नेपालीको फोक्सो बुझ्ने प्रयास

BreaknLinks
BreaknLinks

केही समयअघि मात्रै सुन्नमा आयो, नेपालका केही स्थानहरूमा बालबालिकाहरूको स्वासप्रस्वाससम्बन्धी नि:शुल्क चेक/जाँच भैरहेको खबर। बुझ्दै जाँदा थाहा भयो, त्यो अन्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यक्तिहरू आवद्ध संस्थाबाट भैरहेको अध्ययन अनुसन्धान हो भन्ने कुरा।

जनचेतनाको कमी भएका ग्रामीण क्षेत्रहरूमा अझैं राम्ररी शिक्षाको ज्योति फैलिन पाएको छैन। पुरातन मान्यताहरूमा परिवर्तन आउन सकेको छैन। जनजीवन उस्तै छ। परिवेश उस्तै छ। कतै वनमा डढेलो लागिरहेको हुन्छ भने कतै मनमा। सामान्य आय भएका गरीबहरूहरूलाई छाक टार्नै मुस्किल भैरहेको छ। यस्तो परिवेशमा स्वास्थ्यप्रति सचेत हुने अवस्था नै देखिँदैन। गाउँ/घरतिर रोग लागिसकेपछि, रोगले च्यापिसकेपछि पनि धामी झाँक्रीकाे शरणमा जाने चलन छदैछ। नजिकमा गतिला अस्पताल नहुँदा र टाढा जान नसक्दाका पीडा उस्तै छन्। रोग, भोक र शोकले ग्रस्त छ समाज हाम्रो।

सुदूरपश्चिममा एउटा भनाइ छ, केही रोगले केही रोचले केही मरे झिर्काले। डोटेली भाषामा झिर्काको अर्थ हुन्छ झिजो, झञ्झट,सताउने काम, कचकच आदि। घरपरिवारमा बालबच्चाको झिझो त्यतिबेला हुन्छ जब ऊ भोको हुन्छ। जब उसलाई कुनै रोगले सताइरहेको हुन्छ। आमाहरूका मनमा त्यो झिर्काले त्यतिबेला बास गर्छ जब घरको आर्थिक अवस्था निकै कमजोर भइदिन्छ। घरका सदस्यहरूमध्ये कोही बिमारी भैदिन्छन्। निकै तनावपूर्ण भैदिन्छ अभावग्रस्त जिन्दगी।

पछिल्लो समय हाम्रो खानपिन, वातावरण र जनजीवनको कारण विभिन्न किसिमका रोगको सिकार बन्न पुगेका छन्, कयौं बालबालिका र तिनका अभिभावकहरू। अशिक्षित, जनचेतनाशून्य समाजमा हरेक कुरालाई सामान्य रुपमा लिइन्छ। जसले गर्दा त्यहाँ समस्या निम्तिन जान्छ। उदाहरणको रुपमा एउटा गाउँमा भएको हजुरआमा र नातिनीका बीचको छोटो सम्वादलाई हेर्न सकिन्छ।

एकदिन आफ्नो १२ वर्षीया भाइलाई देखाउँदै हजुर आमालाई नातिनीले भनिछन्,‘हजुरआमा हेर्नु न यो त उतापट्टि लुकेर बिँडी पो खाइरहेको थियो।’ विगत सम्झिदै हजुरआमाले लामो सास तानेर भनिछन्,‘खान देऊ न बा तेरा बाले नौ वर्षकै उमेरमा सुरु गरेको थियो। त्यसले त धन्न १२ वर्ष पुगेपछि खायो। छोडि देऊ यस्तै हो यी केटा मान्छेको जात।’

यतिखेर सम्झनामा आइदिन्छन विगतका दिन र गाउँले जनजीवन। जहाँ अत्याधिक मात्रामा बिँडी तमाखुको सेवन गरिन्थ्यो। गोइठा र दाउराको प्रयोग गरिन्थ्यो। घरमा पर्याप्त मात्रामा झ्यालहरू हुँदैन थिए। खाना पकाउने ठाउँबाट सजिलैसँग निस्किने बाटो नपाउँदा घरभरि फैलिने धुवाँले आँखा मिच्दै आँसु झार्न बाध्य तुल्याइरहन्थ्यो। आज पनि ग्रामीण क्षेत्रका कतिपय बस्तीहरुमा उस्तै अवस्था छ। सुकेको खर र माटोको टाइल वा स्लेटले छाएका घरका छानाबाट सकिनसकी बाटो बनाएर निस्किरहेको धुँवाको मुस्लो देखिएकै हुन्थ्यो। जुन आज पनि कतिपय बस्तीमा देखिएकै छ। त्यतिबेला त्यो धुँवाले हाम्रो शरीरमा कति हानी पुर्‍याइरहेको छ भन्ने कुराको ज्ञान हुने त कुरै भएन सोच्ने क्षमतासमेत मजस्ता कैयौंको मस्तिष्कको परिधिभन्दा निकै बाहिरको कुरा थियो। अहिले पनि पिछडिएका र सीमान्तकृत वर्गका मानिसहरूको दिनचर्या उस्तै देखिन्छ। धुँवा धुलो र खापिनले हाम्रो फोक्सोमा पुर्‍याउने असरबारे जनचेतना फैलाउने काम खासै हुन सकेको देखिँदैन। पछिल्लो समय डा.ओम कुर्मीले नेपालका केही ठाउँमा चलाइरहेको चेतनामूलक कार्यक्रम र अनुसन्धानले यस विषयमा अझ बढी जानकारी दिएको छ। र, सोच्न बाध्य तुल्याइरहेको छ।

उसो अझैं पनि नेपाली समाजमा बढिरहेको गरिबीको धुँवा छ। बेरोजगारीको धुँवा छ। अनैतिकताको धुँवा छ। बेइमानीको धुँवा छ। लोभलालच र सत्तामोहको धुँवा छ। अन्याय, अत्याचार, विभेद र भ्रष्टाचारको धुँवा छ। नातावाद, कृपावाद र असमानताको धुँवा छ। हरेक प्रकारको धुँवाले सताएको छ। तर, पनि अगेना, चुलोबाट निस्किने धुँवा र बिँडी चुरोटको धुँवाले त झन सास फेर्नै मुस्किल पारिरहेको छ। दुर्गम बस्तीमा यसले अकाल मृत्युको रैबार बोकिरहेको छ। अस्पतालको दैलो देख्न नपाएरै कैयौं जिन्दगी मुर्झाइरहेका छन्। जिन्दगीको गोरेटोमा मुर्झाउँदै गरेकाहरूलाई कसरी सचेत तुल्याउन सकिन्छ। कसरी बचाउन सकिन्छ भन्ने हेतुले लागिपरेका छन् केही मनहरू। जसमध्ये पछिल्लो समयमा आफ्नो माटोको मायाले, नेपाली भएको नाताले र सहयोगी र परोपकारी मनका साथ मानवताको ताज पहिरेर नेपालमा केही गर्ने उद्देश्यले देखापरेका छन् डा. ओम कुर्मी। डा. कुर्मी नेपाली भूमिबाट विदेशमा गई नेपाल र नेपालीको शिर उच्चो पारिरहेका नेपालीमध्ये एक हुन्। जो प्राध्यापक, वैज्ञानिक र अनुसन्धाताका रुपमा चिनिन्छन्। कुर्मीलगायत विदेशमा काम गरिरहेका केही विद्वानहरूको सक्रियतामा खुलेको छ नीरी (NIRI)नामक संस्था। जुन संस्था अध्ययन अनुसन्धानका क्षेत्रमा सक्रिय देखिन्छ।

नेपालमा लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट सुरु गरिएको अध्ययन अनुसन्धानको कार्य हाल वालिङ नगरपालिकामा समेत गरिँदैछ। यस कार्यको अगुवाइ गरिरहेका डा. कुर्मी बताउँछन्,‘म्याकमास्टर विश्वविद्यालयले यस अध्ययनलाई मुख्य आर्थिक सहयोग गरिरहेको छ। त्यसैगरी बोर्नेमाउथ विश्वविद्यालयले नेपालमा एकजना अनुसन्धानकर्ताको एक वर्षको तलबको लागि आर्थिक पाटोमा सहयोग गरिरहेको छ। हामीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र ह्यामिल्टन इन्टिग्रेटेड रिसर्च एथिक्स बोर्डबाट अध्ययनको लागि नैतिक रुपमा स्वीकृति प्राप्त गरेपछि २०२२ मा पहिलो अध्ययन क्षेत्रका रुपमा ‘लुम्बिनी सांस्कृतिक नगरपालिका’लाई रोज्यौं। र, अनुसन्धानमा खटिने कर्मचारीहरूलाई तालिम दिन थाल्यौं। दुई हप्ताको तालिमपछि सुचारू रुपमा अध्ययन गरिरहेका छौं।’

