डोल्पा र रुकुममा थोत्रा जीपका छतभरी मान्छे, बढ्याे दुर्घटनाको जोखिम

हिमाली जिल्ला डोल्पाबाट रुकुम पश्चिमको गोतामकोट पुग्ने यात्रुवाहक जीपहरुले छतमा समेत मान्छे राख्ने गरेपछि दुर्घटनाको जोखिम बढेको छ।

जीप व्यवसायिहरुले पैसाको लोभमा सिट क्षमताभन्दा दोब्बर मान्छे जीपमा राख्ने गरेपछि दुर्घटनाको जोखिम बढेको हो।

व्यवसायीहरु जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत पर्ने त्रिपुराकोट रुकुमको गोतामकोट खण्डमाभित्र बाहिरै मान्छे भरिभराउ गर्ने गरेका छन्।

जीप व्यवसायिको मनोमानीका कारण त्रिपुराकोट रुकुमको गोतामकोट सडकखण्डमा दुर्घटनाको जोखिम बढेको सुर्खेतबाट डोल्पा आएका यात्रु बालमुकुन्द आचार्यले बताए।

'गाडीको सिट निश्चित हुन्छ, एउटा जीपले खासमा बाह्रदेखि चौध जनासम्म बोक्न मिल्छ, तर गाडीले धान्नै नसक्ने गरी बाइस जनासम्म यात्रु ओसारिरहेका छन्, घण्टा घण्टामा गाडी छुट्ने व्यवस्था पनि छैन', उनले भने।

'एकातिर कच्ची बाटो, अर्कोतिर जोहो गरेर चलाइएका थोत्रा गाडी, त्यसमा पनि सिट क्षमताभन्दा दोब्बर मान्छे, व्यवसायीको मनोमानीले यस सडकखण्डमा ठुलो दुर्घटनाको जोखिम बढेको छ।'

यसरी जीप व्यवसायीले मनोमानी ढङ्गबाट यातायात चलाइरहँदा डोल्पा र रुकुम पश्चिमका प्रहरी प्रशासन रमिते भएर बसेको उनको भनाइ छ।

गत मंगलबार डोल्पा जाने क्रमा सिट क्षमताभन्दा धेरै मान्छे राखेकै कारण रुकुम पश्चिमको ज्यामिरेमा एउटा जीपको स्टेरिङ फेल भएर पनि भाग्यबस ठुलो दुर्घटना नभएको उनले बताए।

त्यतिमात्र नभई यस सडकखण्डमा जीप व्यवसायि र चालकहरुले गाडी भाडा पनि मनोमानी हिसाबले उठाइरहेको यात्रुहरुको गुनासो छ।

त्रिपुरासुन्दरी नगरपालिकाका युवा जयस उपाध्यायले पैसाको लोभमा यसरी छतमा समेत भरिभराउ मान्छे ओसार्दा दुर्घटना भएर ठुलो मानवीय क्षति हुनसक्ने बताए।

यस बिषयमा प्रहरी प्रशासनले विशेष निगरानी राख्नु पर्ने उनको भनाइ छ। जीप व्यवसायिले पनि अत्यन्तै जीर्ण गाडीहरु चलाइरहेकाले त्यस्ता गाडीहरु विस्थापित गर्नुपर्ने उनले बताए।

यता डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले सिट क्षमताभन्दा धेरै मान्छे राखेको पाइएमा तुरुन्त समातेर थुन्न निर्देशन दिएको बताए। यस विषमयमा पटकपटक प्रहरीमार्फत सचेत गराउँदा पनि जीप व्यवसायिले अटेरी गरिहेको उनको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले सिटभन्दा धेरै यात्रु बोक्ने गाडी र चालक दुबैलाई कारवाही गर्न निर्देशन दिएको बताए।

प्रकाशित मिति: : 2023-01-06 13:05:00

प्रतिकृया दिनुहोस्