अधूरै रह्यो कृष्णा ताम्राकारसँगको त्यो भेट...

BreaknLinks
BreaknLinks

कृष्णा ताम्राकार आमालाई मैले बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा पहिलाेपटक भेटेकी थिएँ।

नगरपालिकाले गरेको ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उहाँ विशिष्ट अतिर्थी हुनुहुन्थ्याे। र म रिर्पाेटिङकाे क्रममा त्यहाँ पुगेकी थिएँ।

सानैदेखि म उहाँकाे आवाज सुनेर हुर्कीएकी थिएँ। त्यसैले उहाँ मेराे लागि प्रेरणीय हुनुहुन्थ्याे। उमेरले साढे ८ दशक पार गरिसकेपनि उहाँकाे आवाज उत्तिकै तगडा सुनिन्थ्याे। जुन आवाज मैले सानुँ छँदा सुन्ने गरेकी थिएँ।

सय जना भन्दा बढी महिला उपस्थिती रहेकाे कार्यक्रममा ‘यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस!’ भन्दै उहाँले आफ्नो पहिचान दिन थाल्नुभयाे।

उहाँकाे कुरा सुनिरहँदा मलाई भने उहाँसँग कुराकानी गर्ने हुटहुटी जागिरहेकाे थियाे। स्टेज अगाडि मन्तव्य राखिसकेपछि टेबलमा बसिरहनु भएकी उहाँकाे म नजिक गएँ। त्यसपछि परिचय दिँदै उहाँसँग कुराकानी गर्न सुरू गरेँ।

मैले आफ्नो परिचय दिइरहँदा उहाँले भने मलाई प्रश्न गर्नुभयो, ‘नानी चाहिँ के–मा काम गर्नुहुन्छ रे?’ मैले अनलाइनमा काम गर्छु भनेर जवाफ फर्काइरहँदा उहाँले भन्नुभयाे, ‘मीडियामा काम गर्नु सजिलो छैन, कहाँ सजिलो छ र झनै रेडियोमा बोल्नु!’

रेडियाेमा समाचार वाचन गर्दा बाेलिने भाषाकाे शुद्धाशुद्धीदेखि धेरै कुरामा ध्यान दिनुपर्छ भन्दै उहाँले मलाई सुझाव दिदैँ भन्न थाल्नुभयाे, ‘रेडियाेमा बाेल्दा धेरै पटक गाली खाएँ।’

मीडियामै काम गर्ने भएकाेले हाेला उहाँपनि मसँग बाेल्न उत्तिकै उत्साहित हुनुहुन्थ्याे जति म थिएँ। ६ दशकबढी रेडियाेमा काम गरिसक्नुभएकी उहाँले कुराकानीकाे क्रममा मसँग प्रश्न गर्नुभयाे, ‘नानी, अहिले मीडियामा काम गर्न कत्तिकाे सहज छ, अनि महिलाहरूलाई काम गर्न सजिलाे छ?’

उहाँकाे कुरा सुनेर अन्याेलमा परेकी मैले उहाँलाई साेधेँ, ‘६० वर्षअघि मीडियामा काम गर्नु चुनाैतीकाे काम थियाे र आमा? मेराे कुरा सुनेपछि उहाँले भन्न थाल्नुभयाे, ‘मेरो जमाना धेरै समस्या थियो, झनै महिलाको मीडिया क्षेत्र धेरै चुनौतीपूर्ण थियो। रेडियाेमा राम्राे समाचार आउँदा महिलाले पढ्न पाउँदैनन् थिए, पुरूषले नै पढ्नु पथ्याे।’

रेडियाेमा समाचार पढ्दा शब्दकाे उच्चारण गलत गर्दा गाली सहनु परेकाे नमिठाे अनुभव बटुलेकाे कुरा उहाँले मलाई सुनाउनुभयाे। विगतका कुरा काेट्याउदै मैले उहाँलाई साेधिहालेँ, ‘तपाईले पनि गलत समाचार पढ्नु भएकाे थियाे र आमा?’

