अमेरिकाले भन्यो– नेपाल अन्तर्राष्ट्रिय आतंकवादको ‘ट्रान्जिट’ र ‘स्टेजिङ’ पोइन्ट

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहको ट्रान्जिट र स्टेजिङ प्वोइन्ट भएको जनाएको छ।अमेरिकी ब्यूरो अफ काउन्टर टेरोरिज्मले जारी गरेको वार्षिक प्रतिवेदनमा नेपालका सन्दर्भमा यस्तो उल्लेख गरिएको हो।

प्रतिवेदनमा भारतसँगको खुला सिमाना र काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलमाथि गम्भीर प्रश्न उठाइएको छ। र, यिनै दुई आधारमा नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहको ट्रान्जिट र स्टेजिङ प्वोइन्ट भएको ठहर गरिएको छ।

असुरक्षित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

- नेपालको विमानस्थलमा सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई प्रिस्क्रिन गर्दैन र  कुनै पनि डाटावेशमा अवतरण डेटा प्रविष्ट गरिदैन। कुनै ट्राभल डकुमेन्टमा सेक्युरिटी छैन भने त्यस्ता कागजात जाँच गर्न एयरपोर्टमा अल्ट्राभायोलेट लाइटको अभाव छ। 

- नेपाल प्रहरीको विशेष ब्यूरोले विमानस्थलमा करिब १० जना अधिकारी खटाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा अवस्थित इन्टरपोल कार्यालमा करिब १५ जना अधिकारी खटाइए पनि  इन्टरपोल कार्यालयबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कुनै कर्मचारी राखिएको छैन। यद्यपि इन्टरपोल कार्याल र विमानस्थलमा भएका कर्मचारीबीच संचार भने हुन्छ।

- इन्टरपोलका सुचनाहरु डाटावेशमा त राखिएको छ तर यात्रुहरूको यस डाटाबेस मार्फत नियमित रूपमा जाँच गरिँदैन। सुरक्षा र अध्यागमन अधिकारीहरूले सामान्यतया अमेरिकाले जानकारीको लागि गरेको अनुरोधहरूको जवाफ त दिन्छन्। उनीहरुसँग प्रदान गर्न थोरै जानकारी मात्र हुन्छ।

अमेरिकी सरकारको विदेश मन्त्रालयअन्तर्गत रहेको यो ब्युरोले हरेक वर्ष दुई वर्षअगाडिको रिपोर्ट प्रकाशन गर्ने गर्छ। सन् २०२१ का लागि प्रकाशित ३३० पृष्ठको वार्षिक प्रतिवेदनको १७९ र १८० पृष्ठमा नेपालका बारेमा उल्लेख गरिएको छ।

पुरा रिपोर्ट पढ्नका लागि यहाँ क्लिक गर्नुहोला।

खुला नेपाल-भारत सिमाना: 

- नेपालको भारतसँग खुला सिमाना छ। सिमाको १ हजार माइलमा केही चेकपोस्टहरू छन् तर यिनीहरूमा पर्याप्त सुरक्षा नियन्त्रणहरू छैनन्। कहिलेकाहीँ एक जना मात्रै अध्यागमन अधिकारी हुन्छन्। सीमा पार गर्ने अधिकांश मानिसलाई न त रोकिन्छ न त जाँच गरिन्छ। क्रसिङ बिन्दुहरू जाँचबाट बच्नको लागि सजिलैसँग छल्न सकिन्छ।

- प्रभावकारी सीमा नियन्त्रण क्षमता हुन नसक्नुको मुख्य कारण स्रोतको अभाव हो। सिमा थप बलियो बनाउन राजनीतिक इच्छाशक्तिको कमी छ। प्रभावकारी सीमा नियन्त्रण प्रदान गर्न सुरक्षा सेवाहरूमा कर्मचारी, प्रविधि, डाटाबेस, आधारभूत उपकरण र विद्युतको समेत अभाव छ। प्रशिक्षणको अभाव र व्यापक भ्रष्टाचारका कारण सिमा सुरक्षामा थप वाधा रहेको छ।

अमेरिकाले सन् २०१३ को वार्षिक प्रतिवेदनदेखि नै भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा व्यवस्थालाई उजागर गर्दै नेपाल अन्तर्राष्ट्रिय आतंकवादको ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा दुरुपयोग हुन सक्ने आशंका गर्दैआएको छ।

प्रकाशित मिति: : 2023-02-28 20:35:00

प्रतिकृया दिनुहोस्