मोरङ-३ : ढकालको विवादित छवि, शर्मा अन्तर्घातको चपेटामा, रेखाले मार्लिन् त बाजी ?

File Photo
File Photo

मोरङ-३ को निर्वाचनमा देशभरको ध्यान केन्द्रित छ। नेकपा एमाले र नेपाली काँग्रेसका ‘ह्यावी वेट’ उम्मेदवारहरूको माझामा रेखा थापाको ‘इन्ट्री’ ले यस क्षेत्रको माहाेल झनै चाखलाग्दो भएको छ।

विगतका निर्वाचनको परिणामलाई हेर्ने हो भने यो क्षेत्र कम्युनिष्टको लालकिल्ला हो भन्दा फरक पर्दैन, तर गत संसदीय निर्वाचनमा नेपाली काँग्रेसका सुनिल शर्माले पनि आफ्नो बलियो उपस्थित जनाएका थिए। उक्त निर्वाचनमा बाम गठबन्धनमाबाट निर्वाचनमा होमिएका एमालेका भानुभक्त ढकालले ४२ हजार ४ सय १३ मत ल्याउँदा शर्माले ४० हजार ५ सय ६ मत मात्र ल्याई १ हजार ९ सय ७ मतान्तरले पराजित भएका थिए।

गत स्थानीय तहको निर्वाचनलाई हेरेर यो पटक अनुमान लगाउन सकिने अवस्था छैन। किनकि, चलचित्र क्षेत्रमा सफलता हात पारेकी थापाको उपस्थितिले आगामी निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का छ। यो क्षेत्रमा थापाको खटाइ र मेहनत पनि उत्तिकै बलियो रहेको छ।

यतिबेला संगठनको आडमा निर्वाचनको नतिजा हात पार्न दाउमा एमालेका ढकाल देखिन्छन् भने शर्मा गठबन्धनको साथ भएकाले ६० हजार मत ल्याएर जित्ने दाबी गरिरहेका छन्। यता थापा पनि मोरङ-३ ले परिवर्तन रोजेर युवा विद्रोहमा साथ दिने दाबी गरिरहेकी छन्।

ढकालको विवादित छवि

नेतृत्वमा रहेका व्यक्तिहरूलाई निर्वाचनको समयमा विभिन्न आरोप लाग्नु सामान्य हो। तर मोरङ-३ मा एमालेका उम्मेदवार तथा पूर्वस्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ। त्यो आरोप हो ‘ढकाल भ्रष्टाचारी’ भन्रे।

ढकालमाथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ। त्यति मात्रै हैन, उनीमाथि आफ्नो सिट सुरक्षित गराउन तेह्रथुमबाट मोरङ आएर जितेको तर जितपछि फर्किएर आफ्नो क्षेत्रमा नआएको भन्ने आरोप पनि छ।

केही समयअघि ढकालका आफन्त पर्ने एमालेकै क्रियाशील सदस्य देवीप्रसाद ढकालले भानुभक्तलाई ‘भ्रष्टाचारी’को संज्ञा दिँदै आफ्नो घरमा प्रवेश गर्न रोक लगाएको समाचार सञ्चार माध्यमहरूमा प्रकाशितसमेत भएको थियो।

स्वास्थ्य मन्त्री बनेको बेला ओम्नी प्रकरणमा ढकालको संलग्नता रहेको आरोप रहेको छ। त्यस विषयमा उनले कुनै प्रकारको प्रतिक्रिया दिएका छैनन्। बरु उल्टै यस विषयमा पत्रकारले जिज्ञासा राख्दा ‘ढिला भयो, घरमा पाहुना आएका छन्’ भनेर उनी पन्छिएका थिए। जस कारण मतदाता उनीप्रति रुष्ट देखिन्छन्।

त्यति मात्रै हैन, उनको आफ्नै निर्वाचन क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ मा भएको एमाले कार्यकर्ता भेलामा ढकालको विरुद्धमा कार्यकर्ताले नै नाराबाजी गरेको एमालेका स्थानीय नेता बताउँछन्। नाम नखुलाउने सर्तमा उनी भन्छन्, ‘पार्टीले विवादित छवि भएका ढकाललाई फेरि निर्वाचनको लागि खडा गर्नाले कार्यकर्ताहरू रुष्ट छन्। हामी त कार्यकर्ता हौँ, पार्टीको निर्देशन मान्नै पर्छ। तर कामभन्दा बढी आरोप लागेका व्यक्तिलाई फेरि भोट हाल्नुहोस् भन्दै जनतासँग कसरी जाने? लाजमर्दो अवस्था छ।’

त्यसो त अघिल्लो निर्वाचनमा निकै दौडधुप गरेर जनताको घर आँगनमा पुगेका ढकाल यस पटक खुलेर जनतामाझ जान सकेका छैनन्। उनी प्राय कार्यकर्ता भेटघाट र उनीहरूलाई परिचालन गराउनमै व्यस्त देखिन्छन्। विवादित छविका कारण जनतामाझ खुलेर जान नसकेका ढकाललाई जनताले फेरि चुन्ने सम्भावना कमै देखिन्छ।

