
मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी रेखा थापा पराजित भइन्।
कांग्रेसका नेता सुनिल शर्मासंग पराजित भएकी रेखाले तेस्राे स्थानमै चित्त बुझाउनु पर्याे। कांग्रेस नेता शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गर्दा रेखाले १० हजार ९ सय ९८ मत पाइन्।
निर्वाचन मिति ताेकिनु अघि नै रेखाले आफू मोरङ ३ बाट उम्मेदवारी दिने घोषणा गर्दै मतदाता रिझाउन सुरु गरिसकेकी थिइन्।
निर्वाचनकाे सुरूवाती दिनबाट नै माेरङका आम मतादाताले साथ दिइरहँदा चुनाव जित्नेमा रेखा ढुक्क थिइन्।
चुनावी घरदैलोमा त्यहाँका मानिसहरुले दिएकाे साथ देखेर रेखा पनि निकै उत्साहित थिइन्। उनकाे प्रचारमा उपस्थित मानिसहरुको झुण्ड देखेर धेरैले रेखाले भारी मतले जित्ने अनुमान पनि गरेका थिए। तर, मतपरिणाम भने ठ्याक्कै उल्टो भइदियाे। भारी मतका साथ जित हासिल गर्ने अनुमान गरिएकी रेखाले लज्जास्पद हार बेहाेर्नु पर्याे।
चुनाव प्रचारप्रसारमा उनी जहाँ पुग्थिन्, त्यहाँ समर्थककाे बाक्लाे उपस्थिति हुने गर्थ्याे। अन्य पार्टीका उम्मेदवारहरुलाई प्रचारप्रसारमा मान्छेकाे अभाव भइरहेका बेला रेखाकाे कार्यक्रममा भने मानिसहरुकाे ओइराे नै लाग्ने गर्थ्याे। उनीसंग सेल्फी लिनेहरुकाे भिड लाग्थ्याे। तर, उनले जति सेल्फी दिइन्, त्यति भाेट पनि पाउन सकिनन्।
उनकाे कार्यक्रममा उपस्थित मान्छेहरुकाे भिड देखेर लाग्थ्याे मोरङका जनताले रेखाकाे एजेण्डा मन पराउँछन्। त्यसबेला उनले धेरैको माया, आर्शीवाद र साथ पाएको आभास हुन्थ्यो। लाग्थ्याे, उनीहरु रेखाका भाेटर हुन्, रेखाले कसाे चुनाव नजित्लिन्।
तर वास्तविकता त्यस्ता भएन। रेखा थापा एउटी अभिनेत्री हुन्, सेलिब्रेटी हुन्। उनका प्रशंसकहरु धेरै छन्। रेखालाई एक पटक देख्नका लागि मरिहत्ये गर्नेहरु पनि धेरै छन्। जति पनि मान्छहरु उनीसँग सेल्फी लिन आए, उनीहरु रेखालाई एक झलक देख्न लालायित हुनेहरु थिए। उनीहरु रेखासँग सेल्फी मात्र लिन चाहन्थे।
त्यसैले पनि अनुमान लगाउन सकिन्छ कि रेखाकाे आम चुनावी यात्रा सेल्फीमै सीमित रह्याे। उनीसंगकाे सेल्फी भाेटमा परिणत हुन सकेन। उनलाई मोरङबासीले नेतृभन्दा पनि अभिनेत्रीको रुपमा मन पराएकाे प्रमाणित गराइदिएका छन्।
देशभर युवा पुस्ताको जित र युवामाथि जनताले भराेसा गरिरहेको बेला रेखाले जित्ने धेरैकाे अनुमान थियो। तर चुनावी परिणाम रेखाकाे पक्षमा आउन सकेन।
छोटो राजनीतिक यात्रामा रेखा अलिक अस्थिर पनि देखिन्छिन्। २०७० सालमा उनी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी थिइन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेर त्यति चर्चित बनेकी उनकाे मतदाता नामावलीमा नाम नभएका कारण दोस्रो संविधान सभाको चुनावमा माओवादीबाट चुनाव लड्ने सपना पुरा हुन सकेन।
पछि उनी माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरिन्। ०७८ मा भएको राप्रपाको महाधिवेशनमा महामन्त्री पदमा पराजित पनि भइन्। महामन्त्रीमा पराजित भएपनि उनले राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि मोरङ–३ बाट टिकट लिन सफल भइन्। तर जित हासिल गर्न सकिनन्।
राजनीतिमा खासै जम्न नसकेकी रेखालाई जनमतले पनि राजनीति नगर्न सुझाएकाे छ। उनलाई कलाकारितामै फर्कन आग्रह पनि गरिरहेका छन्।
१ .
२ .
३ .
४ .
५ .