ता अन्तिम पात्र बनुन्। यस्ता आपराधिक घटना सधैँका लागि अन्त्य होस्। 

प्रकाशित मिति: : 2022-09-08 18:08:00

प्रतिकृया दिनुहोस्