सोमबार, ११ अगस्ट २०२५

रास्वपा केन्द्रीय समिति बिस्तार: किन अटाएनन् चार सांसद ?

News Image
• • •

रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १६ नयाँ सदस्य थपेर पार्टीको केन्द्रीय समिति ४० सदस्यीय पुर्याएको छ। 

तर, १६ जना नयाँ थपिदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर प्रत्यक्षतर्फ जितेका चार सांसद भने केन्द्रीय समितिमा अटेनन्। यसरी नअटाएका सांसदहरूमा ललितपुर–३ की डा. तोसिमा कार्की, काठमाडौैं–६ का शिशिर खनाल, काठमाडौैं–८ का विराजभक्त श्रेष्ठ र चितवन–१ का हरि ढकाल रहेका छन्।

लोकप्रिय मतका साथ संसद जितेका विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता हुन् भने शिशिर खनाल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शिक्षामन्त्री रहिसकेका छन्। 

उनीहरू आफैं केन्द्रीय समितिमा बस्न नमानेका हुन् वा उनीहरूलाई केन्द्रीय समिति सदस्य नबनाइएको हो? अहिले यो प्रश्नले राष्ट्रिय स्वतन्त्र पार्टी भित्र र बाहिर ठाउँ पाएको छ।

रास्वपाका नयाँ केन्द्रीय सदस्यहरू 
निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री

उनीहरूका बारेमा अहिले दुबै थरिका प्रतिक्रिया बाहिर आएका छन्। 

एकथरिले पार्टी सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवाद, सरकारमा सहभागिता र फिर्तालगायतका मुद्दामा सभापति लामिछानेको भन्दा भिन्न धारणाा राखेकाले उनीहरूलाई नियोजित किसिमले नै किनारामा पारिएको भनेका छन्। अर्काथरिले उनीहरूले चुनावमा घण्टीवाला उम्मेदवार भएको तर आफैं केन्द्रीय सदस्य हुन नचाहेको बताएका छन्। तर, यो तर्कमा त्यति दम देखिदैन। पार्टीको साधारण सदस्य भएर सांसद निर्वाचित भैसकेपछि केन्द्रीय सदस्य हुन नचाहनुको कुनै अर्थ नै हुँदैन। 

जे होस्, यो लटका केन्द्रीय सदस्यको मनोनयन विवादित बनेको छ। यसको प्रभाव केही दिनमै देखिने रास्वपाका एक केन्द्रीय सदस्यले बताएका छन्। उनका अनुसार, यी सबै  नामहरू पार्टी सभापति लामिछानेकै रोस्टरका हुन्।

सोमबार, फाल्गुण ०१, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)