मङ्गलबार, ०५ अगस्ट २०२५

गाईपालनले बनायो कमलालाई आत्मनिर्भर

file photo
• • •

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन।

केही खर्च गर्नु परे पनि श्रीमान्को तलब कुर्नुपर्ने भएपछि उनले गाईपालन गर्ने योजना बनाइन्। भूमिराज कृषि तथा पशुपालन फार्म दर्ता गरेर रु एक लाखमा पाँच गाई खरिद गरेर व्यावसायिक रुपमै गाईपालनमा लागेकी उनले अहिले लाखौँको कारोबार गर्दै छिन्।

‘श्रीमान् ट्रक चलाउनुहुन्छ सानोतिनो केही खर्च गर्न श्रीमान्कै तलब कुरेर बस्नुपर्ने भएपछि गाईपालन गर्ने सोच बनाएकी हुँ । अहिले दूध बेचेर घरखर्च चलाउन सक्ने भएकी छु,’ उनले भनिन्।

पाँचवटा गाईबाट सुरुवात गरेकी कमलाले गाईपालनमा राम्रो सम्भावना देखेपछि व्यवसाय बढाउँदै लगेकी थिइन्। घर छेउमै वार्षिक एक लाख २० हजारमा दुई बिघा जग्गा भाडामा लिएर घाँसखेती गर्दै उनले गाई पालेकी थिइन्। अहिले फार्ममा २५ गाई छन्।

‘दैनिक ७० देखि ८० लिटर दूध बिक्री गर्ने गर्छु। दूध बिक्री गर्न अत्तिरिया बजारसम्म स्कुटर चलाएर जाने गर्छु। बजारमा पनि दूध खपत हुन्छ तर म दुग्ध विकास संस्थानको अत्तरियास्थित सङ्कलन केन्द्रमा पुर्याउँछ,’ कमला बताउँछिन।

एक लाखबाट सुरु गरेको व्यवसायमा अहिले मासिक लाखभन्दा बढीको कारोबार हुने गर्छ। ‘घरमा बिना काम बस्नुभन्दा त केही गरौँ भन्ने आँट गरेर व्यवसाय सुरु गरेकी हुँ। अहिले श्रीमान्ले पनि सघाउनु हुन्छ। १५ हजार तलब दिने गरी दुई कामदार छन्। फार्ममा काम गर्ने कामदार नपाउँदा समस्या हुन्छ। गाई थप गर्ने योजना थियो एक्लै सकिँदैन कामदार पाउन मुस्किल पर्छ। आँट गरेर केही काम गरे सफल भइने रहेछ,’ खुशी हुँदै उनले सुनाइन्।

हाल कमलाले गाईमात्र नभएर बाख्रापालनसमेत गरेकी छन्। बाख्रापालनमा समेत राम्रो सम्भावना देखेकी उनले बाख्राको आधुनिक खोर निर्माण गरेर बाख्रापालन गर्ने योजना बनाउकी छन्। उनी भन्छिन्,‘अहिले २० वटा बाख्रा छन्, पछि अरु पनि थप्ने योजना बनाएकी छु। जति मेहनत गरे पनि मूल्याङ्कन हुँदैन।’

उनले गाउँमा दुईचार वटा गाई पाल्नेले सरकारबाट लाखौँको अनुदान लिने गरेको व्यावसायिक रुपमा लाग्नेहरुलाई कतैबाट सहयोग नभएको गुनासो गरीन्। ‘कृषि काम गर्नेलाई अनुदान दिने कुरा समाचारमा धेरै सुने अहिलेसम्म कतैबाट सहयोग भएन। काम गर्नेलाई त वडामा बजेट आएको पनि थाहा हुँदैन,’ उनले आफ्नो दुख बताइन्। 

शनिबार, कार्तिक ०५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)