अन्तर्घातको चपेटामा शर्मा

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका ढकालसँग करिब २ हजार मतले पराजित भएका शर्मा यस पटक गठबन्धनको साथ भएकाले ६० हजार मत ल्याएर जित्ने दाबी गरिरहेका छन्। तर मैदानमा देखिएको यथार्थ भने फरक छ। शर्मामाथि शतीको आडमा आफूले चुनावको टिकट हात पारेको आरोप छ।

गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसभित्रै भएको अन्तर्घातको कारण पनि शर्मालाई गठबन्धनको पूर्ण समर्थन रहनेमा अन्याेलता छ। स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएका कारण गठबन्धनले सुनिललाई समर्थन नगर्ने हो कि भन्ने डर नेपाली काँग्रेसभित्रै छ।

यता मोरङ ३ (क) का काँग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि थापाको स्थान उनकै श्रीमती लक्ष्मी कार्की थापाले पाउनुपर्ने आवाज नेपाली काँग्रेसभित्रै उठेको थियो। तर शर्माले शक्तिको आडमा आफ्नै मान्छेलाई खुसुक्कै टिकट दिएको भन्दै कांग्रसका कार्यकर्ताहरूले निर्वाचन आयोगको कार्यालय बेलबारीमा शर्माविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘तानासाही मुर्दावाद, पथरीशनिश्चरे एक हौँ’ लगायतको नारा लगाएका थिए।

प्रदेश १ का वन तथा वातावरण मन्त्रीसमेत रहेका थापाको स्थान शर्माले अर्कै व्यक्तिलाई दिएकाले पथरी नगरपालिकाका काँग्रेसहरू शर्मालाई मत नहाल्ने पक्षमा उभिएका छन्। उक्त घटनापछि शर्माका सहयात्रीहरू रेखा थापाको घरदैलोमा उपस्थित भएको दृश्यहरू समेत देखिएको थियो।

नेपाली काँग्रेसका प्रदेश १ उपसभापति बाबुराम दाहालले मृतक थापाको पारिवरसँग सल्लाह नगरी खुसुक्कै उम्मेदवारी दर्ता गराएको र पीडितहरूलाई थप पीडा दिएको बताएका छन्। निर्वाचन आयोगमा नयाँ उम्मेदवारको उम्मेदवारी दर्ता हुँदै गर्दा उनीलगायतको टिमले काँग्रेस नेतृत्वको विरोधमा नाराबाजी गरेको थियो।

उनले भने, ‘शेखरचन्द्र थापाको श्रीमतीले मेरो श्रीमानको प्रतिनिधित्व म गर्छु भनिरहँदा उहाँलाई एक वचन नसोधी, उहाँलाई साहनुभूति पनि नदिई अर्कै व्यक्तिको उम्मेदवारी दर्ता गरिएकाले हामीले विरोध गरेका हौँ। बिहानसम्म लक्ष्मी कार्कीको नाममा आउन तयार भएको टिकट एकाएक अर्को व्यक्तिले कसरी पयो? नगर कमिटी, क्षेत्रीय कमिटी कसैसँग सल्लाह नै नभई पावर देखाउने काम भएको छ। क्षेत्रीय सभापतिलाई समेत जानकारी नभएको व्यक्तिको नाम आएको छ। म स्वयम निर्वाचन परिचालन कमिटीको उपसंयोजक हुँ तर मलाई नै जानकारी छैन। यो निर्णय नसच्याए हामी निर्वाचनमा सहभागी नै हुँदैनौँ।’

त्यस्तै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका हेमन्त सुवेदीले प्रतिनिधिसभाका उम्मेदवार सुनिल शर्माले उम्मेदवार चयनमा सल्लाह गर्ने आश्वासन दिएर एकलौटी निर्णय गरेको जिकिर गरेका छन्। उनले भने, ‘हिजो सल्लाह गर्ने आश्वासन दिएर रातारात चलखेल गरेर मानबहादुर लिम्बुलाई टिकट किन दिइयो? कसरी दिइयो? पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई समेत जानकारी नदिई तानासाह देखाइएको छ। कति विडम्बनाको कुरा होला यो, जबकि एउटा व्यक्तिको मृत्यु भएको छ। उहाँकी श्रीमतीले मेरो श्रीमानको प्रतिनिधित्व म गर्छु भन्दा नपाउने? जबरजस्ती मानबहादुरको नाम आएको छ। यो हामीलाई मान्य हुँदैन।’

शेखरचन्द्र थापाको निधनपछि प्रदेशको टिकट पाउने मानबहादुर लिम्बु सुनिल शर्माका खास मान्छे हुन्। २०७४ सालको निर्वाचनमा शर्माको दायाँ हात बनेर उनले काम गरेका थिए। गठबन्धनको भागबन्डामा टिकट पाउन नसकेका लिम्बुलाई शर्माले पहिलो प्राथमिकतामा राखेको पथरीशनिश्चरेका काँग्रेस कार्यकर्ताहरूको आरोप रहेको छ। यो घटनासँगै पथरीमा कमजोर देखिएका शर्मामाथि गत स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्र देखिएको अन्तर्घात र काँग्रेसभित्रको गुटगत द्वन्द्वले पनि थप चुनौती थपिदिएको छ।

रेखाले मार्लिन् त बाजी ?

