बिहिबार, १४ अगस्ट २०२५

कर्णालीलाई पहिलो स्वर्ण दिलाउने दुर्गा बुढालाई जुम्लामा सम्मान 

News Image
• • •

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णालीलाई दुर्गाबहादुर बुढाले पहिलो स्वर्ण पदक दिलाएका थिए। पोखरामा सम्पन्न प्रतियोगिताको एथ्लेटिक्समा जुम्लाका बुढाले राष्ट्रिय कीर्तिमानसहित कर्णालीलाई पहिलो स्वर्ण दिलाएको भन्दै मंगलबार उनलाई सम्मान गरिएको छ। उनले पुरुषतर्फको तीन हजार मिटर स्टेबल चेसमा स्वर्ण जितेका हुन्। 

भारतीय सेनामा कार्यरत बुढाले निर्धारित दूरी आठ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गरेका थिए। यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भण्डारीले आठ मिनेट ५७ः३० सेकेन्डको कीर्तिमान बनाएका थिए।

कर्णालीले स्वर्णपदक जितेको खबरले उत्साहित भएर सम्मान कार्यक्रमको आयोजना गरेको सनलाईट इलेक्ट्रोनिकका व्यापारी एव‌ं खेलप्रेमी बालकृष्ण बुढाले बताए। सो अवसरमा बुढाले रोजगारीको सिलसिलामा भारतीय सेनामा काम गर्नु बाध्यता रहेको बताए। उनले खेलाडीको भविष्यप्रति राज्य गैरजिम्मेवारी बनेको बताए।  

बुढाले कर्णाली प्रदेश सरकारबाट दुई लाख रुपैयाँ पुरस्कार पनि पाउने भएका छन्। कर्णाली प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई दुई लाख पुरस्कार दिने घोषणा गरेको  सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए। 

खेलाडीको गुनासो 

जुम्लाले खेल क्षेत्रमा फड्को मार्दै गर्दा सरकारले लगानीमा भने ध्यान नदिएको गुनासो गरेका छन्। यहाँका खेलाडीले सामान्य पोशाक समेत नपाउनुलाई दुर्घबहादुर बुढाले लाजमर्दो अवस्था बताए। उनका अनुसार खेलाडीलाई सोही अनुसार सन्तुलित भोजन चाहिन्छ, त्यस बिषयमा ध्यान दिएको छैन्। यसका साथै अहिलेसम्म रंगशाला समेत नभएकोले अभ्यास गर्न कठिन भएको खेलाडीले बताए। 

म्याराथन धावक हरिबहादुर रोकायाले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा जुम्लाले अझै बढी गोल्डमेडल ल्याउने बताए। उनले  हरेक खेलाडी मिहिनेत गरेर अगाडी बढे गोल्डमेडलिष्ट हुने र नोकरी पनि सुरक्षित हुने जोड दिए। 

जिल्ला खेलकुद विकास समितिका सदस्यसचिव संगीता आचार्यले एथलेटिक्ससहित जुम्लाको सम्भावनाको खेलका लागि जोडदार रुपमा आवाज उठाउनु पर्ने बताइन्।  कर्णाली प्रदेश खेलकुद समितिका अध्यक्ष सरोज शाहीले खेलकुदमा चरम राजनीतिले खास खेलाडीहरू अघि बढ्न नसकेको बताए।

बुढालाई व्यक्तिगत सहयोग 

बुढाले स्वर्ण पदक जितेको खबर पाएपछि उत्साहित भएका जुम्लाबासी र खेलाडी स्वागत गर्न विमानस्थलमा जम्मा भएका थिए। यसै बेला सनलाईट इलेक्ट्रोनिक पसलका व्यापारी तथा स्थानीय बालकृष्ण बुढा र उनका दाजु भूवनसिंह बुढाले ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए। स्वर्ण पदकसहित नेशनल रेकर्ड कायम गरेकाले  दुर्गाबहादुरलाई सानो सहयोग गरेको बालकृष्ण बुढाले बताए।  

मंगलबार, कार्तिक १५, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)