सुवास शर्मा
मुखमा कालो टेप लगाएर मञ्चमा उक्लिएकी ती महिला सम्झनुहोस्, जसले टेप च्यात्दै भनिन्, ‘हामी बोल्न जन्मिएका हौँ, बोल्न पाइन्छ।’ त्यो बोली त्यतिबेला केवल एक आवाज थिएन, त्यो प्रतिरोधको प्रतीक थियो। ओली सरकारले संसद् विघटन गरेर संविधान र लोकतन्त्रको गला थिचेको आरोप लागिरहेको बेला रामकुमारी झाँक्री एउटा अद्भुत दृश्य बनिन् कालो टेप उनको मुखमा, रातो झण्डा हातमा, र ‘बोल्न पाइन्छ’ उनको जिब्रोमा।
त्यो दृश्यले उनलाई चर्चाको शिखरमा पुर्यायो। सत्तासँग टकराउने आँट देखिएकी उनले ओलीलाई ‘संविधान हत्या गर्ने शासक’ भन्दै संसद् पुनःस्थापनाको पक्षमा उग्र भाषण दिएकी थिइन्। त्यो बेला उनी हरेक राजनीतिक बहसमा एउटा प्रतीक बनिन्- निर्भीक, विद्रोही र मुखर। उनको टेपले जनतालाई सम्झायो कि लोकतन्त्र केवल चुनावको कुरा होइन, त्यो आवाजको अधिकार हो।
तर राजनीति पनि सिनेमा जस्तै हुदो रहेछ, नायक र खलनायक कहिलेकाहीँ एकै व्यक्ति भित्रै बस्छन्।
हिजो ‘ओलीले देशलाई प्रतिगमनतर्फ डोर्याए’ भनेर चर्को स्वर निकाल्ने झाँक्री हिजो त्यही ओलीको स्वागत कार्यक्रमको मञ्चमा बसिन्। त्यो मञ्च जहाँ उनी हिजोको विरोधको प्रतिविम्ब थिइन्, आज त्यो मञ्चमा उनी फेरि फूलमालामा लपेटिन पुगिन्। ओलीले हात फैलाएर स्वागत गरे, अनि झाँक्री मुसुक्क मुस्कुराइरहिन्। त्यो त्यो मुस्कानमा आदर्शको सम्झना थिएन, केवल राजनीतिक यथार्थको स्वीकारोक्ति थियो।
कुनैबेला माधवकुमार नेपालको हात समातेर नयाँ पार्टी बनाउन हिडेकी झाँक्रीले अहिले त्यो हात छोडेकी छिन्। उनको ‘समाजवादी’को बाटो छोटो रह्यो, सिद्धान्तको गफ लामो भयो, तर शक्ति र अस्तित्वको राजनीतिमा टिक्नका लागि बाटो फेरिनै पर्यो। उनले एमालेलाई ‘अब परिपक्व, लोकतान्त्रिक अभ्यास भएको पार्टी’ भन्दै फिर्ता प्रवेशको कारण बताइन्। तर यो कथन सुन्दा धेरैलाई लाग्यो ‘विगतको आलोचना के केवल हावामा बोलिएको कुरा थियो? कि त्यो पनि एउटा भूमिका मात्र थियो?’
राजनीतिमा लाज भन्ने शब्द हराएको छ भन्ने वाक्य प्रायः अतिशयोक्ति लाग्थ्यो, तर अहिले झाँक्रीको राजनीतिक फिर्तीले त्यस वाक्यलाई नयाँ अर्थ दिएको छ।
अवश्य पनि, राजनीति स्थिरताको खेल होइन। मानिसले आफ्नो निर्णय बदल्न सक्छ, परिस्थितिले कोठा बदल्न सक्छ। तर जब बदलिने कुरा सिद्धान्त हो , त्यो परिवर्तन सहस्र दर्शकका आँखामा नाङ्गो देखिन्छ।
झाँक्रीले हिजो ओलीलाई ‘लोकतन्त्रको गला थिच्ने’ भनेकी थिइन्, आज उनी त्यही गला समात्ने हातसँगै ताली बजाउँदै उभिएकी छन्। हिजोको शत्रु आजको मित्र बनेको छ, र हिजोको आवाज आजको मौनतामा हराएको छ। यो केवल रामकुमारीको कथा होइन ,यो नेपालको राजनीतिक संस्कृतिको कथा हो, जहाँ विचारभन्दा समीकरण ठूलो हुन्छ, र लाजभन्दा लाभ भारी पर्छ।
उनको फिर्तीलाई एमालेले ठूलो ‘घर फर्क अभियान’को रूपमा सजायो- फूलमाला, तामझाम र भाषणका साथ। ओलीले भने, ‘हामीले सबैलाई स्थान दिन्छौँ, एमालेलाई सबैको घर बनाउँछौँ।’
तर त्यो घर कति साँचो लोकतान्त्रिक छ, त्यो प्रश्न अझै खुलै छ। त्यो घरभित्र झाँक्रीले फेरि ‘बोल्न पाइन्छ’ भन्न सक्नेछिन् कि फेरि नयाँ टेप बाँध्नुपर्नेछ? त्यो समयले देखाउनेछ।
राजनीतिमा विश्वासले होइन, समीकरणले दिशा निर्धारण गर्छ भन्ने कुरा झाँक्रीको फिर्तीले पुनः प्रमाणित गरेको छ।
लोकतन्त्रको रक्षा गर्दै प्रतिगमनविरुद्ध आवाज उठाउने नेतृले अहिले त्यही प्रतिगमनका नायकसँग हात मिलाउँछिन् भने त्यो केवल व्यक्तिगत निर्णय होइन, त्यो हाम्रो राजनीतिक संस्कृतिको दर्पण हो।
रामकुमारी झाँक्रीले इतिहासमा दुई दृश्य छोडेकी छिन्-
पहिलो, मुखमा टेप बाँधेर बोलेको प्रतिरोधको दृश्य।
दोस्रो, फूलमाला ओढेर मौन उभिएको सत्ताको दृश्य।
पहिलोले उनलाई साहसी बनायो, दोस्रोले व्यवहारिक।
तर इतिहास, साहस र व्यवहारबीच सधैं सम्झौता खोज्दैन।
त्यसैले, आज झाँक्रीको फिर्तीले एउटा सवाल उठाएको छ-
‘राजनीतिमा बोल्न पाइन्छ रे, तर के विवेक पनि बेच्न पाइन्छ?’
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया