'ढाँटले संसार खान खोज्छन्, कार्यकर्ता नतमस्तक भएर सुन्छन्'

प्रमेश हमाल

काठमाडाैँ
BreaknLinks
BreaknLinks

गठबन्धनको बैठक डेढ महिनादेखि बसिरहेको छ। कहिले शीर्ष नेता र कहिले कार्यदल तहमा हालसम्म डेढ महिनाभित्र १४० घण्टा बसेको छ। हामी प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटको बाँडफाँट गर्न लागिपरेका छौँ। बैठक खासमा भन्ने हो भने दुई घण्टामै सकिनुपर्ने थियो। नेपाली कांग्रेस बढी सिट लिन खोजिरहेको छ, माओवादी केन्द्र अझ सीट थप गर्न चाहन्छ भने नेकपा (एकीकृत समाजवादी) का लागि अस्तित्व जोगाउन पनि लड्नुपर्ने हुन्छ। हालसम्म प्रतिनिधिसभाका ११०–११५ सिटमा टुुङ्गो लागेको छ भने ४०–५० सिट अझै बाँकी छन्, जुन महत्त्वपूूर्ण स्थानमा छन्।

हामीले दाबी गरेका ठाउँमा, अस्तित्वका लागि चाहिने सीटमा अझै कुरा मिलिरहेको छैन। ललितपुर, बैतडी, दार्चुला आदि जिल्लाबाट छाड्न नहुने भनी दवाव आइरहेको छ। छिट्टै टुंगो लाग्ला। मधेशमा जसपा र कांग्रेसको दाबी धेरै छ। माओवादी केन्द्र पनि लागिपरेको छ भने हामीले पनि अस्तित्वको रक्षा गर्नु नै पर्यो।

झण्डै दुई तिहाइको सांसद भएकामा प्रतिक्रियावादीको आँखा तिर्मिराएको थियो। समाजवादतिर जाने बाटो खुलेको थियो। अहिले शिर गिराउने स्थितिमा छौँ। कम्युनिष्ट पार्टी छिन्नभिन्न भएको हाम्रो रहरले होइन। अहिले हामी बालुवाटारमा अस्तित्वको लडाइँ लड्दै छौँ। अहिले गठबन्धन गर्न पूर्वपञ्च, जनमत पार्टी, लोसपा चाहिएको छ। दुई तिहाइबाट झरेर कसैकसैको सहारा खोज्नुपर्ने स्थिति किन भयो ?

तत्कालिक नेतृत्वमा गम्भीर वैचारिक भड्काव थियो। त्यसले कम्युनिष्ट पार्टीको लक्ष्यबाट, मूल्यमान्यता र आदर्शबाट झरेर आफूलाई सर्वशक्तिवान् बनाउन खोज्यो। गुटपछि व्यक्तिको सत्ता पार्टीभित्र र सरकारमा लाद्न खोजियो। बालुवाटारमै पार्टी थियो, गुप्तचरको अन्तिम निकाय पनि त्यही बन्यो, सुरक्षा अङ्गको पनि।

यी सबै गर्न अदालत, निर्वाचन आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सेटिङ कसरी गर्न भ्याइएको होला, ताज्जुब लाग्छ। सर्वाेच्च अदालतमा १५ वर्षसम्मको लाइन मिलाइएको छ भन्ने सुनिन्छ। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराकी छोरी भनेर अभिनय गर्ने को रहिछन् थाहा छ, मीना जैसी भन्ने महिला हुन् जसले केही समय पहिले राणासँग बिहे गरेकी थिइन्। तिनी एमाले प्रवेश गरेकी।

दुई तिहाइको सरकारले समृद्धिबाट समाजवादको यात्राको कार्यभार बोक्नुपर्दैन, केही दलाल, पुँजीवादी, ओम्नी, यती, बतासको पछि लागेर उनीहरूबाट परिचालित भयो। हाम्रा अङ्गअङ्गलमा दलाल पुँजीवाद हावी भयो। अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कुनै स्टेटको सेनासँग एकाकार गर्न बनाइएको प्रोग्राम हो। आफ्नो सत्ता सुरक्षा गर्न कम्युनिष्ट पार्टीका नेता, जनताका राष्ट्रवादी नेताका पालामा सेनाले अमेरिकी दूतावासलाई पत्र लेखेको कुरा बाहिर आयो। सन् २०१८ डिसेम्बर १६ मा अमेरिकी विदेशमन्त्री माइकल पोम्पिओले हाम्रा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई एक पत्र लेखे अमेरिकामा निम्तो छ भनी। चिठ्ठी पाएपछि परराष्ट्रमन्त्री फुरुङ्ग परे। प्रधानमन्त्रीले गर्व गरे, ‘हामीलाई अमेरिकाबाट पत्र आयो, हामीलाई बोलाइयो। हाम्रो सरकारको प्रभावकारिताका कारण पत्र आयो।’ हामी त छक्कै पर्नुपर्यो। ज्ञवाली अमेरिका पुगे, ज्ञवाली–पोम्पिओबीच भएको कुरा गर्भमै रहला। नेपाल आइपिएसको मेम्बर भएको कुरा खुलासा भयो। डेढ वर्षपछि आइपिस स्ट्राटेजी प्रतिवेदनमा नेपालको मेम्बरसिपका लागि स्वीकृति दिइयो भन्ने कुरा आयो। यसरी आफूलाई सर्वसत्तावादी बन्न सुदूरपश्चिमको समर्थन चाहिन्छ। एमसिसी प्रकरण यहाँहरूलाई थाहै छ।

पार्टीको वैचारिक बहसमा सामेल हुन नसकेर संसद् विघटन भयो। आन्दोलन भयो। हामीलाई आफ्नै पार्टीविरुद्ध, सरकारविरुद्ध जानुपपर्‍यो। बाध्य भएर प्रधानन्यायाधीश राणाबाट लोकतन्त्र र संविधानको रक्षाका लागि सरकार अन्त भयो। कांग्रेस पुँजीवादी हो, हामी समाजवादको कार्यदिशा समात्नेहरू बाध्य भएर लोकतन्त्र र संविधानको रक्षाका लागि ऊसँग लाग्नुपर्‍यो।

ओलीमा अझै चेत आएको छैन। तिनमा गठबन्धन भए आफ्नो दलको हाल के हुने होला भन्ने विश्लेषण गर्ने क्षमता पनि छैन। गठबन्धन भएमा एमालेले गम्भीर परिणाम भोग्नुपर्ने हुन्छ। सरकारबाट सडक हुँदै बार्दली पुग्नुपर्‍यो, प्रदेशसभामा सरकारबाट हट्नुपर्यो, राष्ट्रियसभाको परिणाम विपरीत आयो। अब आगामी चुनावमा एकाएक एमालेलाई सुखद् हुन्छ ? मत र सीट कम हुन्छ नै। हामी र माओवादी केन्द्र मिल्दा २०७४ मा प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्ष सीट २३ थियो। अब जनमत, राप्रपा, लोसपासँग मिल्न तयार तर वामपन्थीसँग मिल्ने किन भन्दैनन् ? विगतका गल्ती सुधारेर गएमा वामपन्थी गठबन्धन हुन सक्छ। समाजवाद र समृद्धिमा जाने हो भने एमालेले रिभ्यु गर्नुपर्दैन ? वामपन्थी भएर आएमा, आफूलाई समीक्षा गरेमा गठबन्धन हुन्छ। एमालेमा यस्तो चाहना किन छैन, किन घमण्ड ? अहिले हाम्रो महत्त्वपूर्ण कार्यभार भनेको वाम आन्दोलनको समीक्षा गर्ने पनि हो। हामीले माओवादी केन्द्रसँग एकता संयोजन समिति गठन गरेर जाने भन्यौँ। एकीकरण गर्ने जिम्मेवारी हाम्रो हो। हामी एक्लैले समाजवादी आन्दोलन सफल हुन सक्दैन। कम्युनिष्टले आफूलाई वैचारिक रूपान्तरण गर्नुपर्छ। माओवादीसँग कार्यगत एकता र घोषणापत्र पनि एकै गर्ने भन्ने कुरो भएको छ, तर पनि मिलेको छैन। सँगसँगै काम गरौँ, विचारका आधारमा कुरा गर्दै जाऔँ। आफ्नो वैचारिक कमजोरी भएमा अरू कम्युनिष्ट पार्टीले पनि आफूलाई सच्याउनुपर्छ। हामी कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण गरेर लान चाहन्छौँ, एमाले तयार छ ? एमालेले आँट गरेन, हामी आँट गर्छाैँ, पछि कुनै बेला एकता गरौँला, अहिले हैन। हामी वैचारिक शास्त्रार्थ गर्न तयार छौँ, एमाले तयार छ ?

संसारमा वामपन्थी नै दक्षिणपन्थी भएका छन्। ओलीले रामको जन्म पहिले वीरगञ्ज तल ठोरी र पछि अयोध्यापुरी भने। ढाँटले संसार खान खोज्छन्, कार्यकर्ता नतमस्तक भएर सुन्छन्। काठमाडौँको सीतापाइलालाई पनि सीताले टेकेको पाइला भनिदिए भयो। उनी माक्र्सवादबाट भाववाद (अध्यात्मवाद) मा पुगेका छन् र सपनामा पनि नेपालमा राम जन्मेको देख्छन्। कार्यकर्ता रुझेर महँगीविरुद्ध नारा लगाउँछन्, उनी त्यति नै बेला पशुपतिमा आरती दर्शन गर्न पुग्छन्, कस्तो भाववादी ? माक्र्सवादलाई विकृत बनाउने ? विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको १२ दिनपछि आरएसएसको पत्रिका स्वराज(स्वराज्य?) मा लेखियो, नेपालमा हिन्दू राज्यको यही मौका हो। त्यति नै बेला नारायणहिटीअघि ओलीले हिन्दूराज्यको घोषणा गर्ने सम्भावना व्यापक थियो। सत्तालाई अमुक धर्मसँग जोड्न सक्ने ?

ओलीले जनवादी केन्द्रीयता मानेनन्। आउनुस्, विचारका आधारमा शास्त्रार्थ गरौँ, दूधको दूध पानी छुट्याऔँ। पार्टीलाई गुटका आधारमा चलाउने ?

उनले विराटनगरमा गोबर ग्यास कारखाना उद्घाटन गर्न १५२ गाडी लिएर गएका थिए। घरघरमा ग्यास, पानीजहाज, बेनीसम्म रेलको टिकट लिन आऊसम्म भने, धरहराको २० प्रतिशत काम बाँकी छँदै उद्घाटन गरे। उनी अरूलाई होचो देख्न टावरको विकास पो चाहँदा रहेछन्। चुलो बले नबलेको छाना, धुलो, बिरामी, नाङ्गै हिँडेका बच्चाहरू, विदेशमा जान लागेका हुलका हुल युवा हेर्न त होइन होला, उनको विकासको दृष्टिकोण हेर्नुस् त।

‘बा’–यो शब्द मलाई पनि मनपर्छ तर यो शब्द चाकडीका रूपमा, दासमालिकका रूपमा प्रयोग गरेको देख्दा शब्दको नै अपमान गरेको ठहर्छ। अरू व्यक्ति त्यस हदसम्म नआऊन्। एमाले अधिवेशनमा भीमबहादुर रावलले अध्यक्षमा मनोनयन गर्न खोज्दा रोक्न खोजियो ‘केपी ओली वी लभ यु’ भन्ने टिसर्ट लगाएका युवाहरूबाट। ठुल्ठूला होर्डिङ बोर्डमा, पानीका बोतलमा फोटो टाँसियो। कस्तो शब्दसंस्कार, हेर्नाेस् त। मलाई त त्यस्तो बोल्न पनि आउँदैन, कहिलेकाहीँ बोलूँ कि भन्दा पनि आउँदैन।

यस्ता दक्षिणपन्थीहरू टुप्लुक्क नेपालमा मात्र देखा पर्ने होइनन्। बेलाबेलामा कम्युनिष्ट आन्दोलन सक्न यस्ता जन्मन्छन्। दक्षिणपन्थी बुर्जुवाहरू सर्वहाराका नेतृत्वमा सरकार बन्नुहुन्न भन्थे। बाकुनिन जस्ता अराजकतावादीले खास समुदायको सरकार भए हुने भन्थे। एडवार्ड बर्नस्टिन, काउत्सी, मार्ताेभ, प्लेखानोभ दक्षिणपन्थी विचारका थिए। कम्युनिष्ट आन्दोलनले गलत बाटो लिएमा निर्माण मात्र होइन, ध्वंस पनि गर्नुपर्छ। कम्युनिष्ट आन्दोलन, क्रान्तिको उपलब्धि, समाजवादी कार्यदिशाको रक्षाका लागि ओली प्रवृत्तिमाथि प्रहार गरिरहनुपर्छ।

हमाल नेकपा (एस)का केन्द्रीय उपाध्यक्ष हुन्।

प्रकाशित मिति: : 2022-09-30 08:43:00

प्रतिकृया दिनुहोस्