गाडी गुड्न नपाउँदै भत्कियाे ५२ लाख खर्चेर बनाएकाे पुल 

जुम्लाको सिंजा गाउँपालिकाकाे २ र ३ वडा जोड्ने हिमा नदीमाथिकाे पुल गाडी नगुड्दै भत्तिएकाे छ। उक्त पुल बनाउन ५२ लाख रकम खर्च भएकाे थियाे।

कात्तिक महिनामा परेको अविरल वर्षासँगै आएको बाढीले पुल क्षतविक्षत भएकाे थियाे। पुल भत्किएपछि आवतजावतमा समस्या आइरहेकाे छ।

न मर्मत गरी सञ्चालनमा ल्याइएको छ, न भत्काएर नयाँ बनाउन पहल नै भएकाे छ। बाढीले पुल भत्काउँदा निकै ठूलो समस्या भएकाे सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए।

'गाउँपालिका केन्द्र नराकोटदेखि नाग्म-गमगढी सडक जोड्ने उक्त पुलले सिंजा–२ लाई समेत यातायातसँग जोडेको थियो। अहिले पुल प्रयोगविहीन अवस्थामा छ,' उनले भने, 'पालिका केन्द्र अगाडि ठिंग उभिएको जस्तो छ। पुल हेरेर काठको फड्के तरेर वारपार गर्नुपरिरहेको अवस्था छ।'

गाउँपालिकाले पुल बनाउनका लागि ५२ लाख रुपैयाँ खर्चेको थियो। ढुक्कसँग पुलमा मोटर चढेर वारपार गर्ने सिंजालीको सपना पूरा हुन नसकेको सिँजा–२ का पूर्ववडाध्यक्ष नविन शर्माले बताए।

उनले भने, 'बाढीले पुल बगाउन सकेन। तर, पुल बांगो बनाएको छ। मर्मत गरेर पनि सञ्चालन हुन सक्ने अवस्था छैन। पुल वरिपरिको सबै जमिन कटान गरेर लगिसकेकाले नदीको बीचमा उभिएको जस्तो मात्र देखिन्छ।' उनले व्यङ्ग्य गर्दै थपे, 'पुल तर्न पाइँदैन। तर, हेर्नचाहिँ पाइन्छ।'

सुर्खेत-नेपालगन्ज हुँदै मुगुको रारा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकलाई पालिका केन्द्रसम्म आइपुग्न सहज होस् भन्ने हिसाबले पुल बनेको थियो।

पालिकासँगै जोडिएको जीर्ण पुलले हरेक दिन झस्काउने गरेको स्थानीय बताउँछन्। बाढीले भत्काएको पुल पूर्ण रूपमा भत्काएर राम्रो पक्की पुल बनाउनुपर्ने स्थानीयको माग छ।

'पालिकाले पहिल्यै सोच विचार गरेर पुल बनाइदिएको भए सायद पुलको यस्तो हबिगत हुँदैनथ्यो होला,' स्थानीय कमल बुढाले भने, 'पालिकाको न पुल रह्यो, न त पालिकाको बजेट नै सदुपयोग भयो।'

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले अघिल्लो सरकारको गैरजिम्मेवारीले पुल भत्किएको बताए।

'इन्जिनियरलाई एकपटक सोध्छौं, मर्मत हुनेजस्तो देखिँदैन,' उनले भने, 'अब पक्की पुल बनाउने तयारीमा छौं। गत साल बनेको पुलको डिपिआर मिलेको छैन। एलआरबिपीले पुलको डिपिआर ठीक छ भनेर पठाइसकेपछि पक्की पुल निर्माणको काम अघि बढ्छ।'

उनले आफ्नो कार्यकालमा अघिल्लो सरकारले गरेजस्तो कच्ची काम नहुने समेत स्पष्ट पारे।

प्रकाशित मिति: : 2022-12-28 11:01:00

प्रतिकृया दिनुहोस्