नगरपालिकाको शैक्षिक स्तर उन्नतिको निम्ति नगर शिक्षक सम्मेलन (भिडियाे)

सुनिता लामा

काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाले आफ्नो नगरपालिकाभित्र रहेको १९ वटा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार, विकास र उन्नयनका लागि प्रथम नगर शिक्षक सम्मेलनको आयोजना गरेको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाद्वारा आयोजित उक्त सम्मेलनमा १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षाविद्लगायत समाजसेवीहरुको पनि सहभागीता रहेको थियो।

राष्ट्रिय विज्ञान प्रविधि प्रतिष्ठानका अध्यक्ष डा. खगराज बरालको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले नगरपालिकालाई आगामी पाँच वर्षभित्रमा सामुदायिक स्तरको शैक्षिक सुधारमा उदाहरणीय बन्ने उदघोष गरेका थिए। सामुदायिक विद्यालयले शिक्षकको गुणस्तरमा पनि ध्यान दिनुपर्छ।

उनीहरुको उत्प्रेरणाको निम्ति आकर्षक पारिश्रामिक तथा सुविधाहरुको ग्यारेण्टी पनि राज्यका निकायले नै गर्नुपर्छ। उत्कृष्टलाई पुरस्कार र प्रोत्साहन र लामो समय काम गरेर थाकिसकेकालाई सम्मानित बिदाइ जस्ता कार्यक्रमको पनि व्यवस्था गरिनुपर्छ। डा. अधिकारीले यस्तै विचार व्यक्त गरिरहँदा कतिपय शिक्षकहरु प्रफुल्लित देखिन्थे।

‘एउटा व्यक्तिलाई सबल, सक्षम, योग्य, सभ्य, शिक्षित र दक्ष बनाउने शिक्षा हो। र यसलाई सम्पूर्ण बस्ती, वर्ग, क्षेत्र र समुदायसम्म पुर्याउने माध्यम शिक्षक नै हो। बूढानीलकण्ठ नगरपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयहरुमा ३४ प्रतिशत स्थायी र ६४ प्रतिशत अस्थायी बसोबास गर्ने अभिभावकका छाेराछाेरीहरु अध्ययन गर्छन्। भोलिका दिनमा यी अस्थायी बसोबास गर्ने अभिभावकहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा नपठाउने हो भने हाम्रो शैक्षिक अवस्था के होला?’ बूढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामाले यो प्रश्न गर्दा सम्मेलनका सहभागी शिक्षकहरुमा सन्नाटा छाएको थियो।

'शिक्षकहरुको आवश्यक र जायज मागहरुलाई नगरपालिकाले सम्बोधन गर्ने तर शिक्षक वर्गले पनि यी डाटाहरुलाई ध्यानमा राखी शिक्षालाई अझ बढी सीपमुलक, श्रममुलक, व्यवहारिक, प्राविधिक र जीवनयापनसँग जोड्न आफूलाई पनि त्यस्तै रुपमा अद्यावधिक गर्नु अत्यावश्यक छ। उनले भनिन्, 'अबको शिक्षा नीति निर्माणको जिम्मेवारी शिक्षकलाई दिइने र सामुदायिक विद्यालयको शैक्षिक सुधार, विकास र उन्नयनको लागि नगरपालिका सधैँ तत्पर रहने छ।'

सम्मेलनले सामुदायिक विद्यालयहरुलाई नगरपालिकाले अभिभावकत्व प्रदान गरेको आभाष भएको धेरै सहभागीहरुले बताएका थिए। सामुदायिक विद्यालयमा संघीय शिक्षा ऐन कडाइका साथ लागु गर्नुपर्ने कुरामा जोड दिँदै नेपाल शिक्षक संघ नगर कमिटीका अध्यक्ष मदन कुमार पौडेलले शिक्षकहरु दोहोरो त्रासमा रहेर काम गर्नु परिरहेको जानकारी गराएका थिए। सघन शिक्षणलाई अझ प्रभावकारी बनाउँदै शिक्षकहरुको आवश्यक मागहरु पनि नगरपालिकाले पूरा गर्नुपर्ने कुरामा जोड दिएका थिए।

नेपाल शिक्षक संगठनका नगर कमिटी अध्यक्ष श्याम श्रेष्ठले शिक्षा नीति निर्माण गर्दा शिक्षकहरुको प्रत्यक्ष संलग्नता हुनुपर्ने भन्दै शिक्षक कोष खडा गर्न माग गरेका थिए। सम्मेलनमा बोल्दै शिक्षक गोमा श्रेष्ठले पनि नगरपालिकाले शिक्षकहरुको वृत्त वृद्धिको निम्ति समय सापेक्ष अद्यावधिकीकरणका तालिमहरु दिनुपर्ने बताएकी थिइन्।

पाठयक्रम, पाठयपुस्तक परिष्कृत र परिमार्जित भएसँगै शिक्षकहरुलाई त्यसका विविध पक्षहरुको विषयमा प्रशिक्षणको व्यवस्था नगरपालिकाले गर्नुपर्ने धारणा व्यक्त गरेकी थिइन्।

नगरपालिका शिक्षा समिति विज्ञ बाबुकाजी श्रेष्ठ र चाइल्ड नेपालका अध्यक्ष कृष्ण प्रसाद सुवेदीले प्रत्येक सामुदायिक बिद्यालयका शिक्षकहरु सेवा सुविधा नभई विद्यार्थी केन्द्रित हुनुपर्ने कुरामा जोड दिएका थिए। उत्तीर्ण प्रतिशत, कक्षाकोठाको वातावरण, शिक्षण पद्धति र समयसापेक्ष अद्यावधिकीकरणमा शिक्षक स्वयम् पनि जानकार र जागरुक हुनुपर्छ। नगरपालिकाभित्रका निजी विद्यालयसँग सहकार्य गर्दै उनीहरुको राम्रा नीतिहरुको अनुसरण गर्नुपर्ने कुरालाई पनि विज्ञहरुले जोड दिएका थिए।

सामुदायिक विद्यालयका प्रधान अध्यापकहरु आवधिक हुनुपर्ने, नगरपालिकाभित्र हरेक टोलमा करिब तीन वटासम्म सरकारी शिशु स्याहार केन्द्रको स्थापना, सरकारी दरबन्दी मिलान, शिक्षकहरुको स्तरीकीकरण, विद्यार्थीको शिक्षण सिकाइलाई प्राथमिकता, शिक्षकहरुको सृजनशिलता, योग्यता, दक्षता र प्रतिबद्धताको वर्गीकरण जस्ता विषयहरुमा अध्ययन अनुसन्धान गरी यसलाई पूर्ण रुपमा लागु गर्न सकेमा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर उन्नति हुनेमा विश्वस्त रहने विज्ञहरुले बताएका थिए।

सम्मेलनमा सहभागी विभिन्न विषय शिक्षकहरुको समूहले प्रस्तुत गरेका कार्यपत्रको प्रस्तुति र सुझावसँगै शिक्षा महाशाखाले नगरको शैक्षिक अवस्था, अभ्यास र सोचको प्रस्तुति पनि गरिएको थियो।

प्रकाशित मिति: : 2023-01-29 12:45:00

प्रतिकृया दिनुहोस्