अत्याधिक बहुमतले चुनाव जित्छु भन्नेमा ढुक्क छु : रुपेश दानी (भिडियाे)

काठमाडाैँ क्षेत्र नं. ९ (ख)मा राष्ट्रिय जनमाेर्चाबाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन्, रुपेश दानी।

काठमाडौँमा जन्मिएका उनले अब देशले युवा खोजेको भन्दै विश्वका अन्य देशमा जस्तै नेपालमा पनि नीति निर्माणदेखि राज्य सञ्चालनमा युवाको प्रतिनिधित्व हुनुपर्ने अवस्था आएकोले आफूले उम्मेदवारी दिएको बताउँछन्।

बिगत लामो समयदेखि व्यवसायसँगै सामाजिक अभियान्ताकाे रुपमा राम्रो छवि बनाएका उनको मतदाता देश विकासकाे कुनै न कुनै तरिकाले याेगदान पुर्‍याउँदै आएका छन्। समाज र राष्ट्रलाई माथि उठाउन संकल्प र प्रतिज्ञा साथ उनी जनतामाझ प्रस्तुत भएका छन। चुनावी अभियानमा सक्रिय रहेका उनै रुपेश दानीसँग निर्वाचन केन्द्रित रहेर ध्रुब बस्यालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:


तपाईंको उम्मेदवारी किन ?

वर्तमान नेपाली राजनीति फोहाेरी भइसकेको छ। देशमा भ्रष्टाचार, बेथिति, लुटतन्त्र, महंगी निकै मौलाइरहेको देखिन्छ। हरेकदिन एयरपाेर्टबाट हजारौँ युवाहरु विदेशिनु परेको छ। यस्तो कुरा जनताले कहिलेसम्म भोग्ने त। आमजनता सुखीसँग बाँच्नेसमेत अवस्था छैन। विकासका नाममा विनास भोगिरहेका छन, जनता यो देश बुढा/पाकाले कहिलेसम्म चलाएर लुटतन्त्र मच्चाउने ? यसको विरुद्धमा युवाले चाहे के मात्र गर्न सक्दैनन्। चुनाव जित्नेहरुले आजसम्म झुट्ठा आश्वासन देखाएर चुनाव जित्ने तर काम नगर्ने गरेकाले मेराे काम गर्नका लागि र राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षता र संविधानको रक्षाको लागि हाम्रो निरन्तर संघर्ष हो। देशमा भएका बेतिथि तथा कूसंस्कारको अन्त्यका लागि मेरो उम्मेदवारी हो।

चुनावी अभियानलाई कसरी अगाडि बढाइराख्नु भएको छ ? जनताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

जनताबाट सोचेको भन्दा फरक साथ सर्मथन पाइराखेको छु। हेरक घर घरमा जनता शिक्षित भइसकेका छन्। नयाँ सोच विचार बोकेका युवा उम्मेदवारलाई अब जिताउनुपर्छ भनिरहेका छन्। हिजोको तुलनामा हजुरबाउले जसलाई समर्थन गरेका थिए, त्यसलाई नै समर्थन गर्नुपर्छ भन्ने मानसिकता जनताबाट हटिसकेको छ। जनता बुझ्ने भइसकेका छन्। सक्ष्म उम्मेदवारलाई जिताउनुपर्छ भनिरहेका छन्। अब जनताले नो नट अगेनलाई अङ्गाली सकेका छन्। त्यसैले जनताबाट अब नयाँ युवालाई जिताउनुपर्छ भन्ने कुरा आइरहेका छ। एकदमै सकारात्मक सहयाेग र समर्थन पाइराखेको छु।

तपाईंविरुद्ध त गठबन्धन, एमाले तथा स्वतन्त्र उम्मेदवार बलियाे रुपमा देखिन्छन्, के चुनाव जित्ने कल्पना गर्नुभएको छ ?

चुनाव त म अवश्य जित्छु, जित्नकै लागि मेरो उम्मेदवारी हो। हार्ने भनेर म चुनावी मैदानमा उत्रिएको हाेइन। अरुभन्दा अत्याधिक बहुमतले चुनाव जित्ने कल्पना गरेको छु। मेरो व्यक्तिगत समस्याका कारण हरेक मतदाताको घर-घरमा पुग्न सकेको छैन। तर, जहाँ–जहाँ पुगेको छु, राम्रो साथ पाएकाे छु। अन्य नेताहरुबाट जनता निराश छन्। पुराना नेताहरुले अब आराम गर्ने बेला आएको छ, त्यसैले म मेरो क्षेत्रको सक्षम युवा उम्मेदवार हो। चुनाव ढुक्क जित्छु। यसमा दुईमत छैन।

तपाईंका चुनावी एजेण्डा के–के हुन् ?