डा.कुर्मीकाअनुसार हरेक दुई वर्षमा अध्ययन दोहरिने छ। यो अध्ययन १५/२० वर्षसम्म निरन्तर रुपमा गरिने भनिएको छ। जहाँ लेखाइ, पढाइ, शारीरिक अवस्था, मानसिक अवस्था, रोग कति चाँडै लाग्छ, रोजगारी कस्तो खालको पाइरहेका छन्, वातावरण परिवर्तन कस्तो खालको भइरहेको छ जस्ता कुराहरू हेर्ने भनिएको छ। नेपालका लागि युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाका वालरोग विशेषज्ञ डा. नगेन्द्र चौधरीले टिम लिडरको रुपमा काम गरिरहेका छन भने बीच-बीचमा Input दिन विदेशी डाक्टरहरू सहायक अनुसन्धानकर्ताका रुपमा सघाइरहेका छन्। ती सहायक अनुसन्धानकर्ताहरूमा नटिङहम युनिभर्सिटी, वोर्नमाउथ युनिभर्सिटी, हडस्फील युनिभर्सिटीका डाक्टरहरू छन्। उक्त अध्ययनको उद्देश्य भन्नु नै रोगथामका उपाय अपनाउन लगाउनु र रोग लागिसकेकालाई विभिन्न खालका इन्टरभेन्सन गर्नु हो। यसै सन्दर्भमा डा. कुर्मी बताउँछन्,‘स्वासप्रस्वाससम्बन्धी रोग लागिसकेपछि दीर्घकालीन निको हुँदैन त्यसैले जति छ त्यतिमै राख्ने उद्देश्यका साथ अध्ययन भैरहेको छ। केटीहरूमा १९ वर्षको उमेरसम्म फोक्सोको विकास हुने गर्छ भने केटाहरूमा अधिकतम २५ वर्षसम्म यो प्रक्रिया चलिरहेको देखिन्छ। उक्त अवधिमा पूर्णरुपले फोक्सोको  बृद्धि हुन सकेन भने अरु रोगहरू लाग्ने सम्भावना हुन्छ जस्तै: मधुमेह, बाथ, दम, निमोनिया आदि।’

अरु रोगहरूको तुलनामा स्वासप्रस्वाससम्बन्धी रोगहरू विश्वभरमै एक नम्बरमा देखिन थालेका छन्। जसमा खानपिन र स्वास्थ्य क्षेत्रमा जनचेतना न्यून भएको नेपालमा त यो समस्या बढी देखिने नै भयो। अन्तर्राष्ट्रियस्तरका विभिन्न जरनलहरूमा आफ्ना अनुसन्धानात्मक लेख रचना प्रकाशित गर्दै आएका डा.कुर्मीले बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा सिनियर वैज्ञानिकका रुपमा काम गरिसकेका छन्। उनको विद्यावारिधीको अध्ययन पनि स्वासप्रस्वास रोगसम्बन्धी नै थियो। विद्यावारिधिका क्रममा उनले १६ वर्ष माथिका वयस्कहरूमा अध्ययन गरेका थिए भने पछिल्लो समयमा उनको समूहले गरिरहेको अध्ययन ६ देखि ९ वर्ष समूहका बालबालिका र तिनका आमाबुवामा केन्द्रित भएको देखिन्छ। उक्त अध्ययनको प्रमुख उद्देश्य नेपालीहरूको फोक्सो नर्मल छ कि छैन भनी हेर्नु नै हो। यदि सामान्य छैन भने नहुनाका कारण के-के हुन् भनी अध्ययन गरिने गरिएको छ। यसरी अध्ययन गर्ने क्रममा अरु रोगको पनि अध्ययन गर्ने गरेको कुरा बताउँछन् उनी।

फोक्सो नाप्ने यन्त्रलाई स्पाइरोमेट्री भनिन्छ। जुन उपकरणलाई अध्ययनकर्ताले प्रयोग गरिरहेका छन्। जसबाट उमेर र लिङ्गअनुसार नर्मल भ्यालु छ कि छैन भनेर हेर्ने गरिन्छ। त्यस्तै अर्को उपकरण हो, डाइनामोमिटर। जसले पाखुरा र खुट्टाको मांसपेसी मापन गर्नुका साथै शरीरमा पानीको मात्रा र बोसोको मात्रालाई प्रतिशतमा देखाउने गर्छ। जुन यन्त्र जापानबाट मगाएर फिल्डमा प्रयोग गरिएको छ।

