आगामी निर्वाचनमा दललाई स्वतन्त्र उम्मेदवारहरूको चुनौती !

सुदिप बराल

काठमाडौं
BreaknLinks
BreaknLinks

गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको उत्साहजनक उपस्थिति र सम्मानजनक जितले राजनीतिक दलहरुलाई चुनौती बढ्दै गएको छ।

काठमाडौं महानगर, धरान, धनगढी उपमहानगर र स्थानीय तहका धेरै वडाहरुमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएपछि आगामी संघीय निर्वाचनका लागि स्वतन्त्र उमेदवारहरुले उत्साहजनक रुपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका छन्।

स्वतन्त्र उम्मेदवार अभियानमा समाजका केही चर्चित र ख्याति प्राप्त अनुहार समेत लागिरहेका छन्। यस्तोमा उनीहरु पुराना राजनीतिक दलहरुका लागि चुनौती बन्ने आकलन गरिदैँछ।

काठमाडौं क्षेत्र नम्बर–८ बाट सामाजिक अभियान्ता सुमन सायमीले स्वतन्त्र उमेदवारी घोषणा गरेका छन्। उनी गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको प्रमुख पदमा बालेन शाहसँग पराजित भएका थिए। उनलाई निर्वाचित मेयर शाहको समेत समर्थन रहेको छ। उनी विगत १० वर्षदेखि सम्पदा संरक्षण अभियानका कारण लोकप्रिय छन्।

उनले बिएल नेपाली सेवासँग कुराकानी गर्दै आफूले जनताको समस्या बोल्ने गरेको र आफूले गरेका कामहरुमा जनताको समर्थन रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका थिए। 

उनले रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्यका लागि मौखिक सहमति समेत भएको बताएका छन्। उनका अनुसार लौरो अभियानले उम्मेदवारी दिएका क्षेत्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ।

काठमाडौं क्षेत्र नम्बर–५ मा विवेकशील साझा दलकी पूर्व सदस्य रञ्जु दर्शना, सामाजिक अभियान्ता हेमराज थापा, शैलेन्द्र बस्नेत, डा. प्रणय शमसेर राणा, चर्चित कलाकार मधुसुधन पाठक लगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। यो क्षेत्रमा वि.सं.२०७४ को संघीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट ईश्वर पोखरेल निर्वाचित भएका थिए। तर स्वतन्त्रहरुबीच पनि समन्वय नहुँदा एउटै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवारी परेका छन्, जसको फाइदा उहीँ पुराना दलहरुलाई पुग्ने विश्लेषकहरु बताउँछन्।

मानवअधिकारकर्मी तथा शिक्षिका विद्या श्रेष्ठ महर्जनले काठमाडौं क्षेत्र नम्बर–९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी छन्। उनी गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर उपप्रमुख पदमा नेकपा एमालेकी नेतृ सुनिता डङ्गोलसँग पराजित भएकी थिइन्।

मुख्यगरी, काठमाडौंका निर्वाचन क्षेत्रलाई लक्षित गरेर स्वतन्त्र उम्मेदवारहरू सार्वजनिक भइरहेकाले काठमाडौं उपत्यकामा धेरैजसो सिट जित्दै आएको कांग्रेस र एमालेलाई आगामी चुनावको उम्मेदवार तय गर्नेबारे स्वतन्त्र उम्मेदवारी घोषणाले दबाब सिर्जना गरिरहेको छ। काठमाडौंमा मात्रै होइन अहिले देशैभरबाट स्वतन्त्र उमेदवारी दिनेहरूको लहर चलेको छ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट चर्चित लेखक तथा साहित्यकार युग पाठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्। स्वतन्त्र उम्मेदवार बन्न लागेका पाठक स्वतन्त्र नागरिक आन्दोलनका अगुवासमेत हुन्।​

झापा क्षेत्र नम्बर–२ बाट उन्नत लोकतन्त्र पार्टीका नेतासमेत रहेका चर्चित अधिवक्ता तथा सामाजिक अभियान्ता स्वागत नेपालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

त्यसैगरी झापा क्षेत्र नम्बर–४ बाट पूर्व एमाले नेता युक्त भेटवालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। झापामा उनी सादगी एवं इमान्दार नेताका रूपमा चिनिन्छन्।

कास्की क्षेत्र नम्बर–२ बाट शिरिष गुरुङले स्वतन्त्र उमेदवारी घोषणा गरेकी छन्। उनी पेशाले शिक्षिका हुन् भने उनले जागौं पोखरा अभियानको नेतृत्व समेत गरेकी थिइन्।

त्यसैगरी डा. सचिन घिमिरेले ललितपुर क्षेत्र नम्बर–१, दरोस्तभ लोकेन्द्रले भक्तपुर क्षेत्र नम्बर–२, सुशील खड्काले मोरङ्ग क्षेत्र नम्बर–६, भिष्म रानाले रुपन्देही क्षेत्र नम्बर–५, राहुल मिश्रले रौतहट क्षेत्र नम्बर–१, प्रवेश भुषालले बर्दिया क्षेत्र नम्बर–१ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।

गत स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरुको लौरो चुनाव चिन्हमा मतदाताहरुको धेरै आकर्षण देखेर केही स्वतन्त्र तथा वैकल्पिक उम्मेदवारहरुले सुमन सायमीको नेतृत्वमा लौरो अभियान भन्दै साझा घोषणापत्र र लौरो चुनाव चिन्ह्र लिएर निर्वाचनमा जाने घोषणा समेत गरेका छन्। तर उनीहरुमाथि पार्टीगत संरचनाअनुसार जाने हो भने उम्मेदवारहरु कसरी स्वतन्त्र हुन सक्छन् भन्ने प्रश्नहरु उठिरहेको छ। 

तर सुमन सायमी भने यस कुरालाई नकार्छन्। स्वतन्त्रहरुले फरक–फरक चुनाव चिन्ह्र पाउने भएकाले मतदाताहरुमा अन्यौलताको अवस्था सिर्जना हुने हुँदा आफूहरुले स्वतन्त्र उम्मेदवारहरुलाई एकिकृत गर्न साझा घोषणापत्र र चुनाव चिन्ह्रमा जान लागेको उनको तर्क छ।

उनले सरकारका अनेकौँ गलत क्रियाकलापहरुले गर्दा स्वतन्त्र आवाजहरुको जन्म हुने भएकाले यो स्वभाविक प्रक्रिया भएको बताए। उनकाअनुसार स्वतन्त्र भनेकै जनताको समस्या बोलिदिने र गलत प्रकारको कानुनको विरोधमा सडक र सदन तताउने माध्यम हो।

आफूहरुले पनि स्वतन्त्रता पूर्वक सामूहिक समस्याहरुलाई उठान गर्ने र गलत कार्यहरुमा निरन्तर खबरदारी गर्ने भएकाले आफूहरु स्वतन्त्र भएको उनको दाबी छ।

स्वतन्त्रहरुमा एकरुपताका लागि संगठित रुपमा चुनावमा गएपनि निर्वाचन पश्चात सदस्यहरू स्वतन्त्र हुने र पार्टीको नियन्त्रण नरहने उनी बताउँछन्।

यता चर्चित पूर्वपत्रकार रबि लामिछाने पनि समानुपातिक मत तान्ने रणनीति बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर चुनावी अभियानमा देश दौडाहामा छन्।

उनी काठमाडौंकै कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा छ। तर उनले कहाँबाट उम्मेदवार दिन भनेर अझैसम्म खुलाएका छैनन्। उनले वातावरणविद् अरनिको पाण्डे, पुकार बम लगायत विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्वहरुलाई पार्टीमा समेट्दै चुनावी माहोल बनाइरहेका छन्।

पुकार बम सामाजिक अभियान्ता तथा पेसाले शिक्षक हुन्। उनी भूकम्प, कोरोना महामारी, संविधान र अकुपाई बालुवाटार जस्ता अभियानबाट चर्चित बनेका थिए।

लामिछाने काठमाडौंबाट उम्मेदवार बन्दा ठूला राजनीतिक दलका उम्मेदवारलाई बलियो चुनौती खडा हुने आकलन गरिएको छ।

नेपालको राजनीतिमा हाल केहि सिमित राजनीतिक दलहरुको एकछत्र राज रहेको छ। देशको बागडोर पनि उनीहरुकै हातमा रहेको अवस्था छ। तर सत्ता सञ्चालनमा स्वार्थ नमिल्दा उनीहरु अस्थिर बन्दै गइरहेका छन्।

उनीहरु सत्तास्वार्थका लागि पार्टी जुटाउने, फुटाउनेदेखि विपरीत राजनीतिक विचारधारा भएका दलसँग गठबन्धन गर्नेसम्मका हर्कतहरु गरिरहेका छन्। उनीहरुको यस्ता हर्कत देखेर जनताहरु निराश छन्।

दलहरुलाई जनताका मुद्धामा विभाजित हुने तर दलगत स्वार्थपूर्ति र आर्थिक लाभका मुद्धामा एकजुट हुने गरेको आरोप पनि लाग्ने गरेको छ।

काठमाडौंका स्वतन्त्र मेयर बालेन शाहले अवैध संरचनाहरुमा डोजर चलाउन थालेपछि एमाले नेता महेश बस्नेत र काङग्रेस नेता मीनबहादुर विश्वकर्माको बोली एउटै भएको थियो। जनताहरुले स्वागत गरेको महानगरको कदमलाई उनीहरुले चर्को विरोध गरेका थिए।

राजनीतिक दलहरुले समाजका हरेक क्षेत्रमा भातृसंगठनहरु खडा गरेर पकड बनाएका छन्। विद्यार्थी, शिक्षक, मजदुर, कलाकार, डाक्टर, इन्जिनियर, खेलाडी, व्यापारीलगायत हरेक क्षेत्रका पेसाकर्मीहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुमा आवद्धताको आधारमा अनुशासनहिन गतिविधिहरुमा संलग्न रहदै आएको घटनाहरु बेलाबेला सार्वजनिक हुने गरेको छ।

राजनीतिक दलहरुका यस्तै गैरराजनीतिक गतिविधिहरुले गर्दा अहिले उनीहरुको काउन्टरका लागि भन्दै नयाँ दल खोल्ने र स्वतन्त्र उमेदवारी दिने लहर चलेको हो।

दलहरुको आचरणमा सुधार नआउने हो भने जनताले विकल्प खोज्न ढिला नगर्ने कुरा स्थानीय तहको नतिजाबाट पनि देखिन्छ। यता स्वतन्त्र उमेदवारहरु पनि संगठित भएर जान सकेको खण्डमा पुराना दलहरुको विकल्प बन्न सक्ने सम्भावना प्रबल छ।

प्रकाशित मिति: : 2022-09-25 17:00:00

प्रतिकृया दिनुहोस्