आफूले गलत उच्चारण नगरेपनि एउटा शब्दलाई तन्काएकाे कारण गाली सहनु परेकाे उहाँले मलाई बताउनुभयाे। ‘एकपटक चिनीको भाउ बढेर पचास...पैसा पुगेको छ, भनेर समाचार पढ्दा गाली सुन्नुपरेको थियाे। पचास पैसा शब्दलाई तन्काएर पढेको कारण मैले २–४ दिन समाचार नै पढ्न पाइनँ। हाम्रो पालामा धेरै संघर्ष र दुख थियो’ उहाँले मलाई सुनाउनुभयाे।

एकअर्कासँगको माहोल रमाइलो हुँदै थियो। त्यतिकैमा मैले उहाँसँग अन्तर्वार्ताका लागि समय मागेँ। एक शब्दमा नै उहाँले मलाई ‘अन्तर्वाताका लागि मसँग कहिले भेट्नुहुन्छ’ भन्दै हाँसेर सोध्नुभयो।

मैले अन्तर्वार्ताका लागि समय मागिरहँदा उहाँले ठ्याैली पारामा भन्नुभयो, ‘मसँग समय नै समय छ, जतिबेला आउनुहुन्छ म अन्तर्वाता दिनका लागि तयार छु।’ पहिलो भेटमै बढेको चिनजानलाई निरन्तरता दिने उद्देश्यले दोस्रो पटक भेट्ने वाचा गर्दै म उहाँबाट बिदा भएँ।

गत बिहिबार १० बजे उहाँलाई फोन गर्दै भन्न थालेँ, ‘आमा, आज हजुरको समय कस्तो छ? भेट्न सकिएला?’ खुसी हुँदै उहाँले भन्नुभएको थियो, ‘नारायणथान आउनु है नानी!’ 

अन्तर्वार्ताका लागि समय मिलीसकेपछि मैले सहकर्मी मन्दिरा अधिकारीलाई लिएर साढे १ बजे नारायणथान पुगेँ। त्यही पुगेर मैले उहाँलाई फोन गरेर भनेँ, ‘आमा कता हुनुहुन्छ, हामी आइसक्यौँ।’ मेरो कुरा सुनेर माफी माग्दै नम्र स्वरमा मलाई भन्नुभयो, ‘नानी, आज म अन्तर्वार्ता दिन सक्दिनँ। भर्खरै हस्पिटलबाट आएकी छु। अर्को हप्ता गरौँ है अन्तर्वार्ता।’ 

उताबाट बिरामी आवाज सुनेर मैलेपनि स्वास्थ्य लाभको कामना गर्दै फोन काटेँ। तर अपसोच उहाँसँग बोलेका ती शब्द नै अन्तिम बचन बन्यो। उहाँसँग दोस्रो पटक भेट्ने मेरो योजना अधूरो नै रह्यो। 

पहिलो भेटमा जति म खुसी थिएँ त्यतिनै उहाँको निधनले स्तब्ध भएकी छु। नेपाली रेडियोकी इतिहास कृष्णा ताम्राकार आमालाई भावपूर्ण हार्दिक श्रद्धाजली!

को थिइन् कृष्णा ताम्राकार? 

रेडियो नेपालीकी पहिलो समाचार वाचिका हुन्, कृष्णा ताम्राकार। 

बनेपामा जन्मिएकी ताम्राकार रेडियो नेपालकी पूर्व समाचार सम्पादक एवं समाचार वाचक थिइन्।

२०१८ साल जेठ २४ गतेदेखि रेडियो नेपालमा प्रवेश गरेकी उनले २०४९ सालसम्म रेडियोमा समाचार वाचन गरिन्। यसका साथै सोही समयमा ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन हाम्रो जीवन’ र ‘नासो’लगायत कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन्। 

उनले  ‘वातावरण’ कार्यक्रम चलाएबापत सन् १९८९ मा ‘ग्लोबल ५०० रोल अफ अनर’ अवार्ड पनि पाएकी थिइन्।

प्रकाशित मिति: : 2023-03-24 21:23:00

प्रतिकृया दिनुहोस्