देशलाई उचाइ दिएकाे नेपाली क्रिकेटलाई राज्यले पनि न्याय गर्नुपर्छ: क्यान सचिव पाठक

निर्माणाधीन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलाे पटक आगामी वैशाख ५ गतेबाट खेल्न सुरु गरिँदैछ। वैशाख ५ देखि १८ गतेसम्म चल्ने एसीसी प्रिमियर कपबाट नेपालले इतिहासमा पहिलाे पटक आफ्नै अन्तर्राष्ट्रिय मैदानमा खेलहरु सुरु गर्दैछ।

त्रिवि क्रिकेट मैदानसँगै यस मैदानमा पनि प्रतिस्पर्धा हुने १० देश सम्मिलित एसीसी कपकाे तयारी कसरी हुँदैछ ? पहिलाे पटक खेल खेलाउन लागिएकाे मुलपानी मैदानकाे निर्माण कार्य कहाँ पुग्याे ? बिएल नेपाली सेवाकी खेल पत्रकार प्रतिस्णा रेग्मीले नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकसँग कुराकानी गरेकी छन्:


आगामी वैशाख ५ देखि १८ गतेसम्म घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपकाे तयारी कस्ताे हुँदैछ ?

एसीसी कपको तयारीमा हामी लागिरहेका छौँ, आवश्यक पूर्वाधारहरुकाे निर्माण कार्य जारी छ, त्यसमध्ये पनि पिचकाे कामहरु धमाधम भइरहेको छ। आउटफिटका कामहरु भइरहेका छन्। त्यस्तै ब्राेडकास्टिङकाे कामहरु पनि भइरहेको छ। यहाँकाे सुरक्षा व्यवस्थाकाे काम पनि गरिरहेका छाैँ।

मैदानकाे निर्माण कार्य कसरी भइरहेकाे छ ?

अहिले मैदानमा त्यही नै हो, पिचको काम भइरहेको छ। आउटफिटको काम भइरहेको छ। मैदानका ६ वटा पिचकाे निर्माण भइरहेका छन्, ती ६ वटामध्ये एसीसी प्रिमियर कपमा ३ वटा पिचहरुको प्रयोग हुन्छ। अहिले मैदानमा चेन्जिङ रुम, शौचालय, मैदानको घाँस व्यवस्थापन गर्नेलगायत काम गरिरहेका छाैँ।

मुख्यत: दर्शकहरुकाे कसरी व्यवस्थापन गर्ने, दर्शकहरुलाई कसरी बसाउने भन्ने कुरामा हामी लागिरहेका छौँ। त्यस्तै दर्शकहरु बस्ने स्थानमा शौचालयको प्रबन्ध कसरी गर्न ? खानेपानीको प्रबन्ध कसरी मिलाउने जस्ता कुरामा साेचिरहेका छाैँ। किनभने, यहाँ नेपालको खेल हुने दिन दर्शक अलि बढी मात्रमा आउनहुन्छ।

त्यसबाहेक सुरक्षा व्यवस्था कसरी राम्राे बनाउने, पार्किङकाे व्यवस्थापन कसरी गर्ने, यहाँ चाहिने आवश्यक ब्राेडकास्टिङको पूर्वाधारहरु बनाउनमा लागि रहेको छौँ। त्यस्तै खेलाडीहरुका लागि चाहिने ड्रेसिङ रुमलगायत समग्र कार्यहरु गरिरहेका छाैँ।

पहिलो पटक यस मैदानमा अन्तर्राष्ट्रियस्तरका खेलहरु हुन गइरहँदा तपाईंहरु कत्तिको उत्साहित हुन्हुन्छ ?

धेरै उत्साहित छौँ। हामी मात्र नभई यहाँका स्थानीयहरु उत्साहित हुनुहुन्छ। किनभने, यो नेपाल क्रिकेट सघं (क्यान)को आफ्नै मैदान हो। आफ्नै मैदानमा अहिलेसम्म अन्तर्राष्ट्रियस्तरको खेल आयोजना भएको थिएन र अब हुन गइरहेको छ, यो एकदमै उत्साहित (गाैरवमय) कुरा हो। क्यानको केन्द्रीय कार्यालय यही छ। समग्रमा जुन उद्देश्यका साथ नेपाल सरकार, यहाँका जनताहरु यहाँ क्रिकेट हुने सपना देख्नुभएको थियो, त्यो साकार हुँदैछ। हामी मात्र नभएर अहिले सिंगो राष्ट्र उत्साहित छ र सबैभन्दा उत्साहित यस क्षेत्रका जनताहरु हुनुहुन्छ।

एसीसी कप आयोजना हुनु एक महिनाअघि मात्र मैदानको निर्माण कार्यको थालनी भएकाे थियाे। यसरी हतार-हतार निर्माण कार्य भइरहेकाे छ, हतारको कामले गर्दा पछि खेललाई कुनै असर पर्ला नि ?

एसीसी कपको तालिका पनि त्यस्तै थियो, हामीलाई एसीसी कप गर्न दुई वटा मैदान चाहिने। एसीसीले दुई वटा मैदानमा खेल गर्ने भए मात्र प्रतियाेगिता गर्न दिन्छाैँ भनेको थियो। यो मैदान बनाउन हामी उत्साहित पनि थियौँ र हामीहरुले एसीसीलाई हामी मैदान तयार पार्छाै, हामीलाई केही समय दिनु भनेका थियौँ। हामीले भनेअनुसार उहाँहरु पनि मान्नु भयाे।

अहिले जुन तरिकाले मैदानकाे काम भइरहेको छ, त्याे कार्य देखेर अहिले उहाँहरु पनि खुसी हुन्नुहुन्छ। यदि छोटो समयमा लगभग हामीले मैदानको सबै निर्माणको काम गरिसकेको छौँ। याे काम गर्न सजिलाे थिएन तर हामीले चुनाैती माेलेर काम गर्न सफल भयाैँ।

नेपाल क्रिकेट संघ (क्यान)लाई कागेश्वरी मनहरा नगरपालिकाबाट चाहिँ कतिको साथ प्राप्त भइरहेको छ ?

कागेश्वरी मनहराबाट क्यानलाई एकदम सहयोग प्राप्त भइरहेको छ। नगरपालिका प्रमुख उपेन्द्र कार्की यस विषयमा एकदमै सकारत्मक हुनुहुन्छ। उहाँ मात्र नभई यहाँको सबै वडाका अध्यक्षहरु सकारात्मक हुनुहुन्छ। यति मात्र होइन्, यहाँका स्थानीय जसले खेलसँग सम्बन्ध राख्ने व्यक्तिहरु, यहाँको सम्बन्धीत निकायहरुबाट पनि राम्राे साथ पाएका छाैँ। मुख्यगरी यस नगरपालिकाका प्रमुख र यहाँ कार्यकारत अध्यक्षले धेरै साथ दिनुभएकाे छ।

उहाँले हामीसँग यस क्षेत्रमा हुन गइरहेको प्रतियाेगिता सञ्चालनमा साथ दिनु नगरपालिकाकाे दायित्व रहेकाे बताउनुभएकाे छ। उहाँहरुले हामीलाई सहयाेग गरिरहनु भएकाे छ। यो सँगै उहाँहरुले हामीलाई प्रतियाेगिताभर नगरपालिकाले केही कुरामा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभएकाे छ।

मुलपानी क्रिकेट मैदानमा पहिलो पटक समर्थकहरुको भीड लाग्दैछ, समर्थकहरुलाई चाहिँ कसरी व्यवस्थित गर्दै हुनुहुन्छ ?

यस मैदानमा नेपालको एउटा मात्रै खेल छ। सो खेलमा १० हजार समर्थक आउनुहुन्छ भन्ने हाम्राे अनुमान छ। यसका लागि क्यानले यहाँका स्थानीय, सुरक्षा निकायहरु, यहाँका सराेकारवाला व्यक्तिहरुसँग यस विषयमा कुराकानी भइरहेको छ। कसरी यसलाई व्यवस्थित गर्न सकिन्छ र कुनै पनि सुरक्षाको कारणले गर्दा खेललाई कुनै असर नपरोस् र दर्शकहरुलाई समस्या नहाेस् भनेर हामीले छलफल गरिरहेका छन्।

दूरीको हिसाबले यो रगंशाला केही टाढा छ, समर्थकहरु यति टाढा खेल हेर्न आउलान् त ?

दूरी भन्ने कुरा हुँदैन, क्यानको केन्द्रीय कार्यालय नै यही छ। क्यानको यो आफ्नाे कार्यालय हो, आफ्नै मैदानलाई टाढा भन्न मिल्दैन। अब दर्शकको कुरा गर्दा यहाँ पनि दर्शकहरु हुनुहुन्छ। यहाँको दर्शक पनि त त्रिवि मैदानमा गएर खेल हेर्नुहुन्छ। यहाँ खेल हुँदा स्थानीयवासीहरुलाई पनि चासो हुन्छ। कागेश्वरीमा खेल हुँदैछ भनेपछि यहाँका समर्थकहरु पनि त आउनुहुन्छ।

दर्शकको साथ सहयोग नेपाल क्रिकेटले सधैं नै पाइरहेको छ। अझ यो भन्दा राम्रो प्रतियाेगिताहरु आयोजना हुने भयो भने यहाँ दशाैँ हजार समर्थक नेपाली क्रिकेटलाई साथ दिन आउनहुन्छ भन्ने प्रमाणित भइसकेको छ। र, यहाँ पनि हामीले समर्थकको साथ पाउनेछौँ।

एसीसी प्रिमियर कपपछि अब यस मैदानमा अन्य अन्तर्राष्ट्रिय खेलहरु आयोजना हुन्छ कि हुँदैन ?

खेलाउँछौँ। अन्तर्राष्ट्रिय मैदान बनाउनुको उद्देश्य नै यही हो। हाम्राे उद्देश्य भनेको नै यहाँ विभिन्न अन्तर्राष्ट्रिय प्रतियाेगिता गर्नु हो। यहाँका स्थानीयवासीले जुन सपना देखनुभएको थियो, हाम्रो जुन सपना थियो, यहाँका सराेकारवालाको जुन चासो थियो, त्यो पूरा हुन्छ नेपाल क्रिकेट संघले त्यो सपना पूरा गर्छ।

त्यही सपना पूरा गर्न एसीसी कप आयोजना हुँदैछ। एसीसी कप सानो टुर्नामेन्ट होइन, यस कप भइसकेपछि यो मैदान एउटा अन्तर्राष्ट्रिय भेन्युको रुपमा स्थापित हुन्छ र त्यसपछि अन्य प्रतियाेगिताहरु आयोजना गर्न सहज हुनेछ। यहाँ राम्रो खालको सुविधा भयाे भने थुप्रै प्रतियाेगिताहरु हुन्छन र हामीले यहाँ अन्य अन्तर्राष्ट्रियस्तरका खेलहरु आयोजना गर्छाैँ।

राष्ट्रिय क्रिकेट टोलीले क्रिकेटमा चमत्कार गरिरहेको छ, हाम्रो रगंशालाहरु बेवारिसे अवस्थामा छन, यसलाई कसरी लिने ?

क्रिकेटले देशलाई उचाइ दिएको छ। क्रिकेटकै कारण देश विश्वरभर चिनिएको छ। क्रिकेटकै कारणले देश चिनाउने एउटा माहाेल हुँदा यो देशले पनि क्रिकेटलाई न्याय गर्नुपर्छ। न्याय भनेको पूर्वाधार विकासको कुरा हो। नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित स्थानीय निकायहरु जति पनि हुनुहुन्छ उहाँहरुबाट पूर्वाधारको विकास होस्, खेलकुदका गतिविधिहरु चलिरहनु अनि रंगशालाहरु निर्माण हाैँन र पाे हुन्छ।

तल्लो मुलपानी क्रिकेट अहिले निर्माणधीन अवस्थामा छ। यो चाँडै बने क्रिकेटलाई ठुलो राहत मिल्नेछ। त्रिवि क्रिकेट मैदानले मात्र नेपाली क्रिकेट धान्न सक्दैन, देशभरि क्रिकेट लग्नुपर्छ। त्यसकारण हरेक जिल्लामा १/२ वटा राम्रो पिच भएको मैदान चाहिन्छ। सात वटा प्रदेशमा कम्तीमा पनि एउटा रगंशाला अनिवार्य हुनुपर्छ। प्रदेशमा पनि टुर्नामेन्ट गर्न हो भने एउटा रगंशाला हुनपर्छ।

मुलपानी क्रिकेटबारे राष्ट्रिय खेलकुद परिषद्ले चासो दिएको छ ?

राष्ट्रिय खेलकुद परिषद्ले यस मैदानबारे चासो राखेको छ। परिषद्ले मुख्यतया क्रिकेटलाई प्राथमिकतामा राखेको छ। पूर्वाधारको विकास गर्नुपर्छ भनिराख्नु भएकाे छ।

यस मैदानमा कति दर्शक अट्ने क्षमता छ ?

त्यही तीन/चार हजार अट्नुहुन्छ भन्ने हामीले आंकलन गरेको छौँ। दर्शकहरुलाई मैदानको दक्षिणपट्टीको चाैरमा व्यवस्थित गर्ने हाम्राे याेजना छ।

प्रकाशित मिति: : 2023-04-09 11:25:00

प्रतिकृया दिनुहोस्