मङ्गलबार, ३० डिसेम्बर २०२६

विद्यार्थीकाे भविष्यप्रति किन गम्भीर छैन त्रिवि ?

News Image
• • •

त्रिभुवन विश्वविद्यालयले कतिसम्म लापरबाही गरेको हो? स्नातक तह चौथो वर्षको परीक्षा सकिएको नाै महिना भयाे। प्रथम वर्षको परीक्षा दिएको १५ महिना सकिँदासम्म पनि नतिजा आएको छैन।

परीक्षा नियमित विद्यार्थीले मात्र होइन, चाैथाे वर्ष सकेर पहिलो वर्षमा एक/दुई विषय बाँकी रहेका विद्यार्थीले पनि दिएका छन्।  उनीहरुको पनि नतिजा आएको छैन।

'कमसेकम पढाइको गुणस्तरमा सुधार गर्न नसके पनि नतिजा त समयमा दिनुपर्ने हो नि। यसबाट आम विद्यार्थीहरूमा अन्योलता मात्र सिर्जना भइरहेको छ। आफूले दिएको परीक्षाको नतिजाको लागि पनि त्रिवि गुहारिरहनु पर्ने कस्तो विडम्बना!' मेरा एक जना युवराज नाम गरेका साथीले सुनाए।

त्यही बीचमा सविन नाम गरेका अर्का साथीले निराश हुँदै भने, 'बीबीएस पढेर बैंकर्स बन्ने सपना थियो। तर अन्तमा बेरोजगार बनायो। उदेश्य र सपनाहरु त फूल जस्तै ओइलाएर गए। बीचैमा बाध्य भएर पढाइ छोडेर अर्को बाटो अपनाउनु पर्ने भयाे।'

नतिजा समयमै दिन नसक्नु त्रिविकाे पुरानै रोग हाे। तर अब हदभन्दा बढी भयाे। स्नातक तह चौथो वर्षको परीक्षा २०७८ पुसमा भएको थियो। १० महिना भएछ। नतिजा छैन।

त्रिवि नियमावली अनुसार कुनै पनि परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने प्रावधान छ। कोराेना नआएकाे भए त यतिबेला बीबीएस सकिन्थो। चार वर्षमा सकिने बीबीएस ६ वर्ष लाग्ने भएपछि सहरमा छाेराछाेरी पढाउने अभिभावक अत्तालिएका छन्।

नतिजा ढिलाइ हुँदा मानसिक तनाव त छँदैछ, लोक सेवा आयोगलगायत रोजगारका अन्य स्रोतमा फाराम भर्न नपाएर वृत्ति विकासमा पनि अवरोध भएको विद्यार्थीहरुको गुनासो छ। स्नातक तह प्रथम वर्षका विद्यार्थी हामीले २०७६ मा प्रथम वर्षमा भर्ना गरेका थियौं। बीचमा कोरना आयो।

अरु विश्वविद्यालयले वैकल्पिक विधि अपनाएर पढाइ गरे, परीक्षा लिए। तर त्रिभुवन विश्वविद्यालयले आफ्नो गुणस्तर खुस्किन सक्छ भनेर वैकल्पिक व्यवस्था गरेन। २०७८ साउनमा जेनतेन परीक्षा गरायो। नतिजा प्रकाशन नहुँदै दोस्राे वर्षको परीक्षा भयाे, २०७९ साउनमा।

खासमा त्रिविको नियमअनुसार अहिले दोस्राे वर्षको नतिजा आउनु पर्ने हो, तर विडम्बना २०७८ मा दिएको परीक्षाकाे नतिजा १५ महिना बितिसक्दा पनि भएकाे छैन। विश्वविद्यालयकाे पढाइ र नतिजा ढिलाे हुँदा विभिन्न समस्याहरु आएका छन्।

विभिन्न ठाउँबाट त्रिभुवन विश्वविद्यालयलाई सचेत बनाउने काम भइरहेकाे छ। धादिङ सदरमुकाम धादिङवेशीस्थित नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले प्रथम वर्षको नजिता प्रकाशनमा ढिलाई गरेकोप्रति प्लेकार्ड प्रदर्शन गरेर विरोध जनाए। नतिजा प्रकाशन भएन।

सुर्खेतका विद्यार्थी लोकराज आचार्यले त्रिवि परीक्षा नियन्त्रक कार्यालय बल्खुको सचिवालयको ढोकामा समय व्यवस्थापन गर्न नसकेको भन्दै सांकेतिक रुपमा दबाब दिने उद्देश्यले भित्तेघडी र क्यालेण्डर झुण्ड्याइदिए। त्रिभुवन विश्वविद्यालयकाे इमेल र जिमेलमा पनि चिठी पठाउने काम भयाे।

यसरी विभिन्न शान्तिपूर्ण आन्दोलन गरेर विद्यार्थीले त्रिविको ढोका घच्घचाउने काम गरिरहेका छन्। तर त्रिभुवन विश्वविद्यालय ब्युँझिएन। कारण अहिले सांकेतिक विराेध जनाउनेहरु कुनै संगठन र कुनै पार्टीका नभएर हाे। गलेको शरीर अनि दुखेको मन लिएर सुनौलो बिहानी पर्खिने हामीहरुकाे धैर्यताकाे बाँध टुटिसकेकाे छ।

१५ महिनासम्म एउटा नतिजा पर्खिन सकिन्छ? आम विद्यार्थीकाे हितमा बाेल्ने संगठन कहाँ हराए? कोठा भाडामा बस्नेहरुको खर्च कसले बेहोर्ने? कहाँबाट पैसा ल्याउने? यसको हिसाब कसैले राखेकाे छ?

संविधानमा उल्लेखित स्वतन्त्रताको हक र यातनाविरुद्धको हक लागु भएको खै? किन बोल्दैनन् विद्यार्थी नेताहरु? पार्टीको आन्दोलन र अनि स्ववियु चुनाव आउँदा विद्यार्थी चाहिने तर यत्राे मानसिक तनाव झेलिरहँदा वास्ता नगर्ने हाे भने राजनीति किन चाहियाे? त्यसैले सिधा भन्नुपर्छ संकटको बेलामा नबोल्ने र सहयोग नगर्ने विद्यार्थी नेता र संगठन मुर्दावाद!

विद्यार्थीको हक हितका लागि लडिरहेका छौं भन्ने विद्यार्थी संगठनहरु किन माैन छन्? भाषणमा हामी रोजगारी सिर्जना गर्छाैं भन्नेहरुले गरेकाे कुरा कसरी पत्याउने?

दलका घोषणापत्रमा समयमै पुग्छन्। अक्सफोर्ड विश्वविद्यालयको परिकल्पना गर्नेहरु नतिजा समयमा निकाल्ने विषयमा किन साेच्दैनन्? मंसिर ४ काे निर्वाचनकाे नतिजा वैशाख चारमा निकाल्ने भन्दा कसैलाई मान्य हुन सक्छ? अनि हामीलाई याे तहकाे अन्याय किन?

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!