जनता झुक्याउन मेरो त्यति ठुलो एजेण्डा छैन। मैले यो क्षेत्रमा जन्मिएर भोगिरहेको समस्यालाई समाधान गर्ने मेरो मुख्य एजेण्डा हो। अन्य उम्मेदवारजस्तो कल्पना गरेर झुट्ठा गफ दिने यो वा त्यो गर्छु भन्ने हाेइन, मैले मेरो क्षेत्रको समस्याको समधान गर्नेछु भने व्यवस्थित शिक्षा, स्वास्थ्य, खानेपानी, राजेगारी, यातायात व्यवस्थापन र हरेक क्षेत्रमा भएको भ्रष्टाचारको अन्त्यका नै मेरो एजेण्डा हो।

तपाईं त संघीयता विरोध तथा प्रदेश सभा खारेजीको एजेण्डा बोकेको पार्टीको उम्मेदवार फेरि प्रदेश सभामा किन उम्मेदवारी ?

देश संघीय प्रणालीमा चलेको छ। म त्यही देशको नागरिक, यसको खारेजीको लागि पनि त्यही व्यवस्थाभित्र पसेर आवाज उठाउनुपर्ने देखिन्छ। हामीले प्रदेश सरकार खारेज गर्नुपर्छ, स्थानीय तह र संघ बलियो बनाए पुग्छ, भनेका छौँ। हामीले संघीयताको विरोध गर्छौँ। विरोध गर्नका लागि त्यो ठाउँमा पुग्नैपर्ने भएकाले मैले प्रदेश सभामा उम्मेदवारी दिएको हुँ।

यो देशमा प्रदेश सरकारको कुनै काम छैन, त्यहाँ पुगेर त्यसकै खारेजीका लागि मैले संसदमा पुगेर बोल्नेछु। कसै कसैले यो व्यवस्थाको विरोध गर्ने तर फेरि उम्मेदवारी दिएर जनता झुक्काउने काम किन गरेको भन्दै गरेको पनि देखिन्छ, त्यसको खारेजीको लागि पनि त त्यहाँ पुगेर आवाज उठाउन पाउनुपर्छ,  त्यही आवाज उठाउनका लागि मैले प्रदेश सभामा उम्मेदवारी दिएको हुँ।

तपाईं त आफ्नै पेसा व्यवसाय भएको मान्छे, राजनीतिक झन्झटमा किन लाग्नुभएको ?

मेरो तीन/चार वटा व्यवसाय छ। मेरो परिवार र जिन्दगी चलाउनका लागि कुनै समस्या छैन तर एक सर्वसाधरण जनतालाई एकछाक टार्नसमेत निकै मुस्किल देखिन्छ। उहाँहरुले भोगिरहेको समस्याको समाधानका लागि राजनीतिक निरन्तरता आवश्यक देखेर ती सर्वसाधरणहरुको जीवनयापनलाई सुधार, आमनेपालीको जीवनलाई व्यवस्थापनका साथै हरेकदिन विदेशिनु परेका युवालाई देशमै केही गर्ने वातावरण सिर्जना गर्नका लागि मैले व्यवसायलाई निरन्तरता दिँदै आमजनताको लागि राजनीतिमा जोडिएको हुँ। यो कुनै झन्झट हाेइन।

अन्त्यमा, तपाईंको मतदातालाई के भन्न चाहनुहुन्छ ?

आम निर्वाचन नजिकिँसकेको छ। म सबै मतदाताको घर-घरमा पुग्न सकेको छैन। तर, तपाईंहरुको क्षेत्रमा केही गर्छु भन्ने उद्देश्यले एउटा सक्षम युवा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकाे छु। त्यसैले विनम्रताका साथ गिलास चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजयी गराइदिनु हुन अनुरोध गर्दछु।

प्रकाशित मिति: : 2022-11-17 21:38:00

प्रतिकृया दिनुहोस्