मोरङ-३ मा संगठनात्मक हिसाबले अत्यन्त कमजोर देखिएको राप्रपाको तर्फबाट उम्मेदवार बनेकी रेखा थापाको लागि संगठन नै सबैभन्दा ठुलो कमजोरी हो। यो क्षेत्रमा जित हात पार्नका लागि उनको संगठनको मत १० गुणभन्दा बढीले बढाउनुपर्ने हुन्छ।

चलचित्र क्षेत्रमा प्रतिष्ठा कमाएकी उनी निष्कलङ्क, युवा साथै महिला हुनु उनको बलियो पक्ष हो। मोरङ-३ ले इतिहासमै पहिला पटक महिला प्रतिनिधि पाउने भन्दै महिलाहरू थापाको पक्षमा उभिएका छन्। थापा यसै क्षेत्रमा जन्मिएको र हुर्किएको हुनाले उनको पारिवारिक मत साथै उनका शुभेच्छुकहरूको मतसमेत उनको साथमा छ।

त्यस्तै अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्वासी बस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ क्षेत्र नं ३ का करिब एक हजार घर परिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका थिए। जसमा कानेपोखरी, बेलबारी र पथरीशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्वासी बस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दबाब स्वरूप आफ्नो हस्ताक्षर संसद् भवनमा पुर्‍याउन आग्रह गर्दै उक्त संकलित हस्ताक्षर रेखा थापालाई बुझाएका छन्। त्यसमा पनि थापाको सुन्दरहरैंचा-९ मा रहेको घरको समेत धनीपुर्जा नभएकाले सुकुम्वासी समस्या मेरो आफ्नै समस्या हो भन्दै थापाले मतदातामाझ सामीप्ययता बढाएकी छन्। करिब १ लाख ५० हजार मतदाता रहेको यो क्षेत्रमा ४० हजारको हाराहारीमा सुकुम्वासी रहेका छन्। जसको मत हरेका निर्वाचनमा निर्णायक बन्दै आएको छ।

नयाँ मतदाता र युवा पुस्ताको मात्रै हैन विभिन्न कारण एमाले र काँग्रेससँग रुष्ट रहेका पार्टीभित्रैका एकाध कार्यकर्ताले पनि खुलेरै रेखालाई समर्थन गरिरहेका छन्। जसले पनि पछिल्लो समय एमाले र काँग्रेसबीचको अन्तरद्वन्द्वमा थापाले नतिजा हात पार्ने हो कि भन्ने विश्लेषण पनि हुन थालेको छ। यसबीच छोटो समयमा आफूलाई विकल्पको रूपमा स्थापित गर्न सफल भएकी रेखाले पुराना दल र व्यक्तिप्रतिको आम मतदाताको असन्तुष्टिको मत आफूतर्फ केन्द्रित गराएको देखिन्छ।

गठबन्धन र एमालेले एकअर्काको विरोध गरिरहँदा थापा भने २६ वटै वडामा घरदैलो कार्यक्रम सकेर क्षेत्र परिक्रमा गर्ने र विशेष बैठक गर्ने कार्यमा व्यस्त रहेकी छन्। उनी संगठन कमजोर भए पनि स्थानीयहरूले नयाँ अनुहार छान्नेमा विश्वस्त रहेकी छन्।

अन्ततः ३ जनाबीचकाे भिडन्तको जित कसले हात पार्छ भन्रे सोझै अनुमान लगाउन सक्ने अवस्था छैन। हालसम्मको अवस्था हेर्दा काँग्रेस र राप्रपाबीच प्रतिस्पर्धा हुने देखिन्छ। गठबन्धनभित्र अन्तर्घात नहुने अवस्था भएको भए शर्माको जितको सम्भावना उच्च रहेको थियो। तर गठबन्धनभित्र एकअर्काप्रतिको अविश्वास र काँग्रेसको गुटगत असन्तुष्टि मिलाउन नसकेका कारण उम्मेदवार आफैँमा डर सिर्जना भएको देखिन्छ। गठबन्धनको किचलो मिलाउन नसकेको खण्डमा असन्तुष्ट मत रेखातर्फ केन्द्रित हुने र थापाले चुनावी नतिजा हात पार्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति: : 2022-11-15 12:10:00

प्रतिकृया दिनुहोस्