यतिखेर उनको समूहले घरघरमै गएर फोक्सो, रगत, उचाइ, रक्तसंचार प्रक्रिया, पिसाव, छालाको मोटाइ, कुपोषणजस्ता कुराहरूसमेत मापन गरिरहेको छ। डा.कुर्मीकाअनुसार यसका साथै फ्र्याक्शनल एक्सहेल्ड, नाइट्रिक अक्साइड, क्यारोटिड–इन्टिमा मिडिया थिकनेस मापन, इलेक्ट्रोकार्डियोग्राम, र हड्डीको खनिज घनत्वजस्ता थप तथ्याङ्क सङ्कलन गर्नुका साथै रगत र थुकका नमुनाहरू सङ्कलन गर्ने र आनुवंशिक सम्बन्धित अध्ययनहरू सञ्चालन गर्ने योजनासमेत रहेको छ।

उक्त समूहले लुम्बिनी सांस्कृतिक नगरपालिकाका २९५८ सहभागीहरू (१४८८ बालबालिका र १४७० अभिभावक)मध्ये १ हजार २८ परिवारबाट तथ्याङ्क सङ्कलन गरिसकेको छ भने वालिङ नगरपालिकामा अहिलेसम्म ११० परिवारका २८३ सहभागीहरूको (१४० बालबालिका र १४३ अभिभावक) तथ्याङ्क सङ्कलन भइसकेको छ।

अध्ययनका विषयमा डा. कुर्मी बताउँछन्,‘आधारभूत अध्ययनको समापनपछि यस अध्ययनलाई नेपालका सातवटै प्रदेशमा विस्तार गर्ने योजना रहेको छ। प्रदेशहरूमा विस्तार गर्न र अध्ययनको फलोअप लागतका लागि नेमपाल सरकारका साथै अन्य विभिन्न एजेन्सीहरूमा आवेदन दिई सहयोगका लागि अनुरोध गरिने छ। यसका साथै मातृ र बाल स्वास्थ्य, गैरसङ्क्रामक रोगहरू, बहुविकृति र वातावरणीय स्वास्थ्यमा नवीन, अन्तःविषय, सहयोगी, र नीति–संचालित अनुसन्धानलाई सहज बनाउन नेपाल र विश्वका शैक्षिक र अनुसन्धानरत संस्थाहरूसँग साझेदारी गरिने छ।’

यसप्रकारको अध्ययनले प्रारम्भिक वा मध्यम उमेरका व्यक्तिहरूमा मुटु–स्वासप्रस्वाससम्बन्धी रोगको बृद्धि तथा विकासलाई कम गर्न मद्दत गर्ने कुरामा दुईमत देखिँदैन। यस्ताखाले अध्ययन अनुसन्धानहरूले एकातिर नेपाल सरकारको साधन श्रोतको सदुपयोग हुने देखिन्छ भने अर्कोतिर यसप्रकारका अध्ययनहरू नीति निर्माणमा समेत निकै नै सहयोगी बनिदिन्छन्। तथापि, राज्यबाट हुनुपर्ने खालका यस्ता अध्ययन अनुसन्धानहरू अन्य पक्षबाट हुँदा समेत राज्य सञ्चालकहरूले खासै चासो दिएको जस्तो देखिँदैन। कागलाई बेल पाक्यो हर्ष न विष्मात भनेझैं यहाँका सम्राटहरूलाई शत्तामा पुग्नु र कमाउनु शिवाय अरु केही सोच छैन्। परदेशमा बस्ने नेपालीहरू घरदेशप्रति चिन्ता व्यक्त गरिरहेका छन्। मनभरि घरदेशको माया बोकिरहेका छन्। देश चलाउनेहरू ऐय्यासीमै समय व्यतित गरिरहेका देखिन्छन्। सन्तान दशसन्तानका लागि सम्पत्ति जोड्नमै लागिपरिरहेका देखिन्छन्। गरीब, सीमान्तकृत र पिछडिएका वर्गका मानिसहरूको अवस्था उस्तै छ। ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य र जनचेतनाको अभाव उस्तै छ। गरीब, निर्धा र असहायहरू अन्याय, अत्याचार र शोषणको भुमरीमा परिरहेरेकै छन्। तथापि, यो देशका सम्राटहरू भने गणतन्त्र, लोकतन्त्र, स्वतन्त्रता लगायतका शब्दहरू फलाकेर फुर्ति लगाइरहेकै छन्। भाषण गरेकै छन् अनि हरेक पटक चुनावका बेला तिनले भन्न छोडेका छैनन्, ‘सुखी नेपाली, समृद्ध नेपाल’।

प्रकाशित मिति: : 2023-03-23 22:10:00

प्रतिकृया दिनुहोस्