उपचार खर्च नभएर मृत्यु कुरिरहेका जनमुक्ति सेना जगत

हुम्लाको सर्केगाड गाउँपालिका रोडिकोटका ३७ वर्षीय जगत विश्वकर्मा विगत ५ वर्षदेखि क्यान्सरका कारण थला परेका छन्। पछिल्लो अवस्थाले उनी निकै हतास मनस्थितिमा गुज्रिरहेका देखिन्छन्।

यो अवधिमा उनले कहिल्यै कसैलाई उपचारका निम्ति गुहारेनन्। आफूसँग भएको धेरथोर रकमबाट सकेको उपचार गरे। पाँच वर्षसम्म रोग पत्ता नलागेपछि जस्तोसुकै औषधिले काम नगर्दा पैसा खर्च हुँदै गयो। तर, उनलाई निको भएन।

पछिल्लो समय उनी झन्झन् कमजोर बन्दै गइरहेका छन्। जब उनी सम्पूर्ण रुपमा रित्तो हुँदै गए, तब उनी मृत्यु पर्खिरहेका छन्। उपचार गर्न नसकेर हतास भएका जगतले भने, 'अब मृत्यु कुर्नुबाहेक अरु कुनै विकल्प छैन।'

२०५२ सालदेखि २०६३ सम्म माओवादी आन्दाेलनमा होमिएका जगत अहिले निकै संकटमा परेका छन्। उनले नेपालका विभिन्न अस्पतालहरुमा उपचार गराए। तर राेग पत्ता लाग्न सकेकाे थिएन।

पछि मात्रै उनलाई क्यान्सर भएको पुष्टि भयाे। हाल उनी भारतको लखनउमा उपचार गराइरहेका छन्। उनकाे उपचार गर्दा ३० लाख रकम सकिएपछि अहिले उपचार खर्चको लागि आर्थिक संकट बेहाेरिरहेका छन्।

उनले भने, 'म अहिले अस्पतालकाे बेडबाट सहयोगको अपिल गरिरहेकाे छु। मलाई सहयोग गरिदिनुस्।'

हिजो कमजोर र बेसहारालाई भरोसा दिने उनी आज आफैँ सहारा खोज्ने स्थितिमा पुगेका छन्। विश्वकर्माले थप उपचार गर्नलाई रकम अभाव भएपछि क्रमशः फिर्ता गर्ने गरी सक्दो सहयोग गर्न सबैमा अपिल गरेका छन्।

उनी जनयुद्वमा सहभागी योद्वासमेत हुन्। विश्वकर्माले आफू बाँचे आगामी दिनमा निश्वार्थका रुपमा मानवसेवामा समर्पित भएर लाग्ने बताएका छन्।

३७ वर्षीय जगत विश्वकर्मा सामाजिक विषयमा आवाज उठाउँदै आएका जुझारु र नेतृत्वकाे छवि निर्माण गरिसकेका व्यक्ति हुन्। तर उपचार खर्च नपाएर तड्पिरहेका छन्।

प्रकाशित मिति: : 2023-01-30 11:33:00

प्रतिकृया दिनुहोस्