अझै पाएन एन्फाले ए डिभिजन लिगका लागि मुख्य प्रायोजक

यस वर्षको 'सहिद स्मारक ए डिभिजन लिग' गत फागुन १९ गतेबाट सुरु भयो। लिगका खेलहरुलाई नेपालमा फुटबलको मेरुदण्डको मानिन्छ।

कुल १४ टोलीको सहभागीता रहेको ए डिभिजन लिग यस पटक मुख्य प्रायोजक बिना नै प्रतियोगिता सञ्चालन भइरहेको छ। अखिल नेपाल फुटबल सघं (एन्फा) को आयोजनामा भइरहेको ए डिभिजन लिग यसपटकदेखि डबल राउन्ड फरम्याटमा आयोजना भइरहेको छ।

पाँचौँ चरणको खेल सकिसकेको छ भने एन्फाले छैटौँ चरणको खेल तालिका सार्वजनिक गरेको छैन। फिफा ब्रेकको अवसर पारेर गत चैत्र ८ गतेदेखि १७ गतेसम्म्म नेपालमा थ्री नेसन्स कप आयोजना भइरहेको छ।

यता, करिब एक महिना अघिदेखि सुरु भएको ए डिभिजन लिगको मुख्य प्रायोजक अहिलेसम्म नपाउँदा यतिबेला एन्फा समस्यामा परेको छ। वि.स. २०५४ सालदेखि एन्फाले डिभिजन लिगका लागि मुख्य प्रायोजक राख्ने गरेकाे थियो। विगतका वर्षमा लिग सञ्चालन हुनुअघि नै लिगका लागि मुख्य प्रायोजकले लिगलाई सहयोग गर्दथ्याे। यसपटक भने ए डिभिजन लिगको पाँचौँ चरणको खेल सकिँदासम्म मुख्य प्रायोजक नपाउँदा एन्फाले समस्या भोग्नु परेको छ।

मुख्य प्रायोजकहरु र एन्फाबीच छलफल भइरहेको तथा अब छिटै लिगले मुख्य प्रायोजक पाउने एन्फाका प्रवक्ता सुरेश शाहाले बताए।

'ए डिभिजन लिगको लागि भनेर मुख्य प्रायोजकहरुसँग एन्फाको छलफल गरिरहेको छ', प्रवक्ता शाहाले बिएल नेपाली सेवासँग भने, 'अब छिटै लिगको मुख्य प्रायोजक प्राप्त हुनेछ।'

करिब एक महिनाअघि यसै विषयमा प्रवक्ता शाहाले लिग सञ्चालन भएको एक/दुई दिनभित्रै मुख्य प्रायोजक पाउने बताएका थिए।

गत वर्ष एन्फाले कतार एयरवेजसँग १ करोड ५० लाखमा ए डिभिजन लिगको लागि सहकार्य गरेको थियो। त्यसअघिको वर्षमा पनि ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेजले नै गरेको थियो। त्यस्तै २०७६ सालमा आयोजना भएको ए डिभिजन लिगको मुख्य प्रायोजक पल्सर बनेको थियो।

'लिग सञ्चालन भइसकेको छ, मुख्य प्रायोजकहरुसँग एन्फाको छलफल जारी नै छ। लिगको लागि भनेर धेरै प्रायोजकहरुले दरखास्त दिनुभएको छ', प्रवक्ता शाहाले भने।

एन्फाले यसवर्ष ए डिभिजन लिग लागि २  करोडको टेन्डर आह्वान गरेको थियो। विगतका वर्षभन्दा ५० लाख बढी मूल्यमा मुख्य प्रायोजकका लागि टेन्डर आह्वान गरेपछि लिग सञ्चालन भएको आधा समयसम्म पनि एन्फा प्रायोजकको खोजीमा दौडधुप गरिरहेको छ।

दुई वर्षदेखि लिगको मुख्य प्रायोजक बनेको कतार एयरवेजले यसपटककाे लिगका लागि भने चासो देखाएको छैन। एन्फा र कतार एयरवेजयबीच सहकार्य नमिलेर मुख्य प्रायोजक बन्नबाट हटेको जस्तो देखिन्छ नि? भन्ने बिएल नेपाली सेवाको प्रश्नमा प्रवक्ता भन्छन्, 'बाहिर जस्तो हल्ला फैलिए पनि कतार एयरवेज विगतका वर्षझैँ मुख्य प्रायोजकका लागि सकारात्मक छ। एन्फाले कतार एयरवेजयसँग अहिले पनि यही विषयमा छलफल गरिरहेको छ।'

यसपटक ए डिभिजन लिगका खेल दशरथ रगंशाला, च्यासल फुटबल मैदान र एन्फा कम्प्लेक्समा आयाेजना भइरहेकाे छ।

प्रकाशित मिति: : 2023-03-26 18:18:00

प्रतिकृया दिनुहोस्