शताब्दी पर्खिरहेछ देश

BreaknLinks
BreaknLinks

को हुन् ती मानिसहरु
जो आँखाभरी
सम्भाव्यता जस्तो सपना बोकेर
खुरुखुरु पहाडजत्रो अनिश्चिता ओरालो झरिरहेछन्
को हुन् ती मानिसहरु
जो हात–हातमा
क्रान्ति जस्तो परिवर्तन बोकेर
हतार–हतार हिमालजत्रो संकल्प उक्लिरहेछन्
को हुन् ती मानिसहरु
म पहिलोपल्ट देखिरहेछु
जो आत्माभित्र 
एकैसाथ बोकेर
पहाडमाथि हिमाल
र हिमालमाथि पहाड
तराईका हरिया फाँटहरुमा
पहाड उक्लिरहेछन्
हिमाल आरोहण गरिरहेछन्।

महाशय!
के हजुर मलाई बताउन सक्नुहुन्छ
यो चिसो धर्तीमा
दरबारको ढोकाभित्रै भएपनि
हिजो भर्खरै
आफ्नो बक्खुभित्रबाट झिकेर
देशलाई न्याय पठाउने ती मानिसहरु को थिए?
के मलाई चोर औंलाले देखाउन सक्नुहुन्छ
हिजो भर्खरै
आफ्ना चिसा नसाहरुको स्विच थिचेर
राजधानीलाई उज्यालो पठाउने ती मानिसहरु को थिए?
के हजुर मलाई आश्वस्त तुल्याउन सक्नुहुन्छ 
हिजो भर्खरै ब्रिफकेशमा कोचेर
कुनै सम्झौताजस्तो देशलाई 
लिलाम गर्दै हिँड्न दिने कानुन 
क–कसले संविधानमा बनाउन लगाएका थिए?
के हजुरलाई थाहा छ
वस्तुभाउ मात्र हराउने जंगलमा
वा भनौं अराजकता उम्रिरहने जंगलमा
आज एक झुण्ड गोठालाहरुले
वर्षौंसम्म हराएको देशलाई भेट्टाएर
हजुरको ढोकाबाहिर जिम्मा लाएर गएका छन्।
आखिर को हुन् ती गोठालाहरु
कुन देशका हुन् ती गोठालाहरु
के अब हजुर ढोका खोल्नुहुन्छ कि?
ढोकाबाहिर देश अर्को शताब्दी पर्खिरहेछ।

प्रकाशित मिति: : 2022-09-17 17:35:00

प्रतिकृया दिनुहोस्