पेचिलो बन्दै अनुगमनः ७ शिक्षकको हाजिरी रजिष्ट्ररमा रेड

बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरलाई बृद्धि गर्ने उद्देश्यले अनुगमनको पाटोलाई पेचिलो बनाउँदै गएको छ। 

विगत दुई महिनादेखि निरन्तर चलिरहेको सामुदायिक विद्यालयहरुको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले छट्के अनुगमन गरिरहेका छन् । 

मंगलबार कोहलपुर नगरपालिका—८ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले छट्के अनुगमन गरेका छन्। 

नगर प्रमुख विहान ९ः ५० मिनेटमा विद्यालयको गेटमा पुगेका थिए। बालबालिकाहरु गेटबाट भित्र जाने क्रम जारी थियो। करिब १० बजेको समयमा नगर प्रमुुख आचार्य, शिक्षा शाखाका प्रमुख रविलाल मिजार, सामाजिक विकास संयोजक ईश्वरी विश्वकर्मा लगायतको टोली विद्यालयमा प्रवेश ग¥र्यो। 

केही शिक्षकहरुले हाजिरी गरी विद्यार्थीको लाइन लगाईरहेका थिए भने कतिपय शिक्षकहरु विद्यालयमा आइपुगेका थिएनन्। नगर प्रमुखको निर्देशनमा शिक्षा शाखा प्रमुख मिजारले शिक्षकहरुको हाजिरी रजिष्टर रोज्दै प्रशासन तिर गए। हाजिरी रजिष्ट्रर फल्टाउँदै समयमा नआएका शिक्षकको हाजिरी रजिष्ट्ररमा रेड लगाइिदए। 

हाजिरी गरेका शिक्षकहरुले विद्यार्थीलाई लाइनमा राखी राष्ट्रिय गीत र  पिटी गराउँदै थिए। समय १०ः २० भयो तर अझै ७ शिक्षकहरु विद्यालयमा प्रवेश गरेनन्।
 
अझै प्रशासनमा ती ७ शिक्षकहरु कति बजे आउँछन् भन्दै कुरिरहेका अनुगमनका टोली घडी हेर्दै बसिरहेका थिए। समय १०ः २५ भयो प्रअ विशाखर जैसी, शिक्षक हर्क बहादुर राना, पहलमान खड्का, बेग बहादुर थापा, माया वली, विष्णु केसी र नेत्रा थापा लगायत ७ जना शिक्षकहरु क्रमश १०ः३० बजेसम्म सबै आइपुगे। यि ७ शिक्षकको हाजिरी रजिष्ट्ररमा अनुगमन टोलीले रेड लगाईसकेको थियो।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले पहिलो चरणमा अनुपस्थिति मात्र हेरेका थियौं तर यो पटक हाजिरी रजिष्ट्ररमा नै रेड लगाउने प्रक्रिया सुरु गरेको बताए। ‘यो आर्थिक वर्षमा कोहलपुर नगरपालिकाले अरु बजेट भन्दा शिक्षामा बढि रकम विनियोजन गरेका छौं’, ‘पहिले शिक्षा क्षेत्रलाई परिवर्तन गर्छु त्यसपछि अरु क्षेत्रमा विस्तारै काम गर्नेछु उनले भने।’ पाँच वर्षमा कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेकोले सबैले साथ, सहयोग  र सुझाव दिन नगर प्रमुख आचार्यले आग्रह गरे।

विद्यालयका प्रअ विशाखर जैसीले एउटाको पहलबाट गुणस्तरीय शिक्षा दिन नसक्ने बताए। यहाँ शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त पहलबाट गुणस्तरीय शिक्षा प्रदान हुने जैसीले बताए। 

सरस्वती माविको शैक्षिक स्थिति
सरस्वती माध्यमिक विद्यालयको शैक्षिक स्थिति कमजोर देखिन्छ। जसलाई विद्यालय सुधार योजनामा रहेको शैक्षिक उपलब्धिले नै पुष्टी गर्दछ। 

विद्यालय सुधार योजनामा पाँच वर्षमा कति शैक्षिक उपलब्धि गर्न सकिन्छ भन्ने सम्मको राखिएको छ। जसलाई २०७७ देखि २०८१ सम्मको लक्ष्य १०० प्रतिशत राखिएको छ।

जसमा नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान विषय छन्। यि पाँच विषयमा कक्षा अनुसारमा न्यूनतम ४० देखि ९५ प्रतिशत सम्म शैक्षिक उपलब्धी गर्ने भनी उल्लेख गरिएको छ। तर उल्लेख भए अनुसारको शैक्षिक उपलब्धि भने कमजोर देखिन्छ।  विद्यालय सुधार योजनाको २०७७ तालिका नं. २ मा कक्षा १ देखि १० कक्षा सम्म उर्तिण संख्या उल्लेख छैन। तर तालिका नं. ३ मा कक्षागत औषत उपलब्धि १ मा ६२, २ मा ६५, ३ मा ७३,४ मा ६०, ५ मा ६१,६ मा ६८,७ मा ७४ र ८ मा ७१ रहेको छ जसको १—८ को उपलब्धी ५९.२५ प्रतिशत हो भने  कक्षा ९ मा ५७ र १० मा ५२.७५ रहेको छ जसको ९—१० को उपलब्धी ५४.५६ प्रतिशत हो। 

यस्तै विद्यालय सुधार योजनाको २०७८ तालिका नं. २ मा कक्षा १ देखि १० कक्षा सम्म तथ्थांक नै गलत छ। कक्षा ६ को उदारण हेर्दा, कक्षा ६ मा ६१ जना भर्ना भएका संख्या देखाइएको छ र विद्यार्थी तथा स्तानातरण गर्ने संख्या ५ जना देखाएइएको छ तर फेरी उतिर्ण संख्या पनि ६१ जना नै छ।
यस्तै विद्यालय सुधार योजनाको २०७८ तालिका नं. ३ मा सिकाई उपलब्धी विवरणमा औषत प्राप्त अंकलाई मानेको छ, जसलाई उर्तिण दर संख्या नै तोकिएको छैन। त्यसमा कक्षागत उर्तिण प्रतिशतमा सबै कक्षामा १०० प्रतिशत उर्तिण देखाइएको छ। 

प्रकाशित मिति: : 2022-09-13 22:46:00

प्रतिकृया दिनुहोस्