घोराही उपमहानगरकै भवन अलपत्र 

BreaknLinks
BreaknLinks

बेस (जमिन) मा पिच गरिएको छ। पिचबाट सरिया पनि उठाइएको छ। उठाइएका अग्ला सरिया छरपष्ट देखिन्छ। यो दृष्य एक वर्षदेखि अलपत्र देखिने घोराही उपमहानगरपालिकाको बन्दै गरेको नयाँ भवन हो।

एक वर्षदेखि यो दृष्य घोराही उपमहानगर र घोराही उपमहानगरपालिकादेखि प्रहरी कार्यालयतर्फ जाने जो कोहीले देखिरहेका छन्। हाल घोराही उपमहानगरपालिकाको कामकाज भइरहेको भवनदेखि पश्चिमतर्फ र जिल्ला प्रहरी कार्यालयको उत्तरतर्फ यो नयाँ भवन बनिरहेको छ।

चार तलाको बन्ने यो भवनको नियमित रुपमा काम भइदिएको भए आजसम्म यसले भवनको आकार लिइसकेको हुने थियो। तर भवन निर्माणमा ढिलाइ हुँदा भवन हो कि के हो भन्ने नै छुट्टिन सकेको छैन।

एक वर्षको बीचमा कहिलेकाहीँ काम भएको देखिए पनि नियमित रुपमा काम हुन नसक्दा अहिले भवन अलपत्र परेको छ। काम गर्नेहरु पनि देखिने गरेका छैनन्।

घोराही उपमहानगरपालिका जो स्थानीय सरकार हो। उसकै भवन अलपत्र परेपछि अन्य विकासको अवस्था कस्तो होला? कसैलाई अनुमान लगाउन कठिन नहोला।

२०७८ सालको असारदेखि भवन निर्माणको काम सुरु भएको थियो। गौरी, पार्वती, बस्नेत, भुषाले जेवी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको भए पनि उसले समयमै काम नगरेर अलपत्र पारिदिएको छ। २०८० वैशाखसम्म भवन निर्माण सक्नुपर्ने पहिलो सम्झौता छ।

तर भवन निर्माणको काम कछुवाको गतिमा हुँदा भवनको भौतिक प्रगति ५ प्रतिशत पनि हुन नसकेको छैन। घोराही उपमहानगरपालिकाका इन्जिनियर युवराज पौडेलले ठेकेदार कम्पनीलाई बारम्बार काम गर्न आग्रह गर्दा पनि ढिलाइ गरिरहेको बताए।

‘हामीले काम गरिदिनु पर्यो भनेर औपचारिक रुपमा पत्र काटेका छौँ। अनौपचारिक रुपमा फोन गरेका छौँ,’ उनले भने, ‘तर ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर काम गरिरहेको छैन।’ हाल वर्षाको समस्या देखाएर ठेकेदार कम्पनीले काम रोकेको इन्जिनियर पौडेलले बताए।

उनका अनुसार घोराही उपमहानगरले ठेकेदार कम्पनीलाई छिटो काम सुचारु गर्न आग्रह गरेको छ। कम्पनीले पानी पर्न रोकिएमा काम सुचारु गर्ने बताएको पौडेलले जानकारी दिए।

उनले यो काम सम्झौताअनुसार आउने वैशाखमा सकिने अवस्था नरहेको भन्दै अब हालको ठेकेदारसँग सम्झौता तोडेर भवन निर्माणलाई तिब्रता दिने बताए।

‘अहिले काम गर भन्ने बाहेक केही गर्न सकिदैन,’ उनले भने, ‘अब वैशाखसम्म यस्तै हो। त्यसपछि भने उससँग सम्झौता गरिँदैन र अरुबाट काम छिटो गरिन्छ।’

उपमहानगरकी उपप्रमुख हुमाकुमारी डिसीले ठेकेदार कम्पनीले काम गर्न लापर्वाही गरेको भन्दै सम्झौता तोड्ने अवस्था आउने बताइन। उनले कहिलेकाहीँ काम गरेको जस्तो गरेको भए पनि सन्तुष्ट हुने खालको काम हुनै नसकेको र यो प्रवृत्ति सबै विकास निर्माण देखिएको बताइन्। 

प्रकाशित मिति: : 2022-09-26 21:35:00

प्रतिकृया दिनुहोस्