मङ्गलबार, १४ अक्टोबर २०२५

लिस्ने लेकमा ‘एडभेन्चर होली’ (फाेटाे फिचर)

BreaknLinks
तस्बिर: सिर्जना सिज्जु/पृथ्वी पुन (बाल्कुराम) 
• • •

रोल्पा र प्युठानकाे सीमानामा पर्ने लिस्ने लेकमा धुमधामले होली मनाइएकाे छ। रोल्पा र प्युठानको संयुक्त सीमानामा पर्ने लिस्ने लेक समुन्द्र सतहदेखि करिब २५ सय मिटर अग्लो स्थानमा अवस्थित छ। द्वन्दकालमा तत्कालीन नेकपा मा‌‌‌‍‍ओवादी जनमुक्ति सेना र शाही नेपाली सेनाबीच लिस्नेमा भिडन्त भएको थियो। उक्त भिडन्तको दुई दिन लगत्तै जनमुक्ति सेनाले गामको सैनिक ब्यारेकमाथि हमला गरेको थियो।

शान्ति प्रक्रियापछि रोल्पा र प्युठानबासीले फागुन १ गतेका दिन लिस्ने पहाडमा जनयुद्ध दिवस मनाएर सहिदहरुलाई सम्झिने गर्दै आएकाे स्थानीय बताउँछन। त्यसैगरी होलीको दिन दुई जिल्लाका सीमानामा बसोवास गर्ने मानिसहरु त्यहाँ पुगेर प्राय: युवा-युवती आ-आफ्ना दु:ख-सुख, माया-प्रेम, सद्भाव आदानप्रदान गरी होली पर्व मनाउने गरेका छन। ती क्षेत्रका युवा युवतीको भेटघाट र माया साटासाट गर्ने संगमस्थल पनि हो।

यसवर्ष पनि होली पर्वको दिनमा सयौं युवा-युवती घण्टौँ हिँडेर लिस्ने पहाड पुगे, रंगहरुको होली पर्व धुमधामले मनाए। जनयुद्धको इतिहाससहित होली पर्वलाई जोडेर पर्यटन एड्भेन्चर होली पर्वको रुपमा प्रवर्धन गर्न सकिने पर्यटन अभियान्ता पृथ्वी पुन (बाल्कुराम)ले सुझाव दिए। ‘लिस्ने पूर्वी रोल्पा र प्युठानको क्षेत्रको सीमानामा पर्ने करिब २५ सय मिटर अग्लो पहाड जनयुद्धको पनि चर्चित ठाउँ भएकोले युद्ध पर्यटनको विकास र प्रचारप्रसार गर्न सकिन्छ ,’ उनले बताए।

लिस्नेको प्राकृतिक र ऐतिहासक महत्वको संरक्षण, पूर्वाधार निर्माण तथा संवर्धन गर्नपर्ने उनको धारणा रहेको छ। साथै त्यस ठाउँ र सेरोफेरोको पर्यटन प्रवर्दधनमा टेवा पुगोस् भनेर लिस्ने लेकसम्बन्धी डकुमेन्ट्री निर्माण गर्न लागिएको पनि पुनले जानकारी दिए।

कर्णालीकी पर्यटन अभियान्ता तथा ब्लगर सिर्जना सिज्जुले ‘डरलाग्दो भीरमा रहर लाग्दो होली पर्व’ मनाएको सुनाइन्। नेपालमा एक्स्पलोर र प्रवर्धन नगरिएका यस्ता धेरै ठाउँहरु छन। जसलाई प्रचारप्रसार गर्नसके आन्तरिक पर्यटकहरु घुम्न आउने छन।

४-५ घण्टाको उकालो हिँडेर, तल हेर्दा टोपी खस्ने उकालो भीरमा, रिङ्गाटा लाग्ने लिस्ने लेकमा यस वर्षको होली मनाउँन पाउँदा चकित र उत्पात रमाइलो भएको उनले बताइन्।

‘होलीमा धेरै दुर्घटना भइरहेको सुनिएको हुन्छ। मलाई पनि उकालो चढ्दै गर्दा मनमा खुब डर थियो। हेर्दै कहालिलाग्दो यस्तो जोखिम ठाउँमा कसरी रङ्ग लगाउँछन होला,’ उनी अनुभव साटिन्,‘एकअर्कालाई लखेटेर छोपेर रंग लगाइदिन्छ। त्यतिबेला कोहीँ केही भइहाल्यो भने हे भगवान भन्दै डराउँदै रमाउँदै तस्बिरहरु खिचियाे।’

त्यहाँ पुगेका बुढापाखालाई आजसम्म कुनै नराम्रो घटना घटेको छ कि भनेर सोध्दा उनले भनिन्,‘छैन मिस ढुक्क हुनुहोस्, किस्सिम रमाइलो पो हुन्छ।’

रोल्पाली पर्यटन अभियान्ता बालकुराम र कर्णालीका सिर्जना सिज्जु दुवै युद्ध पर्यटनबारे डकुमेन्ट्री निर्माण कार्यमा जुटेका